एकै दिन निधन भएका दम्पतीलाई एउटै चितामा जलाइयो
सँगै बाँच्ने र सँगै मर्ने वाचा कसम खाँदै दाम्पत्य जीवनमा बाँधिन्छन् हरेक नवजोडीहरू, तर जन्म र मृत्युको कुनै ठेगान हुँदैन। संयोगवश यस्तो इच्छा पूरा भएको छ, खोटाङको खाल्ले-६ का ७३ वर्षीय हरिबहादुर खतिवडा र ६५ वर्षीय नरमाया खतिवडाको। बुधबार साप्सु खोलामा एउटै चितामा राखेर मृतक खतिवडा दम्पतीको दाहसंस्कार गरिएको स्थानीय बासिन्दा कृष्णकुमार थापाले बताए।
१२ घण्टाको फरकमा गत मंगलबार उनीहरूको निधन भएको थियो। श्रीमान्को दिउँसो २ बजे र श्रीमतीको त्यही रातको २ बजे निधन भएको छिमेकीहरूको भनाइ छ। एकै दिन निधन भएका कारण वृद्धलाई एउटै चिताको दायाँ र वृद्धालाई बायाँतर्फ राखेर जलाइएको थापाले बताए। प्रेमविवाह गरेका खतिवडा दम्पतीका पाँच छोरा र छवटी छोरी छन्। चार छोरा विदेशमा रहेकाले उनीहरूको दाहसंस्कारमा एक छोरा मात्र उपस्थित थिए।
तपाईंको प्रतिकृया