भरियादेखि आरोहीसम्म
मिङ्मा शेर्पाले संसारका चौधवटा हिमशिखर चुमौला भनेर कहिल्यै सोचेका थिएनन्। सोचून् पनि कसरी ? संखुवासभाको चौंरीगोठमा जन्मिएका, चौंरी, भेडा, बाख्रा चराउँदै किशोरवय बिताएका मिङ्माको मनमा त्यस्तो विचार आउने कुरै भएन। यद्यपि समय, रुचि र लगावले गर्दा उनी संसारका ८ हजार मिटरभन्दा माथिका १४ वटा चुचुरा चुम्न सफल भए।
मिङ्मा मकालु हिमालको काखमा हुर्किए। उनको १५ वर्षको स्वणिर्म समय मकालुमा बित्यो। कक्षा ५ सम्मको पढाई सिन्केश्वर प्राविबाट पूरा गरे उनले। घरबाट आउन जान २ घण्टा लाग्थ्यो। बीचैमा राजधानी प्रवेश गरेपछि मिङ्माको थप अध्ययन भने अघि बढेन। बरु उनको जीवनले नयाँ मोड लियो। जे काम भने पनि हुरुक्क हुन्थे, उनी। मिङ्मा त्यो बेला महाराजगन्जमा सानिमासँग डेरामा बस्थे। सानै कामलाई पनि सम्मान गर्ने स्वभावका मिङ्माले ज्यामी काम गरे। केही पछि उनको दिनचर्या फेरियो। ज्यामीबाट उनी भरिया बने।
पर्यटकहरूसँगै मिङ्मा उपल्लो मुस्ताङ आउजाउ गर्न थाले। ट्रेकिङ एजेन्सीले २५ दिनको प्याकेज बनाउँथे। मिङ्मा भरियाका रूपमा उक्त यात्रामा हुन्थे। काठमाडौंदेखि बाग्लुङसम्म गाडीमा र त्यसपछि मुस्ताङ पुग्न ९ दिन हिंड्नुपथ्र्यो। गहु्रंगो भारी बो केर बाटो लाग्दा जाडोले थुरथुर मुटु कमाउँथ्यो। पर्यटकहरूले भनेकै समयमा पुग्नुपर्ने अर्को चुनौती हुन्थ्यो। तैपनि मिङ्माले तीन वर्षसम्म यही कामलाई निरन्तरता दिए। उनी भारी बोकेबापत दिनको ९० रुपैयाँ कमाउँथे। खाने, बस्ने खर्च कटाएर ५-६ सय रुपैयाँ बच्थ्यो। पर्यटकहरूको भारी बोक्दै मुस्ताङपछि मनाङ, रसुवा, लाङटाङ, सोलुखुम्बु आदि थुप्रै ठाउँ पुगे, मिङमा। त्यसबाट पेट पाल्ने काम मात्र हुन्थ्यो, खासै पैसा बच्दैनथ्यो।
मिङ्मालाई जीवनमा नयाँपन ल्याउन मन लाग्यो। उनी बिस्तारै हिमाल आरोहण गर्नतिर लागे। पहिलो पटक उनले अन्नपूर्ण श्रृंखलामा पर्ने टेन पिक (५ हजार ५ सय मिटर) को आरोहण गरे। 'एकदमै खुसी लाग्यो।' उनले १६ वर्षअघिको त्यो क्षण सम्झिए, 'विदेशीहरूले पनि उत्साह थपे।' सुरुवातमा मिङ्मालाई काका क्रिकेन शेर्पाले सघाए। त्यसपछि उनमा आँट थपियो। सन् २००० मा मनास्लु चढन् सफल भएपछि त ८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने कुतकुती लाग्न थाल्यो। नभन्दै उनले संसारका १४ वटा हिमाल आरोहण गरेरै छाडे। ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढ्ने दक्षिण एसिया र ने पालकै पहिलो व्यक्ति हुन्, मिङमा। 'देशलाई चिनाउने काम गर्न पाउँदा गर्वको महसुस हुन्छ,' मिङ्माले बताए। उनले आरोहण गरेकामध्ये आठवटा नेपालमा, पाँचवटा पाकिस्तानमा र एउटा हिमाल तिब्बतमा छ।
हिमाल आरोहण गर्नु त्यति सजिलो काम भने होइन। बाटो बनाउने, डोरी टाँग्ने र सरसामानको बन्दोबस्त गर्दै चुुचुरातिर लम्कनु कम चुनौतिपूर्ण हुँदैन। 'प्रत्येक पाइलामा पाइलामा मृत्युसँग जुझ्नुपर्छ।' मिङ्माले सुनाए, 'चुचुरोमा पुग्दा भने बेग्लै संसारमा पुगेजस्तो महसुस हुन्छ।' कुनै-कुनै सजिलो मानिने हिमाल आरोहण गर्दा मानिसले ज्यान गुमाउँछन्। कुनै गाह्रो मानिनेमा सजिलै आरोहण गर्न सकिने अनुभव मिङ्माको छ, 'हिमाल चढ्न कत्तिको गाह्रो हुन्छ भन्ने कुरा कुहिरो, हुरी, बतास र हिउँ पहिरोले कत्तिको अवरोध गर्छ भन्ने कुरामा भर पर्छ।' उनलाई सबैभन्दा गाह्रो चाहिँ पाकिस्तानको केटु चढ्न भएछ। केटुमा छिनछिनमा मौसम फेरिइरहने, र अप्ठ्यारो बाटो रहेछ। 'केटु एकदम घमन्डी छ।' उनले भने, 'सुन्दर पनि उत्तिकै।' सगरमाथामा भने प्रशस्त म्यानपावर भएकाले तुलनात्मक रूपमा कम दुर्घटना हुन्छन्। आपत पर्दा सहयोगीहरूको कमी हुदैन।
मिङमा इखले हिमाल चढ्न कस्सिए। नेपालमा हिमाल आरोहण गर्ने विदेशी पर्यटकहरूको इतिहास ६०-७० वर्ष पुरानो छ। यद्यपि अधिकांश विदेशीले नेपालीहरू भरिया मात्र हुन् भनेको उनलाई पटक्कै मन परेन। 'हामी आरोही पनि हौ भन्ने देखाउन चाहन्थें।' उनले सुनाए, 'देशको इज्जत र ईख दुवैले गर्दा आरोहणमा लागें।' भरिया हुँदै मिङ्मा यतिबेला माउन्टेन गेयर ट्रेकिङ एजेन्सीको मालिक बनेका छन्। विगत दुई वर्षअघि सुरु गरेको एजेन्सीमा उनले थुप्रैलाई रोजगारी दिएका छन्। आफूले सिकेका सीप, ज्ञानलाई उनी आफ्नै देशमा खर्चिन चाहन्छन्। मिङ्मा नेपालका हिमाल एवं पर्वतारोहीहरूका बारेमा कोर्सको किताबमा पढ्न पाउनुपर्ने कुरामा जोड दिन्छन्- 'जसले गर्दा आफ्नो देश चिन्न धेरै सहयोग पुग्नेछ।'
प्रेरणाको स्रोतः आमा, बुबा
अविस्मरणीय क्षणः कञ्चनजंघा आरोहण
ग्याजेटः आइफोन, आइम्याक
पहिरनः द याक एन्ड माउन्टेन ब्रान्ड
मनपर्ने परिकारः दालभात तरकारी
मन परेको देशः नेपाल
घुम्न मन लागेको देशः जापान
लक्ष्यः पर्यटन क्षेत्रमा अझ राम्रो काम गर्ने
तपाईंको प्रतिकृया