अन्तरवार्ता

गृहपृष्ठ » » अन्तरवार्ता » लेखहरु »

म वास्तविकतामा त्यस्तो छैन

साँच्चै भन्नुपर्दा २९ वर्षका रोज राणाबाट धेरै जना हच्किन्छन्। निखिल उप्रेतीलाई धम्म्याउने, विराज भट्टसँग निहुँ खोज्ने,  विश्वज्योति हलका मालिकलाई थर्काउने, स्क्रिप्ट पढ्न माग्दैमा आर्यन सिग्देललाई चलचित्रबाट निकाल्ने, पूर्वप्रधानमन्त्री लोके न्द्रबहादुर चन्दका पुत्र नायक भूपेन चन्दलाई फोनबाट धम्की दिने जस्ता उनका क्रियाकलापले रोज राणालाई चलचित्र क्षेत्रको  'डन'का रूपमा चिनाइरहको छ। डान्सबार सञ्चालन गर्दा मानव बेचबिखेन तथा ओसार-पसार गर्ने काम गरेको भन्ने आरोप लागेपछि आत्मसमर्पण गरेका उनलाई केही समय नख्खुको जेलमा पुर्पक्षका लागि थुनामा राखियो। आफूले निर्माण गरेका ६  मध्ये २ चलचित्रमा नायक भएका रोज आफ्नो 'डरलाग्दो' छवि तथा विवादका बारेमा साप्ताहिकसँग खुलस्त प्रस्तुत भए।  राणासँग साप्ताहिकका सुव्रत आचार्यले गरेको वार्तालापः

सरोज थापालाई रोज राणा कसले बनायो ?

परिस्थितिले।

कस्तो परिस्थिति ?

राजनैतिक परिस्थितिको सिकार भएँ भन्न सक्नुहुन्छ। त्यही कारणले मैले आफ्नो नाम र थर नै बदल्नुपर्‍यो।

अलिक बुझाएर भन्नुहोस् न ?

मेरो पुख्र्यौली थलो प्युठान जिल्लामा पर्छ। मेरा बुवा खड्गबहादुर थापा शिक्षक हुनुहुन्थ्यो। जतिबेला माओवादी जनयुद्ध उत्कर्षमा थियो, त्यतिबेला एसएलसीपछिको अध्ययनका लागि म काठमाडौं आइसकेको थिएँ। काठमाडौं आउँदा कि चलचित्रको  नायक कि प्रहरी इन्स्पेक्टर हुन्छु भन्ने लक्ष्य थियो। आरआर कलेजबाट प्रमाणपत्र तह उत्तीर्ण गरी स्नातक भर्ना भएपछि दसैंका  बेला म गाउँ गएँ। मेरो स्वभाव रूखो भएकाले मलाई बुवाले सानैदेखि 'चे' भन्नुहुन्थ्यो। पहिले त बुझ्दिनथेँ, पछि थाहा भयो  क्युबाका विद्रोही नेता चे ग्वेभारा भन्न खोज्नुभएको रहेछ। गाउँमा रुटमा चल्ने गाडीको भाडाको विषयमा विवाद भैरहेको रहे छ। संकटकालको बेला थियो। विवादमा म पनि संलग्न भए र झडप भयो। एक जना यातायातकर्मी घाइते भए र प्रहरीले  हामीलाई समात्यो। गाउँलेहरूको रोहबर र बयानमा त्यो केस सल्टियो। परीक्षा नजिक आएकाले म काठमाडौंमा फर्किएँ।  काठमाडौं फर्किएको चार-पाँच दिनमै मलाई घरबाट फोन आयो। घरमा माओवादी कार्यकर्ताहरू आएका र मेरो खोजी  गरिएको बताइयो।

गाडीको भाडा विवादको कारणले गर्दा हो ?

होइन, त्यो कुरा त त्यत्तिकै सेलाइसकेको थियो। नयाँ कुरा पो सुनियो त। खासमा प्युठानको भित्रीकोटमा नेपाली सेनाले अप्रेसन  गरेर माओवादीका केही जिल्ला स्तरीय नेतालाई मारेका रहेछन्। माओवादीहरूले म नेपाली सेनाको लप्टन (लेफ्टिनेन्ट) भएको  बताएछन्। मेरै नेतृत्व वा योजनाअनुरूप त्यो अप्रेसन गरिएको आरोप लगाइएको रहेछ। भेटेदेखि मलाई मार्ने धम्की पनि आयो।  मलाई काठमाडौं बस्न पनि खतरा महसुस भयो। मेरा एक जना भिनाजु म्यानपावर चलाउनुहुन्थ्यो। उहाँको सहयोगमा पर्यटक  भिसामा म कतार गएँ। कतार बसेको पुग-नपुग दुई महिना हुँदै थियो कि मेरो घर ब्लास्ट गरेर मेरो सम्पूर्ण परिवारलाई  जिल्ला निकाला गरियो भन्ने खबर सुने। त्यसपछि म त्यहाँ पनि बस्न सकिनँ, दुई महिनामै नेपाल फर्किएँ। यहाँ आएपछि  घटनाका बारेमा विस्तृत कुरा थाहा भयो। माओवादी कार्यकर्ता जो पहिले हाम्रो घरमा खाने-बस्ने गर्थे उनीहरूले घरका सबै लाई एकै ठाउँमा जम्मा पारेर घरसँगैको कुखुराको खोरमा बन्द गर्न लागेका बेला बुवाले विरोध गर्नुभएछ। तीमध्ये एक जना  जो बुवाको पढाएको चेला रहेछ। उसले 'माथिबाट तपाईंहरू सबैलाई सुट गर्ने अर्डर छ, तर म तपाईंकै चेला भएका कारणले  सकिनँ, नबोल्नुहोला र हामी जे भन्छौ चुपचाप मान्नुहोला' भनेपछि उनीहरूले दाइको चार महिनाको छोरासमेतलाई कुखुराको  खोरमा थुनेछन् र सम्पूर्ण सामान झिकेर घरमा ब्लास्ट गरेछन्। त्यसपछि बुवाहरू छिमेकीहरूले गरेको नगद सहयोगमा खाली  खुट्टा काठमाडौं पुग्नुभएछ।

त्यसपछि के भयो ?

म कतारबाट नेपाल त फर्किएँ, तर यहाँ पनि बस्न सक्ने वातावरण थिएन। ज्यानकै खतरा थियो, त्यसैले तीन दिन बसेर  लुक्नका लागि भारतको गोवा गएँ। गोवाको लाइफ देखेपछि मलाई त्यहाँको जस्तै कुनै व्यवसाय गरौं भन्ने भावना जाग्यो। मैले  रेस्टुराँ चलाउने निधो गरेँ र घरमा फोन गरेँ।  घरबाट स्थिति साम्य छ, आइज भनेपछि म घर आएँ। घरबाट पैसा लिएर  काठमाडौं आएँ र चाबहिलमा 'सप्तकोसी दोहोरी साँझ' सञ्चालन गरेँ।  त्यतिबेला म दिदीको घरमा बस्थेँ। मेरो भिनाजु राणा  भएकाले त्यसपछि आफूलाई दिदीको भाइ नभएर भिनाजुको भाइ भनेर चिनाउन नामअगाडिको 'स' मेटाएर रोज भएँ र  भिनाजुको 'राणा' थरको सहारा लिएँअनि त्यही नाम र थरबाट रेस्टुराँ व्यवसाय चलाउन थालेँ।

उसो भए अहिले सबैलाई थर्काउने रोज राणालाई पनि ज्यानको डर भएछ ?

हो नि, मर्ने डर कसलाई हुँदैन? मेरो आफ्नो भन्दा पनि मलाई केही भयो भने परिवारलाई पर्ने पीडाको डर थियो। किनभने म  परिवारकै प्यारो थिएँ। त्यसैले ज्यानमै खतरा भएपछि मैले आफूलाई नयाँ रूपमा परिवर्तन गरेँ।

अब त स्थिति सुध्रिसकेको छ, फेरि सरोज थापा भनेर किन आफ्नो परिचय दिनुहुन्न ?

मलाई चिन्ने प्रायः सबैलाई मेरो वास्तविक परिचय थाहा छ। रोज राणा नाम एउटा ब्रान्ड बनिसकेको छ। अनि यो नाम मलाई  फापेजस्तो पनि लाग्छ।

एउटा परिचय भन्न छुटाउनुभयो नि,... 'डन’ ?

त्यो मेरो परिचय नै होइन। चाबहिलको रेस्टुराँ छाडेर मैले ठमेलमा एउटा डान्सबार 'शो गर्ल' सञ्चालन गरे। डान्सबारमा  सुरक्षाका लागि केही 'बाउन्सर' नियुक्त गरिएका थिए। हट्टाकट्टा ती बाउन्सर मेरा स्टाफ थिए र कहिलेकाहीँ काम विशेषले कतै  जाँदा मसँगै देखिन्थे। यसो दुई तीनजना बडीगार्डसँगै हिंडेको देख्दा मानिसहरूमा म कतै 'डन' त भइनँ भन्ने भ्रम परेको मात्र  हो। ग्राहकको मनोरञ्जनका लागि रेस्टुराँ चलाउँथे र अहिले चलचित्र बनाउँछु। बस त्यति हो। 

अनि विश्वज्योति हलको बखेडाचाहिँ के थियो त ?

त्यो बखेडा विश्वज्योति हलमा भन्दा पनि निर्माता संघमा भएको थियो। जब मेरो चलचित्र 'दादागिरी' चारहप्ता चलिसकेको  बेला वितरक सुनिल मानन्धरले अर्को हप्ता चलाउन 'होल्ड ओभर' अर्थात् तोकिएको कमाई पुग्दैन, चलचित्र उतार्नुपर्छ भने पछि विश्वज्योतिका सञ्चालक मोहन सर्राफजीले होल्ड ओभर नपुगे पनि चलचित्र चलाइरहने आश्वासन दिनुभयो र एक  हप्ता चलाइदिनुभयो। अर्को हप्ता नयाँ वर्ष थियो, राम्रोसँग कमाउने अवसर। मैले उहाँलाई एक हप्ता तपाईंले चलाइदिनु भयो,  अर्को हप्ता होल्ड ओभर नपुगे पनि म त्यो बराबरको पैसा दिएर चलाउन चाहन्छु भनेपछि उहाँले विवाद गरेर निर्माता संघका  तत्कालीन अध्यक्ष अशोक शर्माकहाँ निवेदन दिनुभयो। मलाई त्यहाँ बोलाइयो। सामान्य वादविवाद मात्र भयो। मेरो स्वभाव नै  त्यस्तो छ कि कतै ठगिन लागेको महसुस भयो भने विरोध गर्छु। मेरो त्यही स्वभावको असर थियो, त्यो घटना।

तपाईं आफूसँग काम गर्ने नायक तथा कलाकारहरूलाई धम्काइरहनुहुन्छ, किन होला ?

यदि म त्यस्तो भैदिएको भए मेरो पहिलो चलचित्रका लेखक मौनता श्रेष्ठ लगातार अहिलेसम्म मसँग काम गरिरहेका हुँदैनथें।  निर्देशक ऋषि न्यौपानेलाई पनि दोहोर्‍याइरहन्नथेँ होला। मेरा चलचित्रको वितरण लगातार रूपमा केदार पराजुलीले गरिरहँदैनथे  होला। क्यामेराम्यान कृष्ण श्रेष्ठ मेरा हरेक चलचित्रका क्यामेराम्यान हुँदैनथे होलान्। द्वन्द्व निर्देशक एनबी महर्जनसँग निरन्तर ट्युनिङ मिल्दैनथ्यो होला । विराज भट्ट जति बेलासम्म नेपालमा थिए उनले मसँग लगातार चारवटा चलचित्रमा काम गरे। मैले  धम्क्याउने वा थर्काउने काम गर्छु भन्ने मिथ्या हल्ला मात्र हो।

अनि निखिल उप्रेतीसँगको खटपट, आर्यन सिग्देललाई धम्काउनुचाहिँ के थियो त ?

सामान्य 'मिस अन्डरस्ट्याडिङ' थियो। निखिलजीले चलचित्रका लागि एडभान्स लिएर पनि पटक-पटक झुलाएपछि पैसा माग्ने  क्रममा विवाद भएको थियो। अनि 'दोस्ती' निर्माणका क्रममा आर्यन सिग्देलले स्क्रिप्ट माग्नुभयो। निर्देशकले दिन मान्नुभएन।  मैले आफूसँग भएको स्क्रिप्ट उहाँलाई दिएँ। पछि उहाँले उक्त चलचित्रमा काम गर्न मन छैन भनेपछि मैले साइनिङ एमाउण्ट  फिर्ता मागेको हो। यो कुराको प्रचार गलत रूपमा भयो।

हालसालै नायिका सौजन्य सुब्बाले तपाईंमाथि मुद्दा हालिन् र पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका नायक छोरा भूपेन  चन्दलाई फोनबाट ज्यान मार्ने धम्की दिनुभएछ, त्योचाहिँ ?

एउटी महिला कलाकारका रूपमा सौजन्य सुब्बालाई म निकै सम्मान गर्छु। उहाँ कुशल अभिनेत्री हुनुहुन्छ। उहाँले मेरो  ब्यानरमा मसँगै नायिका भएर दुईवटा चलचित्रमा काम पनि गर्नुभयो। कामका क्रममा हामीबीच राम्रो मित्रता थियो। मित्रताका  बीच एउटा मिस अन्डरस्ट्याडिङ भयो। उहाँले त्यति ठूलो कदम उठाउनुहुन्छ जस्तो लागेको थिएन। हामीबीचको विवाद मिल्ने  क्रममा त्यही कुरालाई लिएर भूपेनजीले मलाई फोन गरेर नानाभाँतिका कुरा गर्नुभयो। मैले रिसको झोकमा उहाँलाई धम्की  दिएँ। अनि उहाँ त हनुमान ढोकामा उजुरी पो गर्न पुग्नुभएछ। अहिले त्यो विवाद टुंगिसक्यो।

तपाईंको त काठमाडौंमा कहलिएका डनहरूसँग पनि राम्रै हिमचिम छ हैन ?

रेस्टुराँ व्यवसायका क्रममा ग्राहकका रूपमा अनेकन मानिस भेटियो। राम्रो चिनाजान भयो र अहिले पनि चिनाजानी राम्रै छ,  तर मैले कसैसँग कुनै व्यवसाय गरेको छैन। उहाँहरू के गर्नुहुन्छ ? भन्ने कुरामा त्यति चासो पनि राख्दिनँ। 

रेस्टुराँबाट निकै कमाउनुभएछ, ४०-५० लाख खर्च गरेर चलचित्र पनि निर्माण गर्नुभयो ?

होइन, मलाई पनि १२-१५ लाखमा चलचित्र बन्छ भन्ने बताइयो। त्यही क्रममा मेरी ठूली मम्मीका छोरा विराट केसीले मलाई  चलचित्र निर्देशक ऋषि न्यौपानेसँग चिनाजानी गराएपछि मैले उहाँकै निर्देशनमा पहिलो चलचित्र 'दादागिरी' बनाए। त्यो  चलचित्रले केही मुनाफा गर्‍यो। लगत्तै अर्को चलचित्र 'डन' निर्माण गरे। चलचित्र डनले पनि मलाई घाटा दिएन।

यहाँ चलचित्र बनाएर मात्र कमाउन सकिने अवस्था छ त ?

चलचित्र बनाउनु मेरो रहर हो र अहिले म चलचित्र बनाउने कला जानेको एउटा बाठो निर्माता भैसकेको छु। मलाई लगानी  कसरी उठाउनुपर्छ भन्ने थाहा छ र अहिलेसम्म कुनै पनि चलचित्रमा म घाटामा गएको छैन। 

तपाईंविरुद्ध त रेस्टुराँको आडमा मानव बेच बिखनको आरोप लाग्यो, जेलको हावा पनि खानुभयो  हैन ?

त्यो मुद्दा सुनियोजित थियो। जतिबेला मविरुद्ध मुद्दा लगाइयो, मैले पूर्ण रूपमा डान्स रेस्टुराँ छाडिसकेको थिएँ। त्यति बेला म  आफ्ना दुई चलचित्र 'टक्कर दुई मुटुको' र 'दोस्ती' को प्रदर्शनमा व्यस्त थिएँ। पहिले नवराज सिलवाल एसपी हुँदा पनि म  माथि आरोप लगाएर कस्टडीमा राखिँदा उहाँले रोज त्यत्तिकै मुछिएको हो भन्ने थाहा पाएर आरोपबाट मुक्त गर्नु भएको थियो।  त्यसपछि रमेश खरेल एसपी हुँदा मैले छाडेको रेस्टुराँमा रेड  हानिएछ। नर्तकीहरूलसमेतलाई पक्रेर लगिएछ। ती युवतीहरूलाई  एउटा कागज देखाएर 'यसमा सहीछाप गर, तिमीहरू छुटछौ' भनेर बताएपछि उनीहरूले छुटनका लागि सही छाप गरेछन्।  त्यसमा मानव वेचबिखेनको कुरा उल्लेख रहेछ। मेरो खोजी भैरहेको थाहा पाएर मैले आफै सरेन्डर गरे। साधारणतयाः २४ दिन  प्रहरी कस्टडीमा राख्न पाउने नियम हुँदाहुँदै मलाई २७ दिन कस्टडीमा राखियो। युवतीहरूबाट जबर्जस्ती सहिछाप गरिएको  कागजात अदालतमा पेस गरियो र ममाथि सुनियोजित रूपमा एउटा घिनलाग्दो मुद्दा लगाइयो। अदालतको आदेशमा मलाई  पुपक्षका लागि भनेर सेन्ट्रल जेल, भद्रगोल जेल हुँदै काठमाडौं जिल्लाका कुनै पनि जेलमा नराखेर जिल्ला नै परिवर्तन गरी  अन्ततः नख्खु जेल पठाइयो।

जेलमा कति बस्नुभयो ?

छ महिना दस दिन। त्यति बसेपछि अदालतले तीनवटै मुद्दामा मलाई  'क्लिन चिट' दिएर निर्दोष करार गर्‍यो, तर त्यो  अवधिमा मैले जे गुमाएँ र जुन पीडा भोगें त्यसको क्षतिपूर्ति कसैले गर्न सक्दैन।

मेरो परिवारका सबै जना प्युठानबाट कपिलवस्तुको चन्द्रौटा बसाइँ सरिसक्नुभएको अवस्था थियो। यता जेलमा तीन महिना  जति बस्दा मेरो बुवा विरामी भएर चाबहिलको मेडिकेयर अस्पतालमा भर्ना गरिएको थाहा पाएँ। बेलाबखत मात्र उहाँको  स्वास्थ्य स्थिति बुझ्न पाउँथे। तिहारको भोलीपल्ट मैले घरमा फोन गर्ने अवसर पाए। दिदीले फोन उठाउनुभयो र रुन  थाल्नुभयो।

उहाँले 'मुटु ठुलो पारेर सुन' भन्नुभयो। मलाई बुबा बिरामी हुनुभएकाले उहाँलाई केही भयो कि भन्ने डर लाग्यो तर सोच्दै  नसोचेको घटना घटेको रहेछ। मेरो ३२ वर्षीय दाइलाई गाडीले ठक्कर दिएर उहाँको निधन भएको रहेछ। म छाँगाबाट खसे जस्तो भएँ र बेहोस भएछु। बुवा अस्पतालमा हुनुभएकाले उहाँलाई थाहा दिइएको रहेनछ। बिरामी बुवाका दुई छोरामा कान्छो  जेलमा, जेठोको दुर्घटनामा निधन।

दाइलाई दागबत्ती दिने नजिकको नाता मै थिएँ। मैले जेलरसा'बसँग दाइलाई दागबत्ती दिने वातावरण मिलाइदिन अनुरोध गरेँ।  उनले तीन किलोमिटरभन्दा टाढा लान नमिल्ने बताए। जबकि मैले दाइलाई दागबत्ती दिन सयौं किलोमिटर टाढा कपिलवस्तु  पुग्नुपथ्र्यो। मैले दाइको अन्तिम दर्शन पनि गर्न पाइनँ। मैले निर्दोष हुँदा हुँदै जुन सजाय पाएँ, त्यो सजाय दोषी भएर पाएको  सजायभन्दा कैयौं गुना बढी थियो।

यत्तिको हन्डर र ठक्कर खाएको युवकको छविचाहिँ किन डरलाग्दो ?

मसँग पनि कोही डराउँछन् र ? न त मैले कसैको अपहरण गरेको छु, न हत्या। त्यस्तो नीच काम गर्न पनि सक्दिनँ। मेरो छवि  डरलाग्दो भनेर चित्रण गरिएको भएर होला।

तैपनि चलचित्र क्षेत्रमा तपाइको नामको हौवा सुनिन्छ ?

म गलत कुराको विरोध गर्छु। हक्की भएर आफूलाई लागेको कुरा व्यक्त गर्छु र कार्यान्वयन गर्न दबाब दिन्छु। दबाबका क्रममा  वादविवाद हुनु स्वाभाविक हो। विवाद भएपछि आफ्नो विरुद्धमा लाग्नेहरूलाई धम्क्याउनु पनि पर्दो रहेछ, नत्र यहाँ काम गर्न  सहज छैन। मेरो हक्की स्वभावले गर्दा मेरो नामको हौवा फिँजाइएको छ। मलाई नजिकबाट चिन्नेहरूलाई थाहा छ कि म  वास्तविकतामा त्यस्तो छैन।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :