पोखराको फेसन शोमा मिस नेपाल
चिसोले आङ नै सिरिङ बनाइरहेका बेला पोखराको तारे होटल ग्रान्डमा बेग्लै खालको चहलपहल देखिन्थ्यो। निर्धारित समयअनुसार कार्यक्रम सुरु नभएपछि अतिथिहरू छटपटिइरहेका थिए। झन्डै डेढ घण्टा ढिलो प्रारम्भ भएको कार्यक्रमसँगै आकर्षक पहिरनमा मोडलहरू क्याटवाक गर्दै र्याम्पमा प्रकट भए।
यस पटकको पोखराको र्याम्पमा दर्शकले नेपालकै चर्चित सेलिब्रेटीको फेसन परेड अनुभव गर्न पाए। आयोजकले पूर्वजानकारी नदिएकाले स्थानीय मोडलहरू नै हुन भन्ने लख धेरैले काटेका थिए, तर जब मिस नेपाल सृष्टि श्रेष्ठ रातो पहिरनमा मन्द मुस्कान दिँदै र्याम्पमा देखिइन्, दर्शकहरूले दंग पर्दै उनको पक्षमा ताली पिटे। मञ्चमा उनी फेसन डिजाइनर राजेश धाख्वासँगै देखिइन्।
मोडलहरूलाई प्रशिक्षण दिँदै र्याम्पमा हिँड्न आएकी सृष्टि निकै खुसी देखिन्थिन्। फेसन शोमा मिस नेपालकै सेकेन्ड रनर्सअप शुभेच्छा खड्का पनि आकर्षणको केन्द्र भइन्। पोखराका सलिना गुरुङ, रेखा पुरी, अरुण गिरी, साया गुरुङ आदि नाम चलेका मोडलहरू पनि पालैपालो र्याम्पमा देखिए। भिभा सिटी म्यागजिनद्वारा आयोजित उक्त फेसन शोमा विभिन्न नृत्य पनि प्रस्तुत गरिएको थियो।
तस्बिरः उमेश पुन
तपाईंको प्रतिकृया