सुजन केसी, भिजे/एडिटर/गायक
प्रायः सबै नेपाली टेलिभिजन च्यानलमा नेपाली गीतको काउन्टडाउन कार्यक्रम प्रसारण हुन्छ। सबैका आ-आफ्नै विशेषता छन्। काउन्टडाउन कार्यक्रमका भिडियो जक्कीका आधारमा दर्शक सहभागिता बढ्ने-घट्ने पनि भैरहन्छ। हिमालय टेलिभिजनबाट शुक्रबार राति ९ बजे प्रसारण हुने 'हिमालय काउन्टडाउन' दर्शकहरूले मन पराएका काउन्टडाउन कार्यक्रमहरूमध्ये एक हो। यो कार्यक्रम प्रस्तुत गर्ने भिडियो जक्की सुजन केसी पनि उत्तिकै लोकप्रिय छन्। कार्यक्रममा विभिन्न गायक-गायिकालाई अनप्लग्ड समेत गराइने भएकाले दर्शकले यो कार्यक्रम मन पराएका हुन्। बालुवाटार, काठमाडौंका स्थायी बासिन्दा सुजन यो कार्यक्रमका प्रस्तोता मात्र होइनन्, निर्माता तथा भिजुअल एडिटरसमेत हुन्। त्यसो त सुजन हिमाल टेलिभिजनका अन्य कार्यक्रम पनि एडिट गर्छन् भने केहीमा भ्वाइस ओभर समेत गर्छन्। रेडियो नेपालको लोकप्रिय सांगीतिक कार्यक्रम 'साज र आवाज' लाई उनी हिमालय टेलिभिजनमार्फत दर्शकमाझ ल्याउने अन्तिम तयारी समेत गर्दैछन्। उनी निर्माताका रूपमा सहभागी हुने यो कार्यक्रम चाँडै प्रसारणमा आउनेछ। टेलिभिजनमा आउनुअघि उनी गायकका रूपमा स्थापित भैसकेका थिए। सुजनले करिब ५ वर्षअघि नै पहिलो एल्बम 'पल्स' सार्वजनिक गरिसकेका थिए। यतिबेला दोस्रो एल्बम 'पेस' लाई अन्तिम रूपसमेत दिने तयारी गरिरहेका सुजनसँग साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्नः
गायन रमाइलो कि भिजेइङ ?
टेलिभिजनमा सांगीतिक कार्यक्रम नै सञ्चालन गर्ने भएकाले म दुवै पेसामा उत्तिकै रमाएको छु। दुवै विधा एक-अर्काका परिपूरकझैं भएका छन्।
तपाईंले सञ्चालन गर्ने काउन्टडाउन कत्तिको निष्पक्ष हुन्छ ?
बजारमा लोकप्रिय भैरहेका, दर्शकहरूको सबैभन्दा बढी अनुरोध आउने, फेसबुक फ्यान पेजमा मन पराइएका गीतहरूलाई मात्र हामी काउन्टडाउनमा समावेश गर्छौं।
आगामी दिनमा नयाँ के गर्ने योजना बनाउनुभएको छ ?
दर्शकहरूले सांगीतिक रूपमा थप मनोरञ्जन गर्न पाउने एउटा नयाँ कार्यक्रमको तयारी गर्दैछु। त्यसबाहेक भिज्युअल एडिटिङको दक्षता पनि निखार्ने योजना छ।
तपाईंको प्रतिकृया