मनीषाको पाठेघरको शल्यक्रिया
उपचारका लागि न्युयोर्क पुगेको ८ दिनपछि अभिनेतृ मनीषा कोइरालाको पाठेघरको शल्यक्रिया भएको छ। म्यानहाटनस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर अस्पतालमा चिकित्सक डेनिस चीलले उनको शल्यक्रिया गरेका हुन्। न्युयोर्कमै चर्चित ओभोरियन क्यान्सर रोग विशेषज्ञ चीलले ६ घन्टा बढी समय खर्चिएर उक्त शल्यक्रिया गरेका थिए। शल्यक्रिया नेपाली समयअनुसार मंगलाबार बिहान सवा १० बजे सुरु भएको थियो। ४२ वर्षीया मनीषाको पाठेघरको क्यान्सर तेस्रो चरणमा पुगिसकेको बताइन्छ। उनी मुम्बईस्थित जसलोक अस्पतालबाट डिस्चार्च भएर थप उपचारका लागि न्युयोर्क पुगेकी थिइन्। १ सय ३० वर्षअघि स्थापित विश्वकै प्रसिद्ध मेमोरियल स्लोन केटरिङ अस्पतालमा उनको शल्यक्रिया सम्पन्न भएको हो।
निर्धारित तालिकाअनुसार सोमबार मध्यान्ह १२ बजे गर्ने भनिएको शल्यक्रिया झन्डै ५ घन्टापछि सुरु भएको थियो। मनीषा भन्दा पहिलो पालो रहेको बिरामीको शल्यक्रियामा केही ढिलाइ भएपछि उनलाई साँझ ५ बजे अप्रेसन कक्षमा लगिएको थियो। शल्यक्रिया सम्पन्न भए पनि परिवारका सदस्यहरूलाई मनीषासँग तत्काल भेट्न दिइएन। मनीषाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ।
समाचार स्रोतहरूका अनुसार चिकित्सक चीले परिवारका सदस्यहरूसँग शल्यक्रियापूर्वको कुराकानीमा 'आफू अप्रेसन कक्षबाट २ घन्टाभित्रमै बाहिर आए, बिरामीको अवस्था नराम्रो अनुमान गर्नू यदि ६ र ७ घन्टा लगाएर फर्किए भने अप्रेसन राम्रो भयो भन्ने सोच्नू' भनेका थिए।
शल्यक्रिया लामो हुनुको अर्थ यो स्टेजको बिरामीको सबै समस्याको निदान सकेर आफू फर्किएको मान्नू भन्दै चिकित्सक ची अप्रेसन कक्षभित्र गएका थिए। अप्रेसन कक्षभित्र जाने क्रममा मनीषाले आफ्नो चिन्ता नगर्न अनुरोध गरेकी थिइन्। हात हल्लाउँदै मनीषाले भनेकी थिइन्-आई वील वी ब्याक सुन। डोन्ड वरी।' १३ दिनअघि मुम्बईस्थित जसलोक अस्पतालले उनलाई पाठेघरको क्यान्सर भएको जनाएको थियो।
तपाईंको प्रतिकृया