अन्तर्वाता»

संसद्को संरचना परिवर्तन गर्नुपर्छ

कान्तिपुर टेलिभिजनबाट प्रत्येक बिहीबार प्रसारण भैरहेको 'खोज ः युवा नेतृत्वको' कार्यक्रम अहिले चर्चामा छ। कुनै राजनैतिक दलसँग प्रत्यक्ष आबद्ध नभएका तर राजनीतिमा गहिरो रुचि भएका स्नातक युवालाई नेपाली राजनीतिमा  स्थापित गराउने योजनाका साथ सञ्चालन भैरहेको उक्त कार्यक्रमप्रति दलका नेताहरूको पनि चासो बढ्न थालेको छ। सभासद सपना मल्ल प्रधान, पत्रकार युवराज घिमिरे तथा अधिवक्ता भीमार्जुन आचार्य निणर्ायक रहेको उक्त कार्यक्रममा  नेपालभरिका ६ सय युवाले प्रतिस्पर्धा गरेका थिए। नेपालका जल्दाबल्दा विषयमा आफ्नो क्षमता प्रदर्शन गरेपछि २५ युवा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन्। अब उनीहरूले कान्तिपुर टेलिभिजनका दर्शकहरूले दिने मतका आधारमा  अघि बढ्नुपर्नेछ। विश्वभरि मनोरञ्जनात्मक रियालिटी शोको लहर चलिरहेका बेला नेपालमा भने नेता छान्ने रियालिटी शो सञ्चालन गर्ने गैरसरकारी संस्था विद्यार्थी सांसद ः नेपालको पुर्नसंरचनाका उपाध्यक्ष श्याम कोइरालासँग  साप्ताहिकले लामो कुराकानी गरेको थियो। विद्यार्थी संसद ः नेपालको पुर्नसंरचना नामक संस्था नेपालका सबैजसो स्कुल-कलेजमा आफ्नो संगठन विस्तारमा लागेको छ। उक्त संस्थाले गत वर्ष कोसीको बाढीले विस्थापित परिवारका लागि  स्थानीय विद्यार्थीहरू परिचालन गरेर ९५ वटा घर-टहरा निर्माण गरेको थियो।





टेलिभिजन कार्यक्रमबाट नयाँ नेता जन्माउन सकिन्छ भन्ने सोच अपरिपक्व होइन ?

नेपालमा हिंसात्मक गतिविधिबाट नेता बन्ने गलत संस्कार बस्न थालेको छ, जसले जति चर्को कुरा गर्‍यो, जसले बढी बन्द-हड्ताल गर्‍यो, जसले बढी चन्दा उठाउन सक्यो, जो अपहरण, कुटपिट एवं मान्छे मार्न सक्षम छ, उसैको बो लावाला हुने, उसैको कुरा सुनिने संस्कार बस्न थालेको छ । यस्तो कुसंस्कारबाट राजनीतिमा आएको व्यक्ति संवाद, तर्क, ज्ञान एवं इसुमा कमजोर हुनु स्वाभाविक छ । राजनीतिमा आउन गतल बाटोको साहारा लिनुपर्छ भन्ने भ्रम युवाहरूमा  नपरोस् भन्ने सोचका साथ यो कार्यक्रम अघि बढाइएको हो । हामीले यो कार्यक्रममार्फत युवालाई तर्क, ज्ञान, प्रतिस्पर्धा एव्ां अध्ययनबाट मात्र समाजलाई गति दिन सकिन्छ भन्ने म्यासेज दिन खोजेका हौं ।

अर्को राजनैतिक दलको तयारी हो ?

होइन, नेपालमा अहिले जति प्रमुख राजनैतिक दल छन्, त्यसको विकल्प खोज्नु हुँदैन, उनीहरूलाई नै सहयोग गर्नुपर्छ । हामीले धेरै हिंसा बेहोर्‍यौं, धेरै इस्यु उठायौं तर समाधान दिन सकेनौं । अब नयाँ-नयाँ इस्यु उठाएर नेपालीलाई गुमराह  गर्नु हुँदैन । आफू स्थापित हुन जनतालाई दुःख दिने प्रवृत्तिको अन्त्य हुनुपर्छ । त्यसका लागि अन्य सरल उपाय पनि छन् भन्ने सन्देश मात्र दिन खोजिएको हो ।

तपाईंहरूले कार्यक्रममा भाग लिन कम्तीमा स्नातक गर्नुपर्ने प्रावधान राख्नुभएको रहेछ, यसले कम पढेलेखेका युवामाथि अन्याय भएन ?

सरकारी कार्यलयको एउटा ब्रान्च चलाउन कम्तीमा स्नातक गर्नुपर्छ । माध्यमिक विद्यालयमा पढाउन पनि स्नातक हुनुपर्छ, तर नेता हुन कुनै सर्टिफिकेट नचाहिने यो कस्तो अव्यावहारिक प्रावाधान हो ? जसले अध्ययन गरेको छैन, त्यसले  कसरी देश सञ्चालन गर्न सक्छ ? अहिले हामी नेपालको मूल कानुन अर्थात् संविधान बनाउने प्रक्रियामा छौं, तर संविधान बनाउने ठाउँमा पुगेका कतिपय व्यक्ति साक्षर मात्र छन् ।

पृष्ठ ५ बाट जारी

यो भन्दा लाजमर्दो कुरा के हुनसक्छ ? स्नातकको प्रावधान राख्नु एउटा सिम्बोल मात्र हो । देश बनाउन कति कुराको ज्ञान हुनुपर्छ, त्यसको सानो उदाहरण हाम्रो कार्यक्रम हो । त्यसैले क्षमतावान्, पढेलेखेका, ज्ञानसहितको तर्क गर्न सक्ने,  अरूको ज्ञान, विवेक एवं क्षमताको कदर गर्ने व्यक्ति मात्र नेतृत्वमा पुग्नुपर्छ भन्ने सन्देश नेपालभरि पुगोस् भनेर यस्तो प्रावधान राखिएको हो ।

तपाईंको विचारमा एउटा कार्यक्रमले मानिसको सबै पक्षको मूल्यांकन हुन्छ ?

अहिलेसम्म त्यही व्यक्ति राजनीतिमा माथि गएको छ, जसलाई राजनैतिक दलका नेताको आशीर्वाद छ । त्यसैले टिकट पाएको छ, जो आन्तरपार्टी राजनीतिमा माहिर छ । पार्टीले उठाएपछि मात्र जनताले भोट दिने अधिकार पाउँछन्, तर यो  कार्यक्रममार्फत जनताले एउटा व्यक्तिको सबै पक्षको मूल्यांकन गर्दै भोट दिन पाउँछन् । यही भोटका आधारमा हिजोसम्म सर्वसाधारण रहेको व्यक्ति रातारात सेलिब्रेटी हुन पुग्छ । भोलि ऊ आफ्नो कार्यक्षेत्रमा जाँदा उसको कुरा सुन्ने  वातावरण बन्छ । उसले जनताको साथ पाउँछ । यस्तो अवस्थ्ाामा दलले थोपरेको व्यक्तिको तुलनामा यस्ता व्यक्ति माथि पुग्ने सम्भावना हुन्छ । बिस्तारै जनताले चाहेको व्यक्ति मात्र सांसद, मन्त्री वा सार्वजनिक चासोका क्षेत्रमा जाने  वातावरण बन्छ । यो लामो प्रोेसेस हो तर योभन्दा लोकतान्त्रिक पद्धति अरू छैन । 

यसको अर्थ एउटा युवकलाई जसरी पनि राजनीतिमा तान्ने प्रयास हो ?

विश्वका सबै क्षेत्र राजनीतिबाट प्रभावित छन् । समाज, विकास, संस्कृति, परिवर्तन सबैको मियो राजनीति नै हो । अहिलेसम्म राजनीतिलाई फोहोरी खेल मात्र मानियो । वास्तवमा राजनीतिबाट कोही पनि भाग्न सक्दैन । एउटा व्यक्तिको  भोटले देशलाई खाडलमा हाल्ने कि माथि उचाल्ने निर्णय हुन सक्छ । हामीले हरेक व्यक्ति राजनीतिबाट प्रभावित छ र हुनुपर्छ भन्ने सन्देश दिन खोजेका छौं । दक्षिण एसियाको राजनीतिमा देखिएको फोहोरी प्रवृत्ति हटाउन पनि सबै युवालाई  राजनीतिमा तान्नैपर्छ । विशेष गरी पढेलेखेका युवाहरूको काँधमा राजनीतिमा भएका फोहोर हटाउने जिम्मेवारी छ । कुनै दलविशेषमा नलागेका युवाहरूलाई पनि राजनीतिमा तान्ने हाम्रो प्रयास हो ।

तपाईंहरूले सञ्चालन गर्नुभएको गैरसरकारी संस्थाको नाम नै अनौठो छ— ँविद्यार्थी संसद ः नेपालको पुर्नसंरचना’, यसको अर्थ के हो ?

यसले गर्न खोजेका काम धेरै छन्, तर तपाईंले सोझै अर्थ खोजिरहनुभएको छ । सोझै भन्ने हो भने जसरी किसानको समस्या किसानलाई मात्र थाहा हुन्छ, त्यसैगरी युवा विद्यार्थीको समस्या विद्यार्थीलाई मात्र थाहा हुन्छ । त्यसैले युवा विद्याथीर् को एउटा भिन्न संसद् हुनुपर्छ । विद्वान्हरूको अर्को संसद् हुनुपर्छ । किसानहरूको त्यस्तै संसद् हुनुपर्छ । ती भिन्न-भिन्न संसद्बाट मात्र देशको मूल संसद् छानिनुपर्छ भन्ने हाम्रो भिजन हो । जसरी हामीले विद्यार्थीहरूबाट नेता छान्ने प्रयास  गरेका छौं, किसानहरूले आफ्नो नेता छान्नुपर्छ । विद्वान्हरूले आफ्नो नेता छान्नुपर्छ । महिलाहरूले आफ्नो नेता छान्नुपर्छ । यसरी छानिएका नेताहरूले मात्र देशको वास्तविक प्रतिनिधित्व गर्न सक्छन् भन्ने भिजन हो । अहिले हामीले युवा  विद्यार्थीबाट नेता छान्ने प्रयास गरिरहेका छौं ।

प्रत्येक राजनैतिक दलका विद्यार्थी नेता छन्, ती नेता र तपाईंले छान्ने नेताबीच के फरक हुन्छ ?

राजनैतिक दलका विद्यार्थी नेताहरू परिचालित छन्, स्वचालित छैनन् । उनीहरू दलको नीतिअनुसार चल्छन्, आफ्नो भिजन प्रयोग गर्नबाट वञ्चित छन् । सबैभन्दा रमाइलो कुरा के छ भने राजनैतिक दलमा जसलाई युवा नेता भनिन्छ,  उनीहरू न त युवा छन्, न त विद्यार्थी  नै  । एउटाको नाममा अर्कैले अवसर पाइरहेको छ । हामीले छान्ने नेतामा यस्तो विरोधाभास हुँदैन । यसको अर्थ दलहरूलाई बाइपास गर्नु होइन, त्यही दलभित्रका गलत कुरालाई सच्याउनु हो । हाम्रा  युवा नेताहरू विभिन्न दलभित्र रहेर स्वचालित हुन्छन् ।

कच्चा उमेरमै ठूला कुरा गर्नुभयो नि ?

तपाईंको प्रश्नबाटै युवालाई हेर्ने दृष्टिदोष देखिन्छ । हामी सबै कुरामा सक्षम छौं, तर हामीलाई कच्चा उमेरको भनेर अविश्वास गरिन्छ । हाम्रो समस्या यहीं छ । म युवा हुँ भने मेरो समस्या मैले नै बुझेको छु र त्यसको समाधान कसरी गर्ने  भन्ने कुरा म आफैं खोज्न सक्छु । यो कुरा किसान, विद्वान् सबै वर्गमा लागू हुन्छ । हाम्रो टिमको क्षमता 'खोज ः युवा नेतृत्वको' कार्यक्रमले पनि देखाइसक्यो भन्ने लाग्छ ।

प्रस्तुति ः अश्विनी कोइराला

प्रकाशित अंकहरू