कविता

गृहपृष्ठ » » कविता » लेखहरु »

भूपिन व्याकुलका केही प्रेम कविताहरू

भूपिन व्याकुल युवा पुस्ताका चर्चित कवि हुन्। यी कवि अहिले सप्तगण्डकी बहुमुखी क्याम्पस चितवनमा अध्यापन गर्छन्। वागलुङमा जन्मिएका व्याकुलको अध्ययन पोखरामा पूरा भयो। पोखरामा लामो समय बस्दा यिनले चर्चित  साहित्यकार सरुभक्तको संगतमा रहेर प्रेम कविता रचे। उनका क्षतिग्रस्त पृथ्वी र मूल सडक, शब्दहरूको नेपथ्य, हजार वर्षको निद्राजस्ता कविता संग्रह तथा साङ्गि्रलाको हृदय शीर्षकको नियात्रा-संग्रह प्रकाशित  छन्। व्याकुल  चितवनको सिनर्जी एफ एममा नेपाली साहित्य एवं संगीतका कार्यक्रमहरू पनि सञ्चालन गर्छन्।





१. सम्झनाहरूको ऐंठन

तिम्रो सहरभरि

सम्झनै सम्झनाहरूको ऐंठन हुन्छ।

उस्तै छ

मौन तालमाथि

बयली खेल्दै डुलिरहने बैंसालु हावा

उस्तै छ

सहरको छेउघरसम्म

लुक्दै चियाइरहने हिमालको आँखा

उस्तै छ

सपनाहरू लुकाउन

भूमिगत बगिरहने नदीको मौनता

फगत

समय चिप्लेर गएको छ सहरबाट।



बदली नभएझैं

मेरा सम्झनाका ऋतुहरूमा

उसरी नै सडक छेउमा बगिरहेको छ

जीवनको आँधी।

उसरी नै

ताराहरूको देशमा घुमिरहेको छ

अन्तरमुखी जून।



सुँघ्छु

मात्र उडेर गएकोछ शरीरबाट

बैंसको तिखो वासना,

दुःखको दुब्लो साँघु तरेर

नर्फकने गरी गएको छ

लाहुरे समय।



सबै-सबै उस्तै छन् तिम्रो सहरमा

मात्र थपिएका छन् आँखाहरूमा

सपनाका जन्ति र मलामीहरू।

कहाँ समातेर राख्न सक्यौं र ?

आशिष दिने समयको हत्केला

त्यहीँ चिप्लेर गएको छ

सहरबाट।

तिम्रो सहरभरि

सम्झनै सम्झनाहरूको ऐंठन हुन्छ।

२. बग्दै बग्दै हर्पनको

बग्दै  बग्दै  हर्पनको  पानी  फेवातालमा

त्यसरी नै म त बगें उनको मायाजालमा

बाँध  हाली  रोक्दा  पनि कतै नरोकिने

छोप्छु  भन्छु  मनभित्र  कसै  नछोपिने

जित्छु भन्दै दौडिएको कछुवाको चालमा

त्यसरी नै म त बग्दै उनको मायाजालमा

सुक्यो भन्छन् संसारमा माया बग्ने खोला

मैले त्यही खोला खोज्दै बिताएछु चोला

कहाँ भेटें मैले तिम्लाई यस्तो अनिकालमा

त्यसरी नै म त बग्दै उनको मायाजालमा

बग्दै -बग्दै  हर्पनको  पानी  फेवातालमा

त्यसरी नै म त बगें उनको मायाजालमा

३. कोइली चरीसँग

गुमनाम बसी समयको हाँगामा

नसोध मलाई को हो को हो भनेर

वषौंपछि फर्किएको छ तिमीलाई भेट्न

तिम्रो प्रेमी

समय बतासिएर कता कता उडिरहेको छ

उधि्ररहने स्विटरझैं

जीवनको घर फुस्किरहेको छ

यही एउटा मन छ

जुन कहिल्यै फेरिएन

हिमालबाट बेग हानेर मधेस झरेको

कर्‍याङकुरुङजस्तो मन

वर्षौंपछि तिमीलाई भेट्न आएको छ

हिउँको सहरमा

नसोध को हो को हो भनेर।



बदलिए छ

आँधी मन उतै घरको सत्तालाई छोडेर

मलाई भेट्न तिमी आउने तालको छेउ

बदलिए छ

आँधी सपना घरको बार्दलीमा झुन्डाएर

मलाई भेट्न तिमी आउने जङ्गलको मौनता

तिमी कस्तो छौं ?

तर म त पुरानै मन भिरेर हिँड्ने

फकिरजस्तै भएको छु

नसोध को हो को हो भनेर।



दुःखका हजारौं गल्छीहरू काटेर

अँध्यारोका सयौं युगहरू बिताएर

अभावका लाखौं चुलीहरू टेकेर

म आएको छु

आशाको एउटै उज्यालो दुनियाँमा केहीबेर हराउन

अझै चिनेनौं ?

आत्महत्याबाट जोगिन कवि भएको

म तिम्रो प्रेमी हुँ।

नसोध को हो को हो भनेर।

४. भगवान

ओ असभ्य भगवान

छिर्‍यौ नसोधिकन

मनको निषेधित इलाकामा

र मुटुमा प्रेमको बम पड्कायौ

हिँड्दै थिएँ

जीवनका कठिन उकालोमा एक्लै

बीचमै अपहरण गर्‍यौ

र पूरै जीवन फिरौती माग्यौ।

एउटा लयमा बगिरहने सपनाहरू

कपडाझैं मिलाएर राखेकी थिएँ

छातीको दराजमा

र चाबी लगाएकी थिएँ,

खोल्यौ कुनै चोरलेझैं।

रहरहरूको बीउ छरेर आँखामा

पर्खाल लगाएकी थिएँ,

भत्कायौ कुनै क्रोधीले झैं।

म आफै नपौडिएको

आफ्नै हृदयको दहमा,

झ्वाम्म हाम फाल्यौ

र भन्यौ,

'म अब यही आत्महत्या गर्न चाहन्छु।'



ओ आतङ्कारी

तिम्रा स्मृतिहरूको ओभर डोजले

पागल भएकि छु म,

भन कुन अपराधमा

मेरा रातहरू अपदस्त गर्‍यौ ?

भन कुन अभियोगमा

प्रेमको लोरी सुनाएर

मलाई आजन्म कैदी बनायौ ?

म फन्फनी घुमिरहेको पृथ्वी

तिमी सूर्य

म छङछङ बगिरहेको खोला

तिमी समुद्र

म सुस्साउँदै उडिरहेको हावा

तिमी पहाड

तिम्रो छाती

मेरो प्रेमको पाठशाला।

तिमीमा पुगेर टुङ्गिने म कुनै अनाम यात्रा।

विस्थापित गरेर करोडौं भगवानहरू

करङहरूको मन्दिरभित्र

मैले त तिमीलाई उभ्याइसकेछु।



नित्सेले मारिदियो ईश्वर

मानिसहरू चिन्तित छन्,

तर एउटा आतङ्ककारीलाई

मैले त भगवान मानेर पूजा गरेकी छु।

५. अपरिवर्तित

मानिसहरूले गुनासो गर्दैमा

जसरी कुनै मौसम फेरिन्न

जुन आस्थाले जहाँ चढाए पनि

जसरी फूलको नाम फेरिन्न  

तिमीले नै बनाएकि हौ

मेरो जिन्दगीलाई यति कर्णप्रिय

कसैले मन नपराउँदैमा

अब यसको सरगम फेरिन्न।

६. निदाइरहेछन् ताराहरू

निदाइरहेछन् ताराहरू सुस्ताइरहेछ जून पनि

किन तिमी उदाइरहेछौं सुनसान रातभरि ?

सपनामा रातभरि

एकान्तमा रातभरि !



तिमीलाई छोएर आएको छ जुन पवन

फेरि मलाई बिथोलेर फर्केकोछ तिम्रो गाउँ सोध्नु मेरा खबरहरू उसैसँग सन्नाटामा

मैले किन भुल्न थालें हिजोआज आफ्नै नाउँ ?

रोइरहेछन् नदीहरू बेहोसी छन् किनार पनि

किन हराउँछु सधैं अँध्यारोको साथभरि ?

किन तिमी उदाइरहन्छौ सुनसान रातभरि ?



तिम्रा आँखा अँध्यारोको जुन हातले छोपेको छ

मलाई पनि उसैगरी छोपेको छ त्यही हातले

भीडमा एक्लै हराउँछु पराइजस्तो दिनभरि

आफ्नोले झैं माया गर्छ किन मलाई मध्यरातले ?

निभिसक्यो क्षितिज पनि सुतिसक्यो आकाश पनि

जूनको आँसु खसेको छ गुलावको पातभरि

किन तिमी उदाउँछौ सुनसान रातभरि ?

७. रातभरि बेहोसीमा

रातभरि   बेहोसीमा   ताराहरू    गनिरहें

जूनलाई तिम्रो घरको झ्याल खोल्न भनिरहें

उज्यालोमा  सकिएन कहीं भेट्न तिमीलाई

अँध्यारोमा तिमीसम्म  पुग्ने  सुरुङ खनिरहे

मन त थिर छैन  तर सम्झाउँदै आएको हुँ

हिजो राती  किन  किन पागलजस्तै बनिरहें

तिमीसँग  भेट  गरी  फर्किएको   जूनलाई

तिम्रा हरेक कुरा सोध्न  कोठाभित्र  थुनिरहें।

८. साँचो

एउटा साँचो मैले तिमीलाई दिएको छु।

म आफैं एउटा बन्द कोठा छु

कहिलेकाहीँ

आफैं खोल्न सक्दिनँ कोठाको ताल्चा

छिर्न सक्दिनँ कोठाभित्र

र छिरिहालेँ भने पनि

बुझ्न सक्दिनँ कोठाको मौन-ध्वनि



मैले पनि खोल्न नसकेका पानाहरू छन्

पढ

र सच्याऊ यो कोठाको नमिलेको व्याकरण

उडेको छ रङ्को भित्ता

त्यसलाई मुटुको रङ्ले सजाऊ

वषौँदेखि

काम चलाएको छु सीमित हावाले

झ्यालहरू खोल

र नयाँ हावा भित्रिन देऊ

साँगुरो हुनसक्छ कोठा तिमीलाई

मसँग तन्कने भित्ताहरू छन्

यसलाई आफू अट्ने गरी तन्काऊ

बन्द आफूलाई सम्पूर्ण खोल्न

कोही एक जनाको हात चाहिँदो रहेछ

कोही एक जनाको साथ चाहिँदो रहेछ

९. मलाई खोल्न

एउटा साँचो मैले तिमीलाई दिएको छु।

प्रिय आँखाहरू

प्रतीक्षामा रातभरि अनिँदो रहेपछि

मैले थाहा पाएँ

कति प्रिय छन् आँखाहरू सपनाको उपस्थितिमा !

मलाई मानिसका आँखाहरू मन पर्न थालेका छन्

आँखाभित्रको गहिराइमा

छद्म सपनाका अराजक नृत्यहरू मन पर्न थालेका छन्

तहतह थुप्रिएका

जीवनका प्रोफाइलहरूमा

रहरैरहका अमूर्त आकारबिम्बहरू

जिजीविषाका विद्रोही गीतहरू

र मृत्युका मुलायम ध्वनिहरू पन पर्न थालेका छन् !

सपनाहरू त

सबैभन्दा छोटा उत्सवहरू हुन् जीवनका

अरूलाई गलत लाग्नुसँग

यिनीहरूको कुनै साइनो छैन

जस्तो कि मेरी प्रेयसी

म मेरै ओट्यानबाट विलुप्त भएर रातहरूमा

तिम्रो कोठामा पुग्छु



कुनै जादुई कथाको राजकुमारझैँ

जहाँ तिमी लोग्नेको प्रेमपूर्ण विलय खोजिरहेकी हुन्छौ !

सपनाहरूको मलामी गएर फर्किएको साँझ

यस्तो लाग्छ

जीवनले मलाईर् बिदाईको अन्तिम चिठ्ठी दिएको छ

कति प्रिय छन् आँखाहरू सपनाको उपस्थितिमा !

१०. मेरी प्रियसी

मलाई तिम्रा आँखाहरू

बिनाकारण कहाँ मन परेका हुन् र ?

ठूलाठूला बदामे भएकाले

वा सुन्दर अनि सेक्स-अपिल भएकाले मात्र

कहाँ मनपरेका हुन् र ?

मलाई तिम्रा आँखाहरू मन पर्छन्

किनभने त्यहाँ सपनाहरूको मौन लस्कर छ

असङ्ख्य-असङ्ख्य सपनाहरूको भीडमा

मलाई तिम्रा आँखाहरू

त्यसै-त्यसै कहाँ मन परेका हुन् र ?



तिमीलाई थाहा छँदैछ नि

म स्वप्नजीवी मानिस हुँ

रातभरि सपना देखेर दिनभरि बाँच्ने

दिनभरि बाँचेर रातभरि सपना देख्ने !

कति प्रिय छन् आँखाहरू सपनाको उपस्थितिमा !

११.किताब

मेरो हृदयको पुरानो दराजमा

मलाई मन पर्ने

सबैभन्दा प्रिय किताब छ !

प्रत्येक दिन त्यसका पानाहरू खोल्छु



पाउँछु

हिजोका शब्दहरू फेरिएर नयाँ शब्दहरू टाँसिएका छन्

मानौं त्यसको पातलो आवरणभित्र अटाएको छ सिङ्गो समुद्र

जहाँ शब्दका नयाँ-नयाँ छालहरू आउँछन्

त्यही एउटा किताब छ

जसका पृष्ठहरू भित्रबाट एकाएक हराउँछन् शब्दहरू

र जसरी भरिन्छन् इनारहरू वर्षामा

त्यसरी नै भरिन्छन् किताबका रिक्त पानाहरू



प्रत्येक दिन त्यसका पानाहरू खोल्छु

हिजो दुखाएका शब्दहरू गायब छन्

हिजो हँसाएका शब्दहरू पनि गायब छन्

रूप बदलिरहेका शब्दहरू पढेर

म कसरी अर्थ लगाउन सक्छु र त्यो किताबको

१२. म तिमीलाई प्रेम गर्छु

म तिमीलाई प्रेम गर्छु

र सम्झौता इन्कार गर्छु

थाहा छैन

म तिमीलाई किन प्रेम गर्छु ?

तर थाहा छ

म तिमीलाई किन इन्कार गर्छु ?



तिमीले कुनै दिन

मैले तिर्न नसक्ने प्रेमको मोल माग्न सक्छौ

तिमीले कुनै दिन

मैले किन्न नसक्ने प्रेमको महल पनि माग्न सक्छौ

निःसन्देहः

मैले तिर्न सक्नेछैन प्रेमको मूल्य

मौले किन्न सक्नेछैन प्रेमको महल

र सायद त्यसपछि

तिम्रा मप्रतिका विश्वासहरू फाट्नेछन्

तिम्रा मप्रतिका आस्थाहरू च्यातिनेछन्

धुजा-धुजा हुनेछन्

तिम्रा सुकुमार सपनाहरू

उफ !

तिमीलाई सर्वोत्कृष्ट प्रेम गर्न

मेरो सबल पुरुषत्व

बेकाम हुनेछन् कुनै नपुङ्सक रहरजस्तै

र त्यसपछि नभएको प्रेमनगरमा

मेरो फकिरले आत्महत्या गर्नेछ।

मृत्युपर्यन्त

म तिमीलाई प्रेम गरिरहन चाहन्छु

हो म तिमीलाई प्रेम गर्छु

त्यसैले त सम्झौता इन्कार गर्छु।

१३. प्रेमीहरू

प्रेमीहरू

सिर्फ सम्मोहित पुतली हुन्

जो प्रत्येक रात

आफ्नै सपनाको मलामी जान्छन्

र प्रेमास्थाको उज्यालो बत्तीवरिपरि

मृत्युको तयारी गरिरहन्छन्

बारम्बार

आगोको समुद्रमाथि पौडिरहन्छन्

पीडाको चरम आनन्द लिन्छन्

सपनासँगै डढ्छन्

र अन्ततः मृत्युवरण गर्छन् ! प्रेमीहरू

फरक फरक मृत्यु-उत्सव मनाउँछन् जीवनभरि

पुतलीहरू र प्रेमीहरूः

पुतलीहरू अन्जानमा मृत्यु-उत्सव मनाइरहन्छन्

प्रेमीहरू जानाजान मृत्यु-उत्सव मनाइरहन्छन् !

१४.अन्तिम हस्ताक्षर

यो निर्दयी ईश्वरले

के लेख्छ मेरो निधारभित्र

सिस्मोग्राफ ?

त्यहाँ त एउटा प्रिय हस्ताक्षर छ

उसले गरिदिएको

डाक्टरहरू सुनून्

मेरो मुटुको कालजयी सङ्गीत

र जानून्

कार्डियोग्राफमा जे देखिन्छ

त्यो उसैको अन्तिम हस्ताक्षर हो

उसले आवेशको प्रेममा गरिदिएको

जीवनको सादा चेकबुकमा

मैले त्यही हस्ताक्षर चलाएको छु

जीवनका ठूला निर्णयहरूमा

मैले त्यही हस्ताक्षर सदर गरेको छु

लाग्छ म स्वयम्

उद्वारा गरिएको एउटा हस्ताक्षर हुँ



मेरो मृत्युपछि

मेरो निधार र मुटु

सङ्ग्रहालयमा राखियोस्

कुनै पुरातात्त्विक वस्तुझैँ

र लेखियोस् क्याप्सनमा

'यो एउटा अराजक प्रेमीको

नमुना मुटु हो

जीवनभरी एउटै हस्ताक्षरले चलेको।'



मेरो मृत्युपछि

देखोस् उसले

मेरो मुटुमा उसैको हस्ताक्षर !

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :