पर्वतीय चलचित्र महोत्सव
पर्वतीय चलचित्रहरूको अन्तर्राष्ट्रिय महोत्सव काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ) आजदेखि प्रारम्भ हुने भएको छ। काठमाडौंको राष्ट्रिय सभागृह तथा पर्यटन सेवा केन्द्रको सभाहलमा हुने एक साता लामो यो महोत्सवमा स्वदेशी तथा विदेशी पर्वतीय चलचित्रहरू प्रदर्शन हुनेछन्। आगामी मंगलबारसम्म जारी रहने यो दसौं महोत्सवको उद्घाटन समारोहमा वृत्तचित्र 'बहादुर द एक्सिडेन्टल ब्रेभ' प्रदर्शन गरिनेछ। सोही दिन 'ओल्ड डग' शीर्षकको तिब्बतीयन चलचित्र पनि प्रदर्शन हुनेछ।
मनले मनलाई छुन्छ
नायक विरेन श्रेष्ठले निर्माण गरेको चलचित्र 'मनले मनलाई छुन्छ' को सार्वजनिक प्रदर्शन आगामी पुस २७ गतेदेखि प्रारम्भ हुनेछ। शिव रे ग्मीद्वारा निर्देशित यो चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन् भने पटकथा-संवाद मौनता र शिव रेग्मीले तयार पारेका हुन्। वसन्त सापकोटाद्वारा संगीतबद्ध यो चलचित्रमा विरेन श्रेष्ठ, गरिमा पन्त, सुमन सिंह, मिथिला शर्मा, केशव भट्टराई, सिर्जना बस्नेत, शंकर रेग्मी, सुरज प्रजापति आदि कलाकारले अभिनय गरेका छन्।
महँगोमा बिक्यो छड्के
प्रदर्शनको तयारीमा रहेको चलचित्र 'छड्के' दर्शकमाझ पुग्नुअघि नै अस्टे्रलियाको एउटा संस्थाले किनेको छ। नेप्लीज पार्टी इन अष्ट्रेलिया कम्पनीले उक्त चलचित्र ३० लाख रुपैयाँमा किनेको निर्माण पक्षले जनाएको छ। यो चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, अर्पण थापा, दयाहाङ राई, प्रतिकराज न्यौपाने, सुनील पोखरेल आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्। रविन तामाङ, विपिन कार्की, खामेश्वर चुरासिया, निकुन श्रेष्ठ तथा सफल के.सीले यही चलचित्रबाट डेब्यू गरेका छन्।
रोकियो लभ यू म्यान
नेपालमा पुरुष-पुरुषबीचको यौन सम्बन्धलाई मान्यता दिने कानुनको अभाव देखाउँदै सेन्सर बोर्डले चलचित्र 'लभ यू म्यान' प्रदर्शन गर्ने अनुमति दिन नसकिने जनाएको छ। आज शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्रलाई सेन्सर बोर्डले सेन्सर गर्न नसकिने बेहोराको पत्र दिएपछि चलचित्रका निर्माता दिनेश महत तथा निर्देशक बीबी फुयाँल सञ्चारमन्त्रालयसम्म पुगेका थिए।
नो स्मोकिङको घोषणा
निर्देशक सुमन दाहालले चलचित्र 'नो स्मोकिङ' निर्देशन गर्ने घोषणा गरेका छन्। यसअघि सिन्धुपाल्चोकको चिसापानी तथा दोलखाको मुडेमा मात्र छायांकन गर्ने भनिएको यो चलचित्रका केही दृश्यको छायांकन हेटौंडा आसपासमा क्षेत्रमा पनि गरिने भएको छ। चलचित्रको युनिट लो केशन खोज्ने क्रममा अहिले हेटौंडा पुगेको छ। युनिटमा निर्देशक दाहाल, निर्माता मुरारी पोखरेल, गीतकार शंकर अधिकारी (घायल), कोरियो ग्राफर नारायण रिजाल तथा कलाकारहरू सरोज अर्याल सुशान्त श्रेष्ठ छन्।
तपाईंको प्रतिकृया