तेरियाले जितिन् नृत्य उपाधि
आठ जना प्रतिस्पर्धीलाई पछि पार्दै रूपन्देही रुद्रपुरकी १० वर्षीया तेरिया फौजा मगर 'स्कुल आयल फिल्ड क्याराभान' शीर्षकको राष्ट्रिय स्तरको नृत्य प्रतियोगिताको विजेता बनेकी छन्। इको पार्टी जापानको आयोजनामा गएको शनिबार काठमाडौंको बौद्धमा सम्पन्न फाइनलमा उत्कृष्ट हुँदै तेरियाले प्रतियोगिताको उपाधिसँगै नगद १ लाख रुपैयाँ जित्न सफल भइन्। तेरिया बुटवलस्थित बागेश्वरी संगीतालयकी नृत्य प्रशिक्षार्थी हुन्। खेर गएका प्लास्टिक प्रशोधन गरेर इन्धन बनाउन सकिने र त्यसबाट वातावरण संरक्षण गर्न पनि सकिन्छ भन्ने सन्देश दिने उद्देश्यसहित आयोजित नृत्य प्रतियोगितामा पो खराको कास्की मोडर्नाइज एकेडेमीको सामूहिक नृत्यले दोस्रो हुँदै नगद ५० हजार प्राप्त गरेको छ। यस्तै फाइनलमा प्रतिस्पर्धा गरेका भक्तपुरकी प्रतीक्षा पौडेल र मनिष महर्जन, काठमाडौंका सुजन मार्फा, पोखराकी अमिता सुनार र रुपन्देहीकी रेनु थापामगरले १० हजार रुपैयांका दरले सान्त्वना पुरस्कार प्राप्त गरे। सो अवसरमा जापानी कलाकारहरूले समेत गीत र नृत्य प्रस्तुत गरेको इको पार्टी जापानको नेपालस्थित प्रतिनिधि अमिता राजभण्डारीले साप्ताहिकलाई जानकारी दिइन्।
तपाईंको प्रतिकृया