म उनलाई जीवनसाथीका रूपमा स्वीकार गर्न सक्दिनँ, तर ती युवती मसँग विवाह गर्न पाइन भने मरिदिन्छु भन्छिन्, यस्तो अवस्थामा म के गरूँ ?
म विवाहित पुरुष हुँ। मेरा २ छोरी छन्। मेरो विवाह भएको पनि १२ वर्ष भैसक्यो। हाम्रो वैवाहिक जीवन सुखमय छ। अहिले मलाई एउटी युवतीले टेलिफोनमार्फत प्रेम प्रस्ताव राखेकी छिन्। ती युवती मसँग विवाह गर्ने कुरा गर्छिन्। म विवाहित हुँ र मेरा दुई सन्तान छन् भन्ने कुरा पनि उनलाई थाहा छ। ती युवतीसँग मेरो टेलिफोनमा मात्र कुरा हुन्छ, उनलाई मैले देखेको छैन। म मेकअप आर्टिस्टका रूपमा कार्यरत छु। ती युवती पनि मेकअप आर्टिस्ट बन्छु भन्छिन्। म उनलाई जीवनसाथीका रूपमा स्वीकार गर्न सक्दिनँ, तर ती युवती मसँग विवाह गर्न पाइन भने मरिदिन्छु भन्छिन्, यस्तो अवस्थामा म के गरूँ ?
९०१
केही पनि नगर्ने, चुप लागेर बस्ने। कसैले कसैसँग जबर्जस्ती विवाह गर्छु भनेर नानाथरी डर, त्रास र धम्की दिन्छन् भने त्यो गैरकानुनी हुन्छ। तपाईं विवाहित तथा दुई सन्तानका पिता हुनुहुन्छ भन्ने जानकारीले तपाईंको वैवाहिक जीवन सफलतापूर्वक चलिरहेको संकेत गर्छ। यस्तो अवस्थामा कुनै युवतीले तपाईंसमक्ष तपाईंको इच्छाविरुद्ध प्रेम वा विवाहको प्रस्ताव राख्छिन् भने त्यसलाई अस्वीकार गर्नुमै तपाईंको हितमा हुन्छ, किनभने कानुनी रूपमा तपाईंले दोस्रो विवाह गर्नु अपराध मानिनेछ भने ती युवतीको व्यवहारलाई पनि कानुनी र नैतिक रूपमा समेत अपराध मान्नुपर्ने हुन्छ। यस्तो अवस्थामा तपाईंले ती युवतीलाई आफ्नी श्रीमतीसहित भेटेर सम्झाउनु-बुझाउनुमै तपाईंको हित छ। सम्झाउँदा-बुझाउँदा पनि मानिनन् भने तिनका अभिभावकसाग भटेर सत्य-तथ्य बताइदिनुपर्छ। त्यति हुँदा पनि समस्याको समाधान हुन सकेन भने कानुनको सहयोग पनि लिन सकिन्छ। मुख्य कुरा तपाईं कसैको प्रस्तावबाट नैतिक रूपमा विचलित हुनु हुँदैन।
तपाईंको प्रतिकृया