फ्रन्टपेज

गृहपृष्ठ » » फ्रन्टपेज » लेखहरु »

हँसाउने महिलाहरू

अहिले मौसम महोत्सवको छ। लोडसेडिङका कारण टेलिभिजनका दर्शक घटेपछि सर्वसाधारणहरू आफ्नै गाउँघरमा आयोजना  हुने महोत्सवमा रमाइलो गरिरहेका छन्। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका गाउँ-सहरमा भैरहेका महोत्सवमा गीत -संगीत र नृत्य त हुन्छ नै, साथमा हुन्छ हास्यव्यंग्य ! त्यस्ता हास्यव्यंग्य कार्यक्रममा रमाइला प्रहसन गर्नेहरू हुन्छन् टे लिभिजनका लोकप्रिय हास्यश्रृंखलाका हास्यकलाकारहरू। पुरुष हास्यकलाकार त छँदैछन्, महोत्सवहरूमा अहिले महिला  हास्यकलाकारको क्रेज अचम्म लाग्ने गरी बढेको छ।

वास्तवमा नेपालमा नेपाल टेलिभिजनको स्थापना हुनुभन्दा अघिदेखि नै हास्यकलाकारहरू लोकप्रिय भैसकेका थिए। खासगरी  नेपाली चलचित्र तथा रंगमञ्चका कार्यक्रममार्फत मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गोपालराज मैनाली, सन्तोष पन्त,  राजाराम पौडेल, किरण केसी, बसुन्धरा भुसाल, लक्ष्मी गिरी आदि जमिसकेका थिए। नेपाल टेलिभिजनको स्थापनासँगै  दीपकराज गिरी, जितु नेपाल, दमन रूपाखेती, गोपाल नेपाल फिस्टे, शिवहरि पौडेल, निर्मल शर्माजस्ता पुरुष हास्यकलाकार  पनि लोकप्रिय भए। टेलिभिजन च्यानलबाट हास्यश्रृंखला प्रसारण हुनुअघि महिला हास्यकलाकारका रूपमा बसुन्धरा भुसाल मात्र  स्थापित थिइन् भन्दा फरक पर्दैन। खासगरी गोपालराज मैनालीसँगको उनको जोडी दर्शकले अत्यन्त रुचाएका थिए। चलचित्र ' सिन्दूर' मा बसुन्धरा भुसालले गोपालराज मैनालीसँग बनाएको जोडी पुराना दर्शकले अझै बिर्सिएका छैनन्।

चलचित्र र रंगमञ्चपछि टेलिभिजनमा हास्यश्रृंखला प्रसारण हुन थालेपछि यो विधामा महिला कलाकारहरू पनि थपिन थाले  भने महिला हास्यकलाकारले पुरुष हास्यकलाकारजत्तिकै लोकप्रियता हासिल गर्न थाले। फलस्वरूप सांस्कृतिक कार्यक्रम, गाईजात्रे कार्यक्रम तथा महोत्सवहरूमा महिला हास्यकलाकारको समेत माग बढ्न थालेको छ। आज यस्तो अवस्था सिर्जना भएको  छ कि कुनै पनि हास्यटेलिश्रृंखला तथा महोत्सव महिला हास्यकलाकारबिना सम्भव छैन। महिला हास्यकलाकारहरू स्वदेशका  कार्यक्रममा मात्र सीमित छैनन्, केही कलाकार विदेशसम्म पुगेर दर्शकहरूलाई हँसाइरहेका छन्।

पछिल्लो समय स्टेज कार्यक्रमको सहभागिता तथा टेलिभिजनबाट प्रसारण भएका हास्यश्रृंखलालाई आधार मान्ने हो भने  दीपाश्री निरौला, कुञ्जना घिमिरे, सविता गुरुङ, अन्जु महर्जन तथा पल्पसा डंगोल अहिले सबैभन्दा बिकाउ महिला  हास्यकलाकारका रूपमा स्थापित छन्। उनीहरू नै अहिलेका व्यस्त र लोकप्रिय महिला हास्य कलाकार हुन्।

विगतमा चलचित्रमा नायिका बन्ने लक्ष्य लिएर अभिनय क्षेत्रमा आएकी दीपाश्री निरौलालाई दीपकराज गिरीको निर्देशनमा  तयार भएको हास्यश्रृंखला 'तीतो-सत्य' ले 'स्टार' बनाएको कसैबाट लुकेको छैन। 'म चलचित्रमा नायिका मात्रै बन्छु भनेर  बसेकी भए यतिबेला पलायन भैसक्ने थिएँ,' एउटा जिज्ञासामा दीपाश्री भन्छिन्— 'नायिकाले बैंस छउन्जेलमात्र काम पाउँछिन्।  नायिकाको आयु बढीमा ५ वर्ष हो। नायिकाका रूपमा मात्र काम गर्छु भनेर बसेको भए म यतिबेला कि विदेश पलायन भएकी  हुन्थेँ कि त असल गृहिणीका रूपमा कसैको घर-परिवार सजाएर बसेकी हुन्थेँ।' दीपाश्रीले हास्यकलाकारिता रोजेर बेलैमा बुद्धि  पुर्‍याएकोमा आफैंलाई धन्यवाद मात्र दिइनन्, जीवन रहुन्जेल यही पेसामा रमाउन पाइने निश्चिततासमेत व्यक्त गरिन्। विगत  १० वर्षदेखि लोकप्रियताको शिखरमा रहन सफल तीतो-सत्यका कारण दीपाश्रीले देश-विदेशको भ्रमणमात्र गरेकी छैनन्,  काठमाडौंमा एउटा स्तरीय जीवनसमेत बिताइरहेकी छिन्। अधिकांश महोत्सव तथा सांस्कृतिक कार्यक्रममा दीपाश्रीको  उपस्थिति अनिवार्यझैं बनेको छ। स्ट्यान्डप कमेडी अर्थात् रंगमञ्चका कार्यक्रममा पनि दीपाश्री अब्बल मानिन्छिन्। दीपाश्री  भन्छिन्- 'म रंगमञ्चबाटै कलाकारिता क्षेत्रमा आएकाले अहिले पनि टेलिभिजन कार्यक्रममा भन्दा रंगमञ्चमै बढी रमाउँछु।'

'मेरी बास्सै' श्रृंखलाका निर्देशक सीताराम कट्टेल अर्थात धुर्मुससँग विवाह गर्नुअघि नै कुञ्जना घिमिरे अर्थात् सुन्तलीले लाखौं  दर्शकको मन जितिसकेकी थिइन्। स्कुले जीवनमा आकर्षक नृत्य गरेर धेरैको मन जितेकी कुञ्जनाले एसएलसी दिने बेलासम्म  नेपालको नम्बर एक नायिका बन्ने लक्ष्य लिएकी थिइन्। 'जसरी भए पनि नायिका नै बन्छु भन्ने निर्णय गरेकी थिएँ,' कुञ्जना  भन्छिन्— 'तर मेरो कर्म हास्यकलाकारितामा रहेछ। आज हास्यकलाकारका रूपमा लोकप्रिय हुन पाउँदा मेरा सबै सपना पूरा  भएका छन्।' देशका विभिन्न स्थानमा आयोजना हुने महोत्सवमा धुर्मुस र सुन्तली पहिलो रोजाइमा पर्छन्। 'धुर्मुसलाई बो लाउनेले सुन्तलीलाई छुटाउने कुरै आउँदैन नि,' श्रीमान्को साथ र सहयोगको एक प्रसंगमा सुन्तलीले भनिन्— 'विवाह गरेपछि  महिला कलाकारको माग घट्छ भन्थे, तर म त विवाहपछि अझ लोकप्रिय भएकी छु।'

प्रहरी निरीक्षकबाट एक महिनाअघि मात्र रिटायर्ड भएकी सविता गुरुङ करिब तीन दशकअघि पोखराको डाँफे कला मन्दिरले  पोखरामै आयोजना गरेको एउटा नाटकमा अभिनय नगरेको भए आज हास्यकलाकारका रूपमा चिनिने कुरामा आशंका व्यक्त  गर्छिन्। 'नाटकमा अभिनय गर्दै अघि नबढेको भए म त प्रहरी सेवामा मात्र हुन्थें,' सविता भन्छिन्— 'हास्य कलाकारिताले मेरो  जीवनको गति नै परिवर्तन गरिदिएको छ।' जितु नेपाल र शिवहरि पौडेललाई विशेष धन्यवाद दिँदै सविताले हास्यश्रृंखला 'जीरे -खुर्सानी' मार्फत बनेको आफ्नो क्रेज जीवनकै सबैभन्दा ठूलो उपलब्धि भएको बताइन्। 'म एयरपोर्टको ड्युटीमा भएका बेला  मह (मदनकृष्ण-हरिवंश) जोडी अमेरिकाको भ्रमणमा गएको देखेकी थिएँ। त्यतिबेला म स-साना भूमिका निर्वाह गर्ने सामान्य  कलाकार थिएँ। महजोडीसँग कहिले सँगै अभिनय गर्न पाइएला भन्ने सोच्थेँ, सविताले विगत खोतल्दै भनिन्— 'सन्तोष पन्त  दाइको 'मितबा' मा मेरो अभिनय हेरेपछि महदाइले टेलिश्रृंखला 'लालपुर्जा' मा अभिनय गर्न बोलाउनुभयो। उहाँहरूको त्यो  निमन्त्रणा र उहाँहरूसँगै लालपुर्जामा गरेको अभिनय म जीवनभर बिर्सन सक्दिनँ।'

पल्पसा डंगोल सानैदेखि नृत्यमा पारंगत थिइन्। काठमाडौंनजिकैको किर्तिपुरमा हुर्किएकी पल्पसा भविष्यमा कुशल नृत्यांगना  बनेर आफ्नो नाम राख्ने सपना देख्थिन्। उनको नृत्य हेरेर आहा ! नभन्ने कमै हुन्थे। त्यही क्रममा उनलाई सन् १९९५ मा  आयोजना हुन लागेको दोस्रो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाउन मन लाग्यो। उनले कीर्तिपुरबाट काठमाडौं आएर  मिस नेपालका लागि आवेदन दिइन्। त्यतिबेला सयभन्दा बढी युवतीले आवदेन दिएका थिए। पल्पसा भन्छिन्— 'अन्तर्वार्ता  भएको भोलिपल्ट 'तिमी मिस नेपाल प्रतियोगिताका लागि छनौट भयौ' भन्ने खबर पाएको दिन म अहिले पनि बिर्सन सक्दिनँ।'  मिस नेपालको सहभागितालाई नै ऐतिहासिक उपलब्धि मानिरहेका बेला पल्पसाले उक्त प्रतियोगितामा मिस बेस्ट डे्रसको  उपाधिसमेत जितिन्। उनले लगाएको नेवारी पहिरन उत्कृष्ट भएको थियो। 'त्यसपछि मेरो जीवनले नयाँ गति लियो, म नृत्यबाट अभिनयतर्फ आकषिर्त भएँ,' पल्पसा भन्छिन्— 'अहिले चम्सुरी (मेरी बास्सैमा उनी धुर्मुसकी सासूका रूपमा लोकप्रिय  छिन्) का रूपमा लोकप्रिय भएको देख्दा कहिलकाहीं आफैंलाई आफूप्रति विश्वास लाग्दैन।' स्टेज कार्यक्रममा समेत पल्पसाको  प्रस्तुति निकै जम्ने दर्शकहरूको प्रतिक्रिया छ। पछिल्लो समय उनले अर्की हास्यकलाकार अञ्जु महर्जन (हात्ती) सँग जोडी  बनाएर महोत्सवमार्फत दर्शकहरूलाई हँसाइरहेकी छिन्।

महिलाहरू प्रायः स्लिम शरीर मन पराउँछन्। अञ्जु महर्जनका लागि भने मोटो शरीर नै फलदायी सावित भएको छ। उनी मो टो शरीरकै कारण कला क्षेत्रमा 'मोटी' तथा 'हात्ती' को उपनामले चर्चित छिन्। 'जीरे खुर्सानी' श्रृंखलाले उनलाई लोकप्रिय  बनाएको छ। स्टेज कार्यक्रममा पनि उनी उत्तिकै जम्छिन्। पल्पसा डंगोलसँगको अञ्जुको जोडी अहिले चर्चामा छ। 'नाम, दाम,  लोकप्रियता सबै कुरा यही हास्य कलाकारिताले दिएको छ,' अञ्जु भन्छिन्— 'हास्यकलाकारले पनि यत्तिको इज्जत पाउँछन्  भन्ने कुरा मैले विगतमा कल्पनासमेत गरेको थिइन्।'

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

कृष्ण भट्टराईद्वारा अन्य प्रकाशित लेखहरू

अब पालो नया“को ...
| अंकहरु: 15-37

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :