उर्मिला भुर्तेल (हास्यकलाकार)
भोजपुरमा जन्मिएर चन्द्रगढी, झापामा हुर्किएकी उर्मिला भुर्तेल (खेमकुमारी भुर्तेल) विगत नौ वर्षदेखि अभिनय क्षेत्रमा सक्रिय कलाकार हुन्। २०६० सालमा पहिलो पटक सन्तोष पन्तको लोकप्रिय हास्यश्रृंखला 'हिजो आजका कुरा' मा अभिनय गरेपछि उनी अभिनयमै सक्रिय छिन्। हिजोआजका कुरामा सन्तोष पन्तकी छोरीदेखि लिएर नायिकासम्मको भूमिका निर्वाह गरेकी उमिर् लाले त्यसयता एक दर्जनभन्दा बढी टेलिचलचित्र, श्रृंखला, विज्ञापन तथा केही चलचित्रमा अभिनय गरिन्। हास्यश्रृंखला 'टिपन टापन' होस् अथवा पारिवारिक विषयवस्तुमा आधारित टेलिश्रृंखला 'किनारा' होस्, उर्मिलाले हास्य कलाकारितालाई निरन्तरता दिइरहिन्। भर्खरै छायांकन सम्पन्न भएको चलचित्र 'प्राणभन्दा प्यारो' तथा प्रदर्शन भैसकेको चलचित्र 'रावण' मा समेत अभिनय गरेकी उर्मिला विगत एक वर्षदेखि दुई भिन्न हास्यश्रृंखलामा व्यस्त छिन्। उनी अहिले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्य श्रृंखला 'हर्के हल्दार' मा पातलीको भूमिका निर्वाह गरिरहेकी छिन् भने नेपाल टेलिभिजनबाट प्रसारण हुने 'झ्याइँकुटी झ्याइँ' मा हङकङ आईडीको भूमिका निर्वाह गरिरहेकी छिन्। झ्याइँकुटी झ्याइँमा आईडीको भूमिका निर्वाह गर्नुअघि उर्मिलाले उक्त श्रृंखलामा महिला न्यायाधीश, नायिका आदिको भूमिकासमेत निर्वाह गरिसकेकी थिइन्। काठमाडौं बाहिरका विभिन्न गाउँ-सहरमा आयोजना हुने महोत्सवहरूमा हर्के हल्दारका मुख्य पात्र विष्णु सापकोटासँग जोडीका रूपमा सहभागिता जनाइरहेकी उर्मिलासँग साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्नः
बाटोमा भेटिएका दर्शकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
पहिले-पहिले त खासै प्रतिक्रिया पाएकी थिइनँ, तर 'हर्के हल्दार' र 'झ्याइँकुटी झ्याइँ' मा अभिनय गर्न थालेपछि पातली र हङकङ आईडी भन्दै जिस्क्याउँछन्।
अभिनयमा हास्य विधा नै रोज्नुको कारण ?
म नृत्यमा पनि पारंगत छु, हाइट पनि राम्रै छ तर अभियनका अन्य विधाभन्दा हास्य विधामै आफूलाई सहज पाएकी छु। अभिनय यात्राको प्रारम्भमै हास्यश्रृंखलामा काम गर्ने अवसर पाएकाले पनि यस्तो भएको हुनसक्छ।
हास्यकलाकार विष्णु सापकोटासँगको जोडी कत्तिको जमेको छ ?
हर्के हल्दारमा सँगै काम गर्ने क्रममा हाम्रो जोडीलाई दर्शकले मन पराएकाले नै हामीले महोत्सव तथा सांस्कृतिक कायर् क्रमहरूमा जोडीकै रूपमा प्रस्तुत हुने निर्णय गरेका हौं।
तपाईंको प्रतिकृया