गड्डाचौकीदेखि बाहुनडाँगीसम्म
'अघिल्लो साता लमजुङमा थिएँ,
त्यसपछि ताप्लेजुङमा पुगेँ,
हिजो गड्डाचौकीमा थिएँ,
आज बाहुनडाँगीमा छु।'
तपाईंलाई लाग्न सक्छ-
यो कवितामा न छन्दको कुनै छाप छ, न त कतै कवित्वको भाव छ- यस्तो पनि कहीं कविता हुन्छ ! तर, कविताको भावभङ्गिमातिर नजानोस्, यसको रफ्तार हेर्नोस्- लमजुङबाट सोझै ताप्लेजुङ, कालीबाट 'ननस्टप' मेची !!
विगत केही समयदेखि देश दर्शनको क्रम ह्वात्तै बढेको छ। अत्तरिया महोत्सवको आनन्द होस् वा बढैया तालमा थारु परिकारको स्वाद, कपिलवस्तु महामेलाको मज्जा होस् वा धरानको 'लभइजम कन्र्सट' को तहल्का होस्- प्रत्येक कार्यक्रम अर्थपूर्ण थिए।
लमजुङमा 'सिस्नुपानी यात्रा' गर्नु थियो, ताप्लेजुङमा माघेमेला भर्नु थियो। यी दुई 'जुङ्गे' जिल्लाको यात्रा वृत्तान्त अझ बिन्दास छ, मौका मिले फेरि सुनाऔंला, अहिलेलाई भने गड्डाचौकीदेखि बाहुनडाँगीसम्म यात्रा गराउँछु। किनभने यी दुई ठाउँको कथा विशेष खालको छ।
'गड्डाचौकी' युकेसँग जोडिएको नेपाली नाका हो भने बाहुनडाँगी डब्लु.बी.को सीमा गाउँ हो। ज्ञात रहोस्, 'डब्लुबी' भनेको भारतको 'वेष्ट बेंगाल'को छोटकरी रूप हो भने 'उत्तराखण्ड' राज्य 'युके' भनेर चिनिंदो रहेछ !
'सुन्दर पश्चिम'का सयौं युवा दैनिक युकेतिर लाग्छन्। जहाज नै नचढी पुगिने 'युके' छिर्नेहरू भारतीय श्रम बजारमा किनिन्छन्, बेचिन्छन् र र्फकंदा सिमानामा सातो जाने गरी सताइन्छन्। त्यसैगरी, युके र नेपालको सीमा नदी महाकालीले वर्षा याममा नेपालतिर ताण्डव नृत्य देखाउँछिन्, हिउँद लागेपछि मित्रराष्ट्रमा 'भारत नाट्यम्' प्रस्तुत गर्छिन्।
अहिले 'महाकाली नदी साझा हो, पानी आधा-आधा हो' भन्ने नारा कमजोर भएको छ। त्यसको ठाउँमा
'तिम्रो हुन्जेल बाँडीचुँडी खाऔं, तिम्रो सकिएपछि आफ्नो-आफ्नो लिऔं' भन्ने सिद्धान्त लागू गरिएको छ। यही सिद्धान्तका कारण कालीपारिका चाँदनी/दोधारावासीहरूले वर्षामा बाढीको त्रास र हिंउदमा आकाशको आश गरेर बस्नुपर्छ। यो समस्या समाधानका लागि मित्रराष्ट्र र भित्रराष्ट्र दुवैले पुनः सोच्नु आवश्यक देखिएको गजुरियल बुझाइ छ।
यता बाहुनडाँगीको कथा अर्को छ। कथाभन्दा यो गाउँको व्यथा चर्को छ। प्रत्येक वर्ष, पश्चिम बंगालबाट पूर्वी झापा पसेका 'जंगली गणेश'हरूले बाहुनडाँगीको बालीनालीलाई
'लड्डु' बनाइदिन्छन्। बासस्थान बरबाद पार्ने र मान्छे मार्ने पनि
'गणेशजी'का नियमित कार्यहरू हुन्, तर कुकुरले मान्छे टोक्यो भन्दैमा मान्छेले पनि कुकुरलाई टोक्न नमिलेजस्तै हात्तीले मान्छेका घर लडायो भनेर मान्छेले हात्तीलाई लडाउन सक्ने कुरो पनि भएन।
वारिपारि गर्न मानिसलाई त कागज चाहिंदैन भने हात्तीलाई भिसा लिएर आऊ भन्न पनि पाइँदैन। त्यसै पनि लोपोन्मुख हात्ती, त्यसमा पनि प्राकृतिक अधिकार प्राप्त यो प्राणीको नेपाल आवागमनलाई 'भारतीय विस्तारबाद'को अर्थमा हेर्न पनि मिल्दैन। तर 'हात्तीचाहिं हाम्रा, खान्कीचाहिं तिम्रा' जस्तो गर्नु दुवै देशका लागि लागि बरबादीचाहिं हो।
त्यसकारण, हात्तीलाई गाउँमा पस्न नदिने, पसिहाले पनि त्यहाँ बस्न नदिने ! तारबेरा कडा पार्ने, बलियो क्षतिपुर्ति कोष खडा गर्नेजस्ता द्विपक्षीय सहकार्य गर्ने हो भने हात्ती सबै मानिसको साथी हुन्छ, हैन भने- 'हात्ती आयो हात्ती आयो, ठुस्स !'
शिवपुत्र गणेशजीको काल्पनिक रूप हात्तीजीलाई देख्दा दंग पर्नुपर्ने मान्छेहरू, हात्ती आउँदा 'ठुस्स' पर्न थाल्नु धार्मिक, प्राकृतिक, सांस्कृतिक, सामाजिक कुनै पनि हिसाबले पनि राम्रो होइन, तर अति भएपछि मान्छेको सहनशीलताको गति कमजोर हुन्छ। कमजोर मान्छे बाध्य भएर विद्रोहको नारा घन्काउन थाल्छ-
'वर्षैभरि हात्ती पीडा, देख्दैनन् कोही ठ्याम्मै
समाधान गद्र्यौ सरकार, यो समस्या ट्याम्मै
ट्याम बितेपछि उखान, उल्टो पर्ला झ्याम्मै
हात्ती आयो 'फुस्सा' हैन, हात्ती आयो- 'ड्याम्मै !'
तपाईंको प्रतिकृया