हिट्स म्युजिक एवार्डको मनोनयन
१६ औं हिट्स एफएम म्युजिक एवार्डको मनोनयनमा गायक जेम्स प्रधान तथा दीपक घिमिरे सर्वाधिक ६-६ विधामा मनोनीत भएका छन् भने गीतकार योगेन्द्रमणि दाहालको गीतिसंग्रह 'यात्रा-२' सर्वाधिक ५ विधामा मनोनीत भएको छ। आइतबार काठमाडौं सार्वजनिक गरिएको मनोनयनमा हिट्स एफएम म्युजिक एवार्ड २०६९ का लागि गायक घिमिरे आफ्नो पहिलो एल्बम 'पोइज' को 'म तिमीबिना...' गीतका लागि सर्वोत्कृष्ट गीत, रक गायन, नव प्रतिभाबाट मनोनयनमा परेका हुन्। यसबाहेक उनी सर्वोत्कृष्ट एल्बम, पप/रक एल्बम तथा ' तिमीलाई देखेदेखि...' गीतका लागि सर्वोत्कृष्ट पप गायकको विधामा पनि मनोनीत भएका छन्।
वर्ष २०६८ को वैशाखदेखि चैत मसान्तभित्र हिट्स एफएममा दर्ता भएका गीत तथा एल्बमका आधारमा १९ विधाको यो मनोनयन यसै साता सार्वजनिक गरिएको हो। उत्कृष्ट ५ को मनोनयनमा गायक जेम्स प्रधान आफ्नो पछिल्लो एल्बम 'आवाज' का लागि ६ विधामै मनोनीत छन्। उनी सर्वोत्कृष्ट एल्बम, पप/रक एल्बम, रक गायक, पप गायक, रक संगीत सिर्जना तथा पप संगीत सिर्जना विधामा मनोनीत भएका हुन्।
गायक दीप श्रेष्ठ, गीतकार योगेन्द्रमणि दाहाल तथा संगीतकार राजु सिंहको गीति संग्रह 'यात्रा-२' एवार्डका विभिन्न पाँच विधामा मनोनीत भएको छ। उक्त एल्बमका गायक श्रेष्ठ सर्वोत्कृष्ट गीत (बादलहरू हो) तथा एकल गायन पुरुषको विधामा मनोनीत छन् भने योगेन्द्रमणि दाहाल सर्वोत्कृष्ट रचनाकारका लागि मनोनीत छन्। संगीतकार राजु सिंह पनि यही एल्बमका लागि सर्वोत्कृष्ट संगीत सिर्जनाको विधामा मनोनीत छन्। गोपाल रसाइली पनि बादलहरू हो गीतका लागि सर्वोत्कृष्ट संगीत संयोजनको विधामा मनोनीत छन्।
गायक राजेश पायल राई र एडि्रन प्रधान ४-४ विधामा मनोनीत छन्। राजेशपायल राई सर्वोत्कृष्ट लोक गीत, सर्वोत्कृष्ट लोक गीति संग्रह (जदौ ३), सर्वोत्कृष्ट पुरुष एकल गायन तथा सर्वोत्कृष्ट यूगल गायन (अन्जु पन्तसँगै) विधामा मनोनीत छन्। एडि्रन सर्वोत्कृष्ट पुरुष गायन पप, सर्वोत्कृष्ट पप/रक गीति संग्रह (साथ), सर्वोत्कृष्ट गीति संग्रह तथा सर्वोत्कृष्ट गीत विधामा मनोनीत छन्।
गायिका रीमा गुरुङ होडा, संगीतकार न्ह्यू बज्राचार्य, एल्बर्ट गुरुङ, गायक नवक्रान्ती, गायिका डिकी युक्याव तथा सांगीतिक समूह फ्रेडरिक एन द एचटुओ तीन-तीन विधामा मनोनीत छन्। रीमा सर्वोत्कृष्ट युगल गायन (सोनम बज्यू तामाङसँगै), सर्वोत्कृष्ट एकल गायन महिला तथा सर्वोत्कृष्ट गीति संग्रह (समय र संगीत) विधामा मनोनीत छिन्। संगीतकार बज्राचार्यका दुई गीत सर्वोत्कृष्ट पप संगीत सिर्जना विधामा मनोनीत छन् भने उनी सर्वोत्कृष्ट संगीत सिर्जना विधामा पनि मनोनीत छन्। संगीतकार एल्बर्ट गुरुङ सर्वोत्कृष्ट पप संगीत सिर्जना, सर्वोत्कृष्ट संगीत संयोजन तथा सर्वोत्कृष्ट संगीत सिर्जना विधामा मनोनीत छन्। नवक्रान्ति सर्वोत्कृष्ट नव प्रतिभा, सर्वोत्कृष्ट समुह गायन तथा सर्वोत्कृष्ट रक गायन विधामा मनोनीत छन्। डिकी युक्याव भने नवप्रतिभा, सर्वोत्कृष्ट महिला गायन पप तथा रक/पप गीति संग्रह (सिल्भर लाइनिङ) विधामा मनोनीत छिन्। फ्रेडरिक एन द एचटुओ समूह नवप्रतिभा, समूह गायन तथा रक संगीत सिर्जना विधामा मनोनीत छ।
सर्वोत्कृष्ट गीतको विधामा गायक दीप श्रेष्ठको बादलहरू हो, एडि्रन प्रधानको नसम्झ, दीपक घिमिरेको म तिमीबिना, नरेन्द्र प्यासीको एकै पल पनि तथा निशा देसारको बसिरहूँ भन्छु तिमीसँगै मनोनीत छन्। सर्वोत्कृष्ट गीति संग्रहका लागि एडि्रयन, जेम्स, रीमा र दीपकसँगै दिपे शकिशोर भट्टराई (देन) पनि मनोनीत छन्। पप-रक संग्रहको विधामा एडि्रयन, दीपक, डिकी, जेम्ससँगै दिपेशकिशोर (देन) पनि मनोनीत छन्। एकल गायन पुरुषको विधामा दीप श्रेष्ठ (बादलहरू), दीपक खरेल, नरेन्द्र प्यासी, राजेशपायल राई तथा शिव परियारबीच प्रतिस्पर्धा हुँदैछ भने एकल महिला गायनका लागि लोचन भट्टराई, निशा देसार, रजिना रिमाल, रिमा गुरुङ होडा तथा संगिता राना प्रधानबीच प्रतिस्पर्धा हुँदैछ।
सर्वोत्कृष्ट चलचित्र गीतका लागि भक्तराज आचार्य, सचिन सिंह, शिखर सन्तोष, मनोज सिंह मनोनीत छन् भने महिला पपगायनतर्फ सिने गुरुङ, डिकी, सिमा संग्रौला, शशि रावल तथा श्रेया सोताङ मनोनीत छन्। पुरुष पपगायनतर्फ एडि्रयन, जेम्स तथा दीपकसँगै निमा रुम्बा र योगेश्वर अमात्य मनोनीत छन्।
तपाईंको प्रतिकृया