पृथ्वी एक प्रयोगशाला
वैज्ञानिकहरूले स्पष्ट भनेका छन्- न २१ डिसेम्बरमा महाप्रलय आउँछ, न त २२ डिसेम्बरमा मानवजाति समाप्त हुन्छ ! समुन्द्र खुम्चिएर आगोको गोला बन्ने र जमिन पग्लिएर हिउँको खोला बग्ने जुन हल्ला छ, त्यो पनि 'नेटगफ' बाहेक केही होइन। त्यसैले ढुक्क हुनुहोस्, धतीर् मातालाई हाछ्यूँ आए पनि 'हर्ट अट्याक' हुने कुनै वैज्ञानिक आधार छैन।
धर्मशास्त्रले भन्ने गरेको 'कलियुग' भर्खर ५ हजार वर्षको नाबालक छ रे ! लाखौं वर्ष आयु भएको यो वृद्ध-बालकलाई नमरुञ्जेल धर्तीमाताले पाल्नुपर्ने नियम छ रे ! त्यसमाथि पृथ्वीमाताका गुरु 'बृहस्पती बाजे' ज्यूँदै छन्। आफ्नी चेलीमाथी गिद्धेदृष्टि लगाउन खोज्ने जुनसुकै ग्रहलाई काँचै खाइदिन्छन् उनले ! त्यसैले आनन्दसँग निदाउनुहोस्, धर्तीमातालाई 'कामज्वरो'ले भेटे पनि 'एपेन्डिक्स' फुटिहाल्ने कुनै धार्मिक सम्भावना छैन।
खगोलशास्त्र र ज्योतिषशास्त्रले महाप्रलयको 'एजेन्डा' खारेज गरिसक्यो, तर पनि हाम्रो मस्तिष्कमा प्रश्नको पोको छ। पृथ्वीमाथि कुनै खतरा छैन भने, अहिले भोगिइरहेको जलवायु प्रदूषणको जबर्जस्त असरचाहिं के हो त ? विनाशकारी सुनामीको अत्याशलाग्दो आतंक किन भैरहेको छ ? भूकम्पको नाममा धर्तीमाता थर्थरी काम्दा उनलाई केही भएको छैन भनेर कसरी मान्न सकिन्छ ? बेमौसमी हिमपातको हंगामा, अत्याशलाग्दो आँधीबेहरी, सूर्यको बढ्दो राप, ओजोन तहको घट्दो चाप आदिले किन सातो खाइरहन्छन् धर्ती माताको ?
यस्ता गम्भीर प्रश्नको जवाफ दिन यो स्तम्भकार ज्योतिष होइन। वैज्ञानिक त हुँदै होइन, तर अज्ञानी पनि होइन। सामान्य ज्ञानका अनुसार- यो प्रकृतिको खेल हो, ग्रहहरूको बेमेल हो, मान्छेको झेल हो।
प्रकृतिले खेलिरहेको यो हिंसात्मक खेललाई खगोलशास्त्र र धर्मशास्त्रको आँखाले मात्रै होइन, जोकशास्त्रका आधारमा पनि हेर्नुपर्ने हुन्छ। आउनोस्, महाप्रलयको हल्लालाई जोकशास्त्रीय दृष्टिकोणले विश्लेषण गरौं।
मंगलग्रहबाट 'क्युरियोसिटी'ले पठाएको रिपोर्टअनुसार, मंगलभन्दा २० हजार प्रकाश वर्ष टाढा 'सबुर' नामको एउटा चमत्कारी ग्रह छ। उक्त ग्रहमा मानिसभन्दा सय गुणा तीक्ष्ण मस्तिष्क भएका प्राणी बस्छन्। पृथ्वीभन्दा भन्दा हजार गुणा बढी विकसित 'सबुरियन'हरू सिंगो ब्रह्माण्डलाई 'रिमोट कन्ट्रोल'को माध्यमबाट नियन्त्रण गर्छन्। यहाँसम्म कि हामी पृथ्बीवासीको जन्म, कर्म र मृत्युपनि उनीहरूकै हातमा हुन्छ। त्यसैले 'सबुर सुप्रिमो'हरूले नचाहेसम्म पृथ्बीवासीलाई केही हुनेवाला छैन।
धर्मशास्त्रले भन्ने गरेको 'परमपिता परमेश्वर' उनै 'सबुरान' हुन्। पृथ्बीवासीहरूको सय वर्ष 'सबुरी'हरूका लागि मात्र 'सय मिनेट'को समय हो। हामी जन्मिएर मृत्यु भैसक्दा उनीहरू बल्ल एक गेम फुटबल खेली भ्याउँछन्। नेपालजत्रो मैदानमा सगरमाथाभन्दा ठूलो भकुन्डो खेल्ने सबुरवासीहरू हजार वर्ष बाँच्छन्। सेकेन्डमा संसार चहार्न सक्ने उनीहरूका लागि पृथ्वी एउटा प्रयोगशाला मात्र हो भने हामी पृथ्बीवासी सबुरी वैज्ञानिकहरूको नयाँ खोज हौं।
पत्याउनोस्, नपत्याउनोस्, पृथ्वीका विभिन्न देशमा हुने चुनाव 'सबुर'का नानीहरूको 'टेम्पल रन' भिडियो गेम मात्र हो। धर्तीमा हुने युद्ध र लडाइँ 'युवा सबुरी'हरूको 'अनलाइन इन्टरटेन्मेन्ट' हो। सबुरी बच्चाहरूलाई खेल्न मन लाग्नासाथ रिमोट थिच्छन्, त्यसको तरंग धर्तीमा पुग्छ र यता निर्वाचनको समय आउँछ। जवान सबुरीहरूलाई रेस्लिङ हेर्न मन लाग्छ तब रिमोट थिच्छन्, यता धर्तीमा थरीथरीका युद्ध सुरु हुन्छन्।
यस्तो दूर नियन्त्रणका लागि 'सबुरीयन'हरूले अन्तर ब्रह्माण्डीय भू-उपग्रहको प्रयोग गर्छन्। सबुर-सूर्य-चन्द्र र पृथ्वी चारै ग्रहमा संकेत पुग्ने गरी बृहस्पतिको दक्षिणी गोलार्द्धमा प्रक्षेपण गरिएको शक्तिशाली 'सबुरस्याट' नै धर्तीसँग सम्पर्क गर्ने माध्यम हो।
'सबुरियन'हरू सम्पूर्ण सृष्टिका सञ्चालक हुन्। प्रत्येक पृथ्वीवासीका नाममा 'सबुरियन नेट'मा एकाउन्ट खोलिएको हुन्छ। हाम्रो न्वारानको नामलाई 'युजर नेम' र जन्ममितिलाई 'पासवर्ड'का रूपमा सेटिङ गरेपछि हामी पूर्ण रूपमा सबुरीहरूको कब्जामा पर्छौं। यही आइडीका आधारमा उनीहरूले हामीलाई रुवाउँछन्, हँसाउछन्, माया गराउँछन्, घृणा फैलाउँछन्, तर हामीलाई यो रहस्य आफ्नो जीवनभर कहिल्यै थाहा हुँदैन।
'सबुरियन'हरू पृथ्वीवासीका शत्रु होइनन्, मार्ग निर्देशक मात्र हुन्। उनीहरू धर्तीका सबै प्राणीलाई बराबरी माया गर्छन्। हाम्रा लागि उनीहरूले सूर्यको किरणमार्फत अमृत् तरंग पठाउँछन्। त्यो तरंग नियमसंगत हिसाबले लिन सक्ने प्राणी खुसी हुन्छ, सुखी बन्छ। तरंग अनुभव गर्न नसक्ने दुःखी हुन्छ, निराश रहन्छ। अतः आफ्नै प्रयोगशालामा पछिल्लो समयमा आफ्नो पकड गुम्दै गएकाले 'सबुर सुप्रिमो' चिन्तित भएको संकेत 'क्युरियोसिटी'ले पठाएको छ।
२१ डिसेम्बरको कुरा पनि पृथ्वीवासीलाई 'ब्यालेन्स'मा ल्याउन 'सबुरियन'हरूले गरेको सम्यक प्रयास हो। धर्तीमा धार्मिक युद्ध, जातीय दंगा, राजनैतिक तरलता, प्राकृतिक अतिक्रमण बढ्दै गयो। पृथ्वीवासीले स्वतन्त्रता र आधुनिकताका नाममा 'सबुरनीति' तोड्न थाले। पृथ्वीवासीको अराजकताले आफू नियन्त्रित अन्य ग्रहहरूमा पनि हिंसा फैलने संकेत पाएपछि 'सबुरवासी'ले सुनामी, भूकम्प, आगलागी, बाढी-पहिरोमार्फत धर्तीवासीलाई खबरदारी मात्र गर्न खोजेका हुन्, पृथ्वी ध्वस्त गर्न आँटेका होइनन् होला कि कसो !?
तपाईंको प्रतिकृया