बिग्रिएका कोरियन केटाले मात्र गरिब देशका युवती बिहे गर्छन्
३६ वर्षअघि लमजुङमा जन्मिएकी जुनु गुरुङ कोरियामा रहेका नेपाली महिलाहरूको संस्था 'प्रवासी महिलाहरूका लागि महिला' की अध्यक्ष हुन् । नेपालमा रहँदा पनि महिलासँग सम्बन्धित विभिन्न संस्थामा रहेर काम गरेकी गुरुङ विगत ६ वर्षदेखि कोरियामै व्यवसाय गरिरहेकी छिन् । वैवाहिक भिसामा कोरिया आएका प्रवासी महिलाहरू चरम घरेलु हिंसामा रहेको उनको अनुभव छ । यसै सिलसिलामा कोरियामा कार्यरत ने पाली महिलाहरूको स्थितिका सम्बन्धमा साप्ताहिकका लागि देवेन्द्र सम्बाहाम्फेले गरेको कुराकानीः
माइग्रेन्ट वुमन फर वुमन (प्रवासी महिलाका लागि महिला) को अध्यक्ष चुनिनुभएको छ, कस्तो लागिरहेको छ ?
कोरियामा विभिन्न प्रकारका संस्था भए पनि नेपाली महिलाहरूका लागि काम गर्ने संस्था यो मात्र हो। वैवाहिक भिसा र कामदार भिसामा यहाँ आएका नेपाली दिदी-बहिनीहरूका समस्या धेरै छन्। यस्तो अवस्थामा पाएको यो जिम्मेवारीलाई मैले समाजसेवा गर्ने अवसर र चुनौतीका रू पमा लिएकी छु।
यो कस्तो संस्था हो र यसले के काम गर्छ ?
यो कोरियामा रहेका नेपाली महिलाहरूको साझा सामाजिक संस्था हो। यो संस्थाले वैवाहिक भिसामा आएर घरेलु हिंसामा परेका नेपाली महिलाहरूको उद्धारमा सहयोग गर्नुका साथै बेरोजगारी, दुर्घटना, मृत्युजस्ता आपत-विपतमा परेका महिलाहरू कानुनी सहयोग एवं परामर्श दिने कामगर्छ । हामीले विपतमा परेका महिलाहरूका लागि सेल्टर पनि सञ्चालन गर्दै आएका छौं।
त्यसरी घरेलु हिंसामा परेका महिलाहरूको उद्धार गर्दा कसको सहयोग लिनुहुन्छ ?
घरेलु हिंसामा परेका छन् भनेर हामीलाई खबर गर्ने व्यक्ति वा निकायबाटै हामी सकेसम्म धेरै सहयोग लिने प्रयास गर्छौ , त्यसपछि नेपाली दूतावास र अन्य संस्था तथा बुद्धिजीवीहरूको सहयोग लिने गरेका छौं।
तपाईं यहाँ के गर्दै हुनुहुन्छ ?
म व्यवसाय गर्छु। बाँकी समयमा अन्य संस्थाहरूसँग हातेमालो गर्दै विभिन्न कार्यक्रम गरेर आर्थिक रूपमा यो संस्थालाई बलियो बनाउने प्रयास गर्दछु।
कस्ता कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ ?
नेपाली चाडपर्व दसैँ, तिहार, नारीदिवस, तीजजस्ता पर्वहरूमा कार्यक्रम आयोजित गरी अर्थ संकलन गर्छौं। यो संस्थालाई आर्थिक रूपमा अझ बलियो बनाउन आगामी दिनमा नेपालबाट राष्ट्रिय स्तरका कलाकारहरू आमन्त्रण गरेर बृहत् सांस्कृतिक कार्यक्रम गर्ने योजना छ।
व्यवसाय गर्न कोरिया नै किन आउनुभयो ?
व्यापार व्यवसाय गर्न यहाँ नै आउनुपर्छ भन्ने त होइन, तर म भने संयोगले यहाँ आइपुगे।
कोरियामा नेपाली व्यापारीहरूको कमाइ कस्तो हुन्छ ?
गर्न सक्यो भने राम्रै हुन्छ।
कोरियामा रहेका नेपाली महिलाहरूको स्थिति समग्रमा कस्तो छ ?
वैवाहिक भिसामा आएकामध्ये ९० प्रतिशत र इपीएसबाट कामदार भिसामा आएका ७० प्रतिशत दिदी-बहिनीहरू दुःखमा छन्। अझ कृषि भिसामा आएकाहरूको दुःख व्यथा भनी साध्य छैन। सुखी भनिएकाहरूको पनि सुख मात्र हो। उनीहरू पनि मानसिक रूपले दुखी नै छन्।
कामदारका रूपमा आएका महिलाहरूले कस्ता-कस्ता कठिनाइ भोग्नुपर्छ ?
कामदारका रूपमा आएकाहरूमध्ये औद्योगिक क्षेत्रको तुलनामा कृषिभिसामा आएकाहरूको काम गाह्रो छ। त्यसमा पनि भाषाको समस्या, १२ घन्टा लगातार काम, कोरियन साहूहरूबाट हुने रुखो व्यवहार, समयमै कम्पनीहरूले तलब नदिनेजस्ता समस्याहरू छन्। यी कारणहरूले गर्दा महिलाको स्थिति नाजुक छ।
वैवाहिक भिसामा आएका नेपाली महिलाहरूले दुःख पाउनुको मुख्य कारणचाहिँ के हो ?
वैवाहिक भिसामा आएका सबै त नभनौं, तर अधिकांश घरेलु हिँसामा छन्। त्यसको मुख्य कारण घरबार बिग्रिएका कोरियन केटाहरूले गरिब देशका केटीहरू विवाह गरेका हुन्छन्। उनीहरू धेरै जाँड-रक्सी सेवन गर्ने तथा झगडालु स्वभावका हुन्छन् भने कतिपय दुर्गम क्षेत्रका अपाङ्ग, सुस्त मनस्थितिका र कुलतमा फसेका पनि हुन्छन्। आफ्नो श्रीमान् त्यस्तो भएपछि महिलाहरूलाई दुःख लाग्नु स्वाभाविक हो। उनीहरूले श्रीमान्बाट सुखी, सम्पन्न र समृद्ध परिवारको अपेक्षा गरेका हुन्छन्। सोचे जस्तो नभएपछि समस्या हुन्छ नै श्रीमान्सँग उमेरको धैरै भिन्नता हुनु पनि प्रमुख समस्या भएको छ। यस्ता अनेकौं समस्याका कारण केही दिनअघिमात्र एक भियतनामी महिलाले अपार्टमेन्ट १८ तल्लाबाट आफ्नो छोरा र छोरीसँगै हाम्फालेर आत्महत्या गरेकी थिइन्। यहाँको भाषा, संस्कृति तथा परम्परासँग मेल खान पनि एकदमै गाहो छ भने विदेशी नारीहरूको हकहितको आवाज उठाइदिने भरपर्दा संस्था पनि छैनन्। सम्पन्न र राम्रो परिवारको कोरियन पुरुषले गरिब मुलुकका के टीहरू बिहे गर्दैनन्।
अर्कातिर पेपर म्यारिजमा आएका दिदी-बहिनीहरूले चाहिँ नेपालबाट आउँदै धेरै पैसा तिरेर आएका हुन्छन् र यहाँ आएपछि अबैधानिक भएपछि सोचेजस्तो काम पाउन गाह्रो छ आउँदा लागेको ऋण नै नतिरी कतिपय पक्राउ पर्ने गरेका छन्। पैसा कमाउने हिसाबले केही समय कोरियन पुरुषसँग बस्ने अनि भागेर काम गर्ने उद्देश्यले आएका दिदी-बहिनीले अझ दुःख पाएका छन् ।
त्यस्ता पीडित नेपाली महिलाहरू अहिले तपाईंको सम्पर्क र सेल्टरमा कति छन् ?
संख्याको हिसाबले धेरै छन् सेल्टरमा दैनिक पाँच-छ जना आउने जाने क्रम चलिरहन्छ।
सेल्टर सञ्चालनको खर्च कसरी जुटाउनुभएको छ ?
सेल्टर सञ्चालनका लागि अहिले महिनामा ४ लाख वन (३० हजार रपैयाँ) जति खर्च हुन्छ। त्यसको ७० प्रतिशत सोलको 'हाना ह्वी' नामक चर्चले सहयोग गद आएको छ। बाँकी ३० प्रतिशत विभिन्न व्यक्ति तथा संस्थाहरूको सहयोगबाट पूर्ति गर्दै आएका छौं।
विवाह गरेर नेपाली महिला कोरिया आउने क्रम कसरी रोक्न सकिन्छ ?
यहाँ आएर दुःख पाएका नेपाली महिलाहरूका बारेमा तपाईंहरूले बारम्बार सञ्चार मध्यममा लेखिरहनुभएको छ यति हुँदाहुँदै पनि दलालहरूको विभिन्न प्रलोभनमा परेर वा महलमा बस्ने सपना साँचेर नेपाली दिदीबहिनीहरू यो नर्कमा हाम्फाल्ने गरेका छन्। यो उहाँहरूको कमजोरी हो। कतिले आमा-बुबा तथा परिवारसम्मलाई ढाँटेर यहाँ आएको पाएकी छु । यसमा म्यारिज ब्युरोको भूमिका पनि महत्त्वपूर्ण छ। यो क्रमलाई रोक्न नेपाल सरकारले गम्भीर कानुन बनाउनुपर्छ ।
वैवाहिक भिसामा कोरिया आउन चाहने नेपाली महिलाहरूलाई के भन्न चाहनुहुन्छ ?
दलालको प्रलोभनमा नपरी यहाँको वास्तविकता इन्टरनेट, पत्रपत्रिका वा यहाँ रहेका आफन्तहरूमार्फत बुझेर मात्र निर्णय गर्न आग्रह गर्छु।
तपाईंको प्रतिकृया