प्लेइङ फर किप्स
हलिउडको पछिल्लो चलचित्र 'प्लेइङ फर किप्स' को विश्वव्यापी प्रदर्शन आज शुक्रबारदेखि नै प्रारम्भ हुँदैछ। ड्रामा, कमेडी तथा स्पोर्टस् विधाको यो चलचित्रलाई फिल्म डिस्टिङ्क्टले वितरण गर्न लागेको हो। केही यौनजन्य दृश्य तथा भाषाका कारण चलचित्रलाई पिजी सर्टिफिकेट दिइएको छ, जसलाई १३ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकसँग मात्र हेर्न पाउनेछन्। गाबि्रयल मुसिनोद्वारा निर्देशित यो चलचित्रमा गेरार्ड बट्लर, जेसिका बेल, उमा थुर्मान, क्याटरिना जेटा जोन्स, डेनिस क्वेड, जुडी ग्रेरर आदि कलाकारले अभिनय गरेका छन्। चलचित्रको कथा एक जना फुटबल खेलाडीको जीवनमा केन्दि्रत छ। पूर्व फुटबल स्टार आफ्नो करियरलाई त्यागेर आफ्नो घर फर्किएका छन्। खेलाडीका रूपमा सक्रिय हुँदा परिवारबाट टाढिएका ती पूर्व खेलाडी अब आफ्नो छोरासँग सम्बन्ध सुधार्न चाहन्छन्। त्यसका लागि उनले स-साना बालकहरूलाई फुटबलको प्रशिक्षण दिन थाल्छन्। एउटा खेलाडीको जीवनमा के कस्ता उतारचढाव आउँछन्, सफल खेलाडी बन्न के-कस्ता कुरा त्याग गर्नुपर्छ भन्ने सन्देश बोकेको यो चलचित्र खेलकुदप्रेमी दर्शकहरूले हेर्नैपर्ने बताइएको छ।
तपाईंको प्रतिकृया