महान् बानीहरू
नानीदेखि लागेको बानी, 'नानीको बाबु' बनिसक्दा पनि नजाँदो रहेछ। कुनै 'बानी' राम्रा हुन्छन्, सबैले पचाउँछन्। कुनै 'बानी' चाम्रा हुन्छन्, पचाउन त के, चपाउन पनि गार्हा हुन्छन्। तेस्रो प्रकारका बानी हुन्छन्- जुन झट्ट हेर्दा 'जोक' गरेजस्ता लाग्छन्, बुझ्दै जाँदा बिजोगको परकाष्टा नै नाघेका हुन्छन्। आउनोस्, हाम्रा केही महान् बानीहरूको गजुरियल विश्लेषण गरौं।
'कुरा काट्ने बानी'बाट हामीमध्ये धेरै जना 'ग्रस्त' छौं, तर कसै-कसैको 'कुरा काट्ने बानी' यति रमाइलो हुन्छ कि त्यो बानी देखेर 'हाँसो' पनि अट्टहास उठ्न थाल्छ। एक जना मित्रको बानी बडो गज्जबको छ। उनि राष्ट्रपतिको कदमलाई पनि भाउजूको स्वास्थ्यसँग 'फ्युजन' गर्छन्, र हामीलाई 'कन्फ्युजन' गराइदिन्छन्।
अस्तिको दिन म 'राष्ट्रपतिको को कदम'का बारेमा बोलिरहेको थिएँ। छलफल गम्भीर मोडमा पुग्नै लागेको थियो। मित्रले बेप्रसंगसँग च्वाट्टै कुरो काटिहाले- '..अनि भाउजूलाई सञ्चै छ ?' प्रसंगलाई यसरी मोडिदिए कि, मानौं, राष्ट्रपतिको कदमपछि 'भाउजू'को तल्लोपेट दुख्न थालेको थियो, त्यसमा उनी चिन्तित थिए।
अर्का एक जना मित्र छन्- जो ट्वाइलेट जानुलाई हस्तिनापुरको लडाइँमा जानुजस्तो गर्छन्। एक दिन चिया पिएर बसिरहेका थियौं, मैले चिया ओठैको नजिकमा पुर्याएको थिएँ। उनी जुरुक्क उठे र भने- 'म पिसाब गरेर आउँछु ल।'
मेरो मस्तिष्कमा अगाडिको चियाभन्दा उनको 'पिसाब' शब्दले बढी कब्जा गर्यो। चिया पिउन मन लागेन। पैसा तिरेर बाटो लागियो।
वास्तवमा पिसाब नगरी चिया नपिउने उनको व्रत पनि होइन। मैले चिया पिउन लागेको देखेर उनलाई पिसाब लागेको पनि होइन, तर बानीको गुलाम भएपछि मान्छेको मुखबाट अनायासै 'शब्दबम' पड्किँदो रहेछ। यो मेरो अनुभव हो।
वास्तवमा चुनावमा जानलाई जस्तो ट्वाइलेट जान पनि मन्तव्य दिनु आवश्यक छैन, तर मानिसहरू बाथरुम जान पनि यसरी उद्घोष गर्छन् कि मानौं उनीहरू आफ्नो जीउ सफा गर्न होइन, कुनै सार्वजानिक महत्वको काममा जाँदैछन्।
तर पिसाब फेर्न जाने कुरालाई सामाजिक शान्ति स्थापनाका लागि मुत्रत्यागको महान् यात्रामा जान लागेका जस्तो सार्वजानिक घोषणा गर्नु आवश्यक छैन, तर बानीको बन्धक भएपछि बिचरा गरून् पनि के र !
कोही-कोहीको 'टुथपेस्ट'माथि व्यभिचार गर्ने बानी कम हाँसउठ्दो छैन। एकपित्को 'पेस्ट'का लागि बिचरी 'टुथपेस्ट'को नाइटोदेखि नै निमोठ्ने अर्का मित्रको महान् बानी देख्दा यस्तो लाग्छ- उनी यौन उत्तेजनाको आगो टुथपेस्टको भुँडी निचोरेर शमन गरिरहेका छन्। त्यसैगरी पेस्ट प्रयोग गरिसकेपछि बिर्को नलगाई छोडिदिने बानी र दिशालय जाँदा चुकुल नलगाई गोब्य्राउने बानी पनि धुर्मुसेको खित्किलाभन्दा कम लाग्दैन।
पानाहरू पुस्तकका इज्जत हुन्। पाना सफा राख्नाले पुस्तकको इज्जत जोगिन्छ, पुस्तकको इज्जत जोगाउन सके मात्र पाठकको प्रतिष्ठा बढ्छ, तर कसै-कसैको बानी के हुन्छ भने पढ्दै, पानाको नाक भाँच्दै गर्छौं। हुन त त्यो पढिसकेको अंश चिनो लगाएको हो, तर पानाहरू कुच्याउँदा -कुच्याउँदा पुस्तकको रूप इज्जत बुच्चो मान्छेजस्तो देखिंदो रहेछ। त्यसैगरी आफूलाई मन परेको प्रसंग कलमले 'हाइलाइट' गर्दा मान्छेको अनुहारमा गोबरको टीका दलेजस्तो हुँदो रहेछ।
खप्परध्वज भान्जाको अनौठो बानीको कुरो गरौं। उनको हातमा टिभीको रिमोट परेपछि कुनै पनि च्यानलले थकाइ मार्न पाउँदैनन्। 'आस्था'देखि 'फेसन'सम्म चहार्दा पनि न 'दूर नियन्त्रक'ले शान्ति पाउँछ, न त 'दूरदर्शन'ले ! एउटा च्यानलमा एक मिनेट अडिन सके त मर्नु !
न आफूले केही हेर्छन्, न त अरूले हेर्न पाउँछन्। त्यसैले भान्जाको रिमोट उनकी श्रीमती र बच्चासँग मात्र रमाउँछ ! किनभने उनी रिमोटलाई माया होइन, हातपात मात्र गर्छन् रे !
प्रश्नको उत्तर प्रश्नबाटै दिने बानी झन् गज्जबको हुन्छ। 'आराम हुनुहुन्छ ?' भन्ने प्रश्नको जवाफ 'के भएको छ र बिरामी हुनलाई ?' आउँदा कम्ती हाँसो उठ्दैन। 'के छ ?', 'कस्तो छ?' को जवाफ 'ठीकै छ', 'राम्रै छ' को साटो 'के बेठीक छ र ?', 'किन नराम्रो हुनु र ?' सुन्दा बानीको बन्धक बन्नु कति गाह्रो रहेछ भन्ने प्रस्ट हुन्छ।
पाहुना जाँदा, पार्टी खाँदा देखिने अनौठा बानी नियाल्नु भा'छ ? हात पुच्छ्न राखेको 'नेप्किन' चपाएर 'एस्ट्रे'मा जम्मा गर्ने महान् बानी ख्याल गर्नु भा'छ ? दाँत कोट्याउन ल्याएको 'टुथपिक'ले कान कोट्याउँदा कता-कता टाउको दुखेको ओखती नाइटोमा दलेजस्तो लाग्दैन ?
मेरो आफ्नै एउटा छिःलाग्दो बानी थियो, जे भेटे पनि टोक्न थालिहाल्ने। कैले हजारको नोट टोक्दै हुन्थें, आधा भएपछि बल्ल थाहा हुन्थ्यो। कैले सर्टको कल्लर चपाउँदै हुन्थें, सरले 'भात खाइनस्' भनेपछि मात्र होस आउँथ्यो। कलम टोक्दै हुन्थें, 'होमवर्क' भन्नासाथ....झसंगै।
यस्ता अनौठा स्वभावहरू मान्छेका नियत होइनन्, नानीदेखि लागेका बानी हुन्। समयक्रममा जानी-नजानी मानिस 'बानी'को गुलाम बन्न पुग्छ, बन्दैछ र बनिरहँदो रहेछ। अर्घाखाँचीको कुरा गरिरहेका बेला कराँचीको प्रसंग उठाएर विषयलाई बिजोग बनाउँछ। रुनुपर्ने ठाउँमा हाँसिदिएर वातावरणलाई हरिबिजोग पार्छ। यस्ता बानीहरू कि ध्यानले छुट्दा रहेछन्, कि त ज्ञानले हट्दा रहेछन्।
त्यस्तै मेरो एउटा 'महान् बानी' ज्ञानले छुटेको छ। रत्नपार्कमा आमसभा थियो। लक्ष्मण गाम्नांगेसहित बदाम खाँदै बसेका थियौं। बदाम सकिएको पत्तै भएन, बोक्रा चपाउन थालिएछ। साथीहरूले सबै बोक्रा हटाइदिएछन्। म भाषण सुन्दै आफ्नै तालमा दूबो, काठका मसिना टुक्रा टोक्दै थिएँ, एक्कासि जिब्रोमा नमीठो गन्ध ठोकिन आइपुग्यो। यसो हेरेको, उहिलेदेखि सुकेको गोबर पो चपाउँदै रहेछु। त्यो दिनदेखि मैले होस सम्हालेकाले 'टोकटाक बानी' दोहोरिएको छैन।
तपाईंको प्रतिकृया