अब म के गरूँ ?
मलाई एक वर्षअघि एक युवकले प्रेम प्रस्ताव राख्यो, मैले पनि हुन्छ भन्ने जवाफ दिएँ । उसकै करले चार-पाँच पटक डेटिङ पनि गइयो । केही महिनासम्म उसको र मेरो सम्बन्ध राम्रै थियो । एक दिन मैले फोन गर्दा उसले रिसिभ नै गरेन । एकपटक एसएमएस गर्नु भनेर उसलाई एसएमएस पठाएँ, जवाफमा उसले 'मलाई छाडिदेऊ' भन्ने एसएमएस पठायो । पहिले तिमीबिना बाच्दिनँ, तिमीबाहेक अरूलाई रोज्दिनँ भन्ने मान्छेले एकैचोटी 'मलाई छाडिदेऊ' भन्दा विश्वासै लागेन । सुनेको छु, उसले अहिले अर्कै केटी साथी बनाइसक्यो, तर म भने उसकै सम्झनामा बसेको छु । बिर्सन खोज्दा पनि सक्दिनँ, मनले मान्दैन । अब म के गरूँ ?
यु.
'जस्तालाई तस्तै, ढीडो'लाई निस्तै' भन्ने नेपाली उखान सुन्नुभएको छैन ? यदि सुन्नुभएको छ भने तपाईंले पनि अब फटाफट अर्को युवकसँग मित्रता गर्नुहोस् र पहिलेको कथित प्रेमलाई बिर्सने प्रयास गर्नुहोस् । एउटासँग प्रेम गरेर उसैसँग विवाह गर्नुपर्छ र उसैसँग जीवन निर्वाह गर्नुपर्छ भन्ने हाम्रो समाजको पुरातन परम्पराको पर्खाल क्रमशः भत्किन थालेको धेरै भैसके को छ । मलाई लाग्छ, आजभोलिको युवापुस्ताले प्रेम र प्रेमसम्बन्धलाई आदर्शभन्दा बढी आफ्नो आवश्यकताअनुरूप परिभाषित गर्न थालेको छ र त्यहीअनुसारको व्यवहार देखाउन थालेको छ । तपाईंको हकमा पनि त्यही भएको हो । तसर्थ तपाईंलाई मैले जे सल्लाह दिएको छु त्यही गर्नुहोस् । आदर्श प्रेमका नाममा आफूलाई डुबाउनु आफैंप्रति अन्याय गर्नु हो ।
तपाईंको प्रतिकृया