उदयपुरमा त्रिवेणी मेला
उदयपुरको त्रिवेणीमा हरेक वर्ष माघे संक्रान्तिदेखि लाग्ने त्रिवेणी मेला यस वर्ष पनि सुरु भएको छ। मैनी मेलाले समेत परिचित मेला पहिले पहिले एक महिनासम्म लाग्ने गरेको भए पनि द्वन्द्वकालपछि भने पन्ध्र दिन मात्रै लाग्दै आएको छ।
मेलाको आकर्षणका रूपमा पहिले पहिले सोलखुम्बुको भोटे घोडा, खोटाङ्को भोटे कुकुर, ओखलढुङ्गाको राडिपाखी, सिन्धुलीको जुनार आदि भए पनि पुराना आकर्षणहरू लोप हुँदै गएको त्रिवेणी गाविसका सचिव माधवप्रसाद पौडेलले बताए।
परापूर्वकाल देखि नै लाग्दै आएको पूर्वाञ्चलकै पुरानो र लामो समय लाग्ने यो मेलाको यो वर्षको आकर्षण भनेको स्थानीय उत्पादन र मनोरञ्जनात्मक खेल रहेको मेला आयोजक समितिले जनाएको छ। त्यसैगरी मेलाकै अवसरमा प्रथम त्रिवेणी स्टार नृत्य प्रतियोगिता पनि हुँदैछ। त्यसका लागि उदयपुर आसपासका जिल्लाबाट प्रतियोगीहरू सहभागि भएको आयोजक रिको भरिङ प्लस कटारी नेपालका अध्यक्ष नारायण राईले बताए। मेलाकै अवसरमा हिन्दू धर्मावलम्बीहरूले भागवत पुराणलगायत धार्मिक कार्यहरूसमेत गर्दै आएका छन्।
तपाईंको प्रतिकृया