रामेश्वर कार्की (सिनेम्याटोग्राफर)
रामेश्वर कार्की पोखरामा जन्मिए, चितवनको मेघौलीमा हुर्किए। वीरेन्द्र बहुमुखी क्याम्पसबाट आईएस्सी र भृकुटीमण्डपको रत्नराज्य लक्ष्मी क्याम्पसबाट स्नातक स्तरको अध्ययन पूरा गरे, तर पेसाचाहिँ सिनेमाटोग्राफी रोजे। उनले सिनेम्याटोग्राफी गरेका चलचित्रहरू दुलही, धूवाँ यो नशा, मेरो जीवन साथी, भनिदेऊ न माया गर्छु प्रदर्शनमा आइसकेका छन्। त्यस्तै ए फर अमेरिका, सौर्य रिलिज हुने क्रममा छन्। सिनेम्याटो ग्राफिमै भविष्य बनाउने सोच बनाएका रामेश्वर हाल मेघा, चाहना मनको तथा सुन्तली धामीको सिनेम्याटोग्राफीमा व्यस्त छन्। कार्कीसँग साप्ताहिकका नरेन्द्र रौलेको जम्काभेटः
तपाईंले विज्ञान पढ्नुभो तर पेसाचाहिँ सिनेम्याटोग्राफी छान्नुभो। के ले यतातिर तान्यो ?
रुचि नै हो। विज्ञानमा पनि लाइटको कुरा आउँछ। क्यामेरा र लाइट अन्तरसम्बन्धित कुरा हुन्। फेरि म बच्चैदेखि सिरियलहरू खुब हेर्थें। चलचित्र के हो, कसरी बन्छ जस्तो लाग्थ्यो। काठमाडौं आएपछि यही क्षेत्रका व्यक्तिहरूसँगको सम्पर्कले यतातिर तानिएँ। विशेष गरी स्व. दीपक रायमाझीसँग वंश सिरियलमा काम गर्ने अवसर पाएपछि मेरो बाटो खुल्यो।
सिनेम्याटोग्राफी सिक्न मुम्बई पनि पुग्नुभयो। कस्तो अनुभव रह्यो ?
राजु गौली दाइको सहयोगमा म मुम्बई पुगें। बालाजी टेलिफिल्म त्यहाँको चर्चित र ठूलो सिरियल उत्पादन गर्ने कम्पनी हो। त्यहाँ अढाई वर्ष काम गर्ने अवसर मिल्यो। त्यसै क्रममा स्टार प्लसबाट प्रसारण हुने केशर ही केशर र कसौटी जिन्दगीकी सिरियलमा असिस्टेन्ट क्यामेराम्यानका रूपमा काम गरें। त्यहाँको प्रविधि तथा काम गर्ने शैलीका बारेमा थुप्रै कुरा जान्न पाइयो।
नेपालमा भन्दा त्यहाँ राम्रो आम्दानी हुन्थ्यो।
बीचैमा किन नेपाल र्फकनुभयो त ?
यताबाट मुम्बई जाने बेलामा मैले र्फकन्छु नै भन्ने सोच बनाएको थिए। विदेशमा लामो समय बस्नुभन्दा आफ्नै भूमिमा काम गर्नुपर्छ भन्ने मान्यता हो। अर्को कुरा म नेपाल र्फकनुमा नारायण पुरी दाइको हात छ। चार वर्षअघि मुम्बईमा उहाँसँग भेट भयो। नेपालमै गएर काम गरौं भन्नुभयो। मैले हुन्छ भनें र यतै काम गर्न थालियो।
नेपाल र भारतका टेलिसिरियलबिच के अन्तर छ ?
धेरै नै। प्रविधि, लगानी, विषयवस्तु र मेहनतका हिसाबले हामीभन्दा उनीहरू धेरै माथि छन्। त्यहाँ जुनियर कलाकारले पनि जीवन धान्न सक्छ। यहाँ मुस्किल छ।
सिनेम्याटोग्राफी पेसामा कत्तिको भविष्य देख्नुहुन्छ ?
मेरो विचारमा नेपालमा सिनेमाटोग्राफीको भविष्य निकै राम्रो छ, तर उत्तिकै चुनौतीपूर्ण पनि। नयाँ-नयाँ प्रविधिसँग अपडेट भैरहनुपर्छ। स्वअध्ययन पनि जारी राख्नुपर्छ।
चलचित्रमा कलाकारहरूको चर्चा हुन्छ, तर त्यसलाई राम्रो बनाउने सिनेम्याटोग्राफरको चर्चा नहुँदा कस्तो लाग्छ ?
मिडियामा हाम्रा बारेमा खासै कुरा आउँदैन, तर पनि हामी आफ्नै कामबाट हामी सन्तुष्टि लिन्छौं। काम गरेको चलचित्रलाई अरू भन्दा फरक देखाउन पाउँदा मजा आउँछ। राम्रो
कामको परिणाम आइहाल्छ। कसैले प्रशंसा गरिदिँदा आनन्द लाग्छ।
तपाईंको प्रतिकृया