लुम्बिनी महोत्सव तताउँदै कलाकार
भैरहवाको सिद्धार्थ रंगशालामा अघिल्लो बिहीबारदेखि सञ्चालित लुम्बिनी पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मे लालाई राष्ट्रिय तथा स्थानीय कलाकारहरूले संगीतमय बनाएका छन्। महोत्सवको मुख्य आकर्षण बनेको सांस्कृतिक कार्यक्रम अन्तर्गत हरेक दिन लोकदोहोरी, आधुनिक, पप र हास्य कलाकारहरूको प्रस्तुतिले मंसिरको जाडो मौसमलाई तताइरहेको छ।
बद्री पंगेनी, तिलकबम मल्ल तथा डिजराज पौडेलबाट शुरु भएको राष्ट्रिय कलाकारको प्रस्तुतिअन्तर्गत शनिबार आधुनिक गायक हेमन्त शर्मा र लोक गायक नवीन पौडेलले दर्शकलाई पर्याप्त मनोरन्जन प्रदान गर्दै धीत मरुन्जेल नचाए। पुस १ गतेसम्म चल्ने महोत्सवमा राजु परियार, राधिका हमाल, कुलेन्द्र विक, इन्द्र जीसी, अर्जुन कौशल, रामजी खांण, मिलन लामा, कृष्णा गुरुङ, निशा सुनार, जीवन परियार, शिव परियार, सुगम पोखरेल, रूपक डोटेल, माण्डवी त्रिपाठी, मौसमी गुरुङ, रोज मोक्तान, हास्यकलाकारहरू ज्योति काफ्ले, शिवशंकर रिजाल तथा सुरेन्द्र केसीको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक राजनजंग राणाले बताए। सिद्धार्थनगर उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा जादुगर कमल कुमारको प्रस्तुति, दोहोरी गीत तथा भ्वाइस अफ भैरहवा प्रतियोगिताले पनि रोमाञ्चकता थपेका छन्।
तपाईंको प्रतिकृया