फरक बाटो

गृहपृष्ठ » » फरक बाटो » लेखहरु »

सञ्जयको सूर

पाटनको ६ तले एउटा अग्लो घर। एक जना भाडामा बस्ने युवक दिनहुँ घरको सिंढीमा ओहोर-दोहोर गरिरहन्छन्। प्रत्येक दिन उस्तै दृश्य दोहोरिरहँदा घरबेटी महेन्द्र बज्राचार्यलाई लाग्यो, यो मानिस कतै 'पागल' त होइन ? बज्राचार्यले मनमनै सोचे- 'यसलाई घरबाट निकाल्नुपर्छ कि  क्या हो !'

यस्तै कुरा मनमा खेलिरहदा एकाबिहानै बज्राचार्यलाई पत्रकार सम्मेलनमा उपस्थित हुने खबर आयो। निम्तो गर्ने तिनै युवक थिए, जो उनकै  घरको सिंढीमा ओहोरदोहोर गरिरहन्थे। पत्रकार सम्मेलनको विषय अलि फरक थियो। काठमाडौंदेखि खासासम्म दौडिएर नयाँ कीर्तिमान राख्ने  सुर कसेका ती युवक अरू कोही नभएर अल्ट्रा धावक सञ्जय पण्डित पो रहेछन्। घरबेटी छक्क परे। 'बल्ल आफ्नै घरमा डेरा गरेर बस्ने  सञ्जयलाई राम्रोसँग चिने।' चार वर्षअघिको त्यो क्षण सम्झँदै बज्राचार्यले भने, 'अनि त्यो दौडमा म बाइक लिएर एस्कर्टिङ गर्न गएँ।'

तिनै २४ वर्षीय सञ्जय केही दिनअघिको भेटमा भने 'म बेग्लै इतिहास रच्न चाहन्छु।' बिजुवार-१, प्युठान स्थायी घर भएका यी ठिटा  अचम्मका छन्। प्युठानको स्वर्गद्वारीदेखि काठमाडौंसम्म उनी दौडिएरै आइपुग्छन्। काठमाडौंदेखी खासा, रसुवा, वीरगञ्ज, गोर्खा दौडिएरै पुग्छन्।  जिरीदेखि काठमाडौं दौडिनुमा पनि उनलाई रमाइलै लाग्छ। आखिर किन त? 'पर्यटन प्रवर्द्धन गर्न, शान्तिको सन्देश छर्न र जलवायु परिवर्तनका  सम्बन्धमा जनचेतना जगाउन।' उनले एकै सासमा आफ्नो उद्देश्य बताए। उनी कतै जाँदैछन् भने त्यो खबर पहिले नै गाउँलेहरूसामु  पुगिसक्छ। उनी जलवायु परिवर्तनका कारण र असर, त्यसको संरक्षणका बारेमा आफूले सिकेका कुरा बाँड्छन्। शान्ति र पर्यटन प्रवर्द्धनका  लागि उत्तिकै सक्रियता देखाउँछन्। सय किलोमिटरभन्दा बढी दगुर्नेलाई अल्ट्रा धावक भनिन्छ। विभिन्न स्थान र मितिमा सञ्जयले अहिलेसम्म २  हजार २ सय किलोमिटर दगुरिसकेका छन्। नेपालमा सबैभन्दा लामो दूरी दौडिने व्यक्तिका रूपमा समेत उनले आफ्नो परिचय स्थापित  गरिसकेका छन्। सञ्जयको कामबाट प्रभावित भएर द याक माउन्टेन गेयरले उनलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। 'यो हाम्रा लागि  गौरवको कुरा हो।' द याक माउन्टेन गेयरका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाले टिप्पणी गरे। कान्तिपुर भ्याली कलेज, कुमारीपाटीले उनलाई  बीबीएमा निशुल्क पढाएको थियो।

सञ्जय यसरी दौडिनुमा उनका बुबा तेजप्रसाद 'मिश्रण' र स्व. दाजु मुकेशको प्रेरणा छ। 'दुवै जनाको दौडिनुपर्छ भन्ने राय थियो।' हँसिला  अनुहार भएका सञ्जयले मुख खोले, 'कि त खेलाडी भइन्छ नत्र स्वस्थ भइन्छ भन्नुहुन्थ्यो।' वैकुण्ठ मानन्धरलाई भेट्दा जम्मा २० वर्षमा पाइला  टेक्दै थिए, सञ्जय। पहिलो पटक ०६५ मा रंगशालामा भेटिएका वैकुण्ठले सुनाए- '०४५ मा काठमाडौंदेखि खासासम्म १४ घण्टा दौडिएँ।  कसैले दौड्न सकेको छैन ।' सुनेर बसेका सञ्जयले वैकुण्ठको त्यो कुरालाई चुनौतीका रूपमा लिए। मनमनै प्रण गरे, 'अब म दौडेरै छाड्छु।'  त्यसपछि उनी कस्सिए। बिहान १० देखि बेलुकी ५ बजेसम्म रंगशालाको फन्को लगाउन थाले। आफू बसेको कोठादेखि रंगशालासम्म दौडिएरै  आउन-जान थाले। लगातार साढे तीन महिनासम्म यसरी कठोर अभ्यास गरेपछि सञ्जयले काठमाडौं-खासा (१ सय २७ किलोमिटर) ११ घण्टा  २० मिनेटमै दौड्न सफल भए । उनमा झन् जोस थपिँदै गयो। दौडने क्रमलाई तीव्र बनाए। लुक्लादेखि आइल्यान्ड पिक, भालुवाङदेखि  प्युठानको बिजुबार, काठमाडौंदेखि गोर्खा, रसुवालगायत विभिन्न स्थानसम्मको दूरी केही घण्टामै नापे। जिरीदेखि राष्ट्रपति निवास (२ सय  किमि) २७ घण्टामै पार गरेपछि त पत्रपत्रिकाहरूमार्फत उनले राम्रै चर्चा बटुले। यसरी लामो दूरी दौडिँदा हरेक पटक राष्ट्रिय खेलकुद  परिषद्का प्रतिनिधि, डाक्टर, नर्स, एम्बुलेन्स सञ्जयको अघिपछि हुन्छन्।

दौडिनु सञ्जयको सोख हो। हरेक बिहान ४ नबज्दै उनी चक्रपथको एक फन्को लगाइसक्छन्। साढे २७ किलोमिटरको दूरी पार गर्न उनलाई २  घण्टाभन्दा धेरै समय लाग्दैन। एमबीएमा अध्ययनरत सञ्जय दिउँसो ३ देखी ६ बजेसम्म चोभार, दक्षिणकालीतिर गाडीकै गतीमा हुइँकिन्छन्।  दिनमा ३५ किलोमिटरभन्दा कम दगुरेको त उनलाई सम्झना छैन, बरु कति दिन भोकभोकै बसेको, पानी मात्र पिएर रात गुजारेको सम्झना  छ। यो कठोर संघर्षका पछाडि उनका केही सपना छन्। स्व. दाजुको सम्झनामा सञ्जय पण्डित फाउन्डेसन स्थापना गरेका सञ्जयले आफूले  अध्ययन गरेको माण्डवी गौमुखी उमावि प्युठानका केही उत्कृष्ट विद्यार्थीलाई कापी, कलम, डे्रेस, झोला र आवश्यक सामग्रीको प्रबन्ध गरिदिने  योजनामा छन्। त्यस्तै फाउन्डेसनमार्फत केही राम्रा एथलेटहरूलाई लुगा, कपडा वितरण गरेका छन्। 'म यो कामलाई अझै बृहत रूपमा लान  चाहन्छु।' उनले भने, 'म नोकरी खान होइन, हरेक नेपालीको ढुकढुकीमा बस्न चाहन्छु।'    

अल्ट्रा धावक सञ्जयको अर्को रहर हो- हिमाल आरोहण। 'माउन्ट किलर' मनास्लु चढ्ने उनी सुदूर तथा मध्यपश्चिमका पहिलो व्यक्ति हुन्।  सगरमाथा चढ्ने क्रममा ८६८५ मिटरसम्म पुगेका सञ्जयले प्राविधिक कारणले शिखर चुम्न सकेनन्। उनी फेरि सगरमाथाको सफल आरोहण  गर्न कस्सिएका छन्। पहिलेका दिनहरू सम्झँदा उनलाई अनौठो लाग्छ। उनलाई घर, टोल, छरछिमेक र कलेजमा पागल भन्नेहरूको कमी  थिएन। कारण, उनी लोकन्थली, काँडाघारी, कपन र ग्वार्कोदेखि सधैं दौडिएरै कलेज पुग्थे। त्यो पनि बाइक चढ्नेहरूभन्दा चाँडो। कतिले उनलाई  अपहेलना गर्थे, हाँस्थे। सञ्जय भित्रभित्रै आक्रोशित हुन्थे। मनमनै अठोट गर्थे- कुनै दिन सफल भएरै छाड्छु। नभन्दै सञ्जयले आफ्नो नाम  चम्काइसकेका छन्। हालै मात्र संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय उनको कामको सम्मान गरेको छ। यो स्थानसम्म पुर्‍याउने  प्युठानका बासिन्दा, सम्पूर्ण देशवासी, सरकारी तथा गैरसरकारी संघसंस्थालाई उनले सधैं सम्झनामा राखेका छन्। शंखमूलस्थित कान्तिपुर  इन्टरनेशनल कलेजले उनलाई एमबीए पढ्न पूर्ण छात्रवृत्ति दिलाएको छ ।

सञ्जयले आफ्नो सिंगो जीवन आरोहण र दौडमै खर्चिनेछन्। यसबाहेक उनमा खासै अरू रहर छैनन्। आमयुवाहरूलाई जीवनको ऊर्जाशील  समय सिर्जनात्मक कार्यमा खर्चिन उनी आग्रह गर्छन्। 'कुलतमा फस्नुभन्दा रचनात्मक कार्यमा जुटौं,' उनले भने, 'जति बढी मेहनत गर्‍यो  उति सफलता मिल्छ।' कुराकानी सकेर र्फकंदा एकछिनमै उनी टाढा हराइसकेका थिए।

प्रेरणाको स्रोतः बुबा तेजप्रसाद 'मिश्रण', स्व. दाजु मुकेश

अविस्मरणीय क्षणः दाइ गुमाएको क्षण

मनपर्ने परिकारः ममः स्यान्डविच

घुम्न मन लाग्ने ठाउँ: पोखरा र मनकामना

चढ्न मन लागेको हिमालः विश्वका सातवटा महादेशका अग्ला हिमाल

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

नरेन्द्र रौलेद्वारा अन्य प्रकाशित लेखहरू

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
पर्व  [1]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :