डनगिरीको पहिचानबाट धेरै टाढा आइसकेँ
आफूलाई कसरी चिनाउनुहुन्छ ?
म भारतीय राजनीतिमा सक्रिय नेपाली मुलको भारतीय हुँ। शिवसेनाको संगठन मजबुत गर्न निरन्तर कार्यरत छु। चाँडै विधानसभामा उम्मे दवार हुने तयारी गर्दैछु। मैले परिदृश्यमा रहेर थुप्रै वर्ष राजनीति गरिसके, अब फ्रन्टमा आउने समय भएको छ। बाला साहेबले सामाजिक क्रियाकलाप गर्दै राजनीति गर भनेर सिकाउनुभएको थियो, बाला सा'बले आफू अगाडि नआउ मोहरा खडा गर भन्नुहुन्थ्यो तर मुम्बईमा रहेका धेरै नेपाली तथा भारतीयहरूको सहयोगका कारण अब आफैंअघि बढ्नु आवश्यक मानेको छु।
तपाईंलाई प्रवासी नेपालीहरूका निम्ति शिवसेनाले जिम्मेवारी दिएको भनिन्छ नि ?
त्यस्तो होइन्, म नेपालमा जन्मिएको नेपाली हुँ, मुम्बईमै तीन दशकभन्दा बढी समय बसिसकेकाले अहिले मैले त्यहाँको नागरिकता पाएको छु। नेपाली भएका नाताले प्रवासी नेपालीलाई कुनै प्रकारको समस्या नआओस् भनेर मैले प्रवासका विभिन्न समितिमा बसेर काम गरेको हुँ। म अहिले पनि महाराष्ट्रको शिवसेना पार्टीमा छु। शिवसेना चित्रपट समितिको माथिल्लो पदमा छु। शिवसेनाकै प्रतिनिधित्व गरेर एसोसिएसन अफ एडिटर्स सोसाइटी पनि हेरिरहेछु।
बालासाहेब बितेपछि अचानक नेपाली राजनीतिमा तपाईंको सक्रियता देखिएको छ नि ?
यसपटकको मेरो नेपाल भ्रमण बालासाहेबको अस्तु सेलाउनमा केन्दि्रत थियो। सा'बले मानसरोवरसम्म अस्तु पुर्याइदिनु भन्नुभएको थियो तर मानसरोवर बन्द भएकाले कागवेनी र मुक्तिनाथमा अस्तु सेलाएर काठमाडौं फर्किए । त्यही क्रममा थाहा पाए, यहाँ शिवसेना नामका तीनवटा पार्टी छन्। हिन्दू राष्ट्र घोषित गरिनुपर्छ भन्ने मान्यता राख्ने एउटै नामका तीन वटा पार्टीका बारेमा बुझ्नु आवश्यक देखियो। त्यसबाहेक हिन्दू राष्ट्रको पक्षमा वातावरण बनाउन अन्य राजनैतिक दलका नेताहरूसँग पनि भेटघाट गरेँ।
जनमतकै आधारमा धर्म निरपेक्ष घोषणा भैसकेको अवस्थामा फेरि हिन्दू राष्ट्र नेपाल सम्भव होला र ?
बाला साहेबले हामी नेपालीलाई माया गर्नुको पहिलो आधार भनेको विश्वकै एक मात्र हिन्दू राष्ट्रका नागरिक भएकाले गर्दा थियो। नेपाल हिन्दू राष्ट्र हो भनेर गर्वका साथ भन्न सक्ने अवस्था थियो। अहिले दलहरूले नबुझेर हिन्दू राष्ट्रको पहिचानलाई उडाएका छन्। नेपालमा माओवादी आन्दोलन उत्कर्षमा रहँदा मैले मुम्बईकै एक कार्यक्रमको भाषणमा भनेको थिए, नेपाल हिन्दू राष्ट्र हो र यो कायम रहनुपर्छ। व्यवस्था परिवर्तन हुनसक्छ, नयाँ राजनैतिक शक्ति उदाउन सक्छ, यसको अर्थ पहिचान नै छोड्नुपर्छ भन्ने होइन्। नेपालमा जातपातका कुरा झिकेर द्वन्द्व बढाउने काम गरियो। आज मुम्बईमा नेपालीहरू साझा पहिचानमा बाँचिरहेका छन् तर नेपालमा जातिय द्वन्द्व बढाइए पछि त्यसको नकारात्मक असर त्यहाँ पनि पर्न सक्छ।
कस्तो किसिमको साझा पहिचान भन्नुभएको ?
मुम्बईमा अहिले थर थापा हुने बित्तिकै त्यो गोर्खाली वा नेपाली हो भन्ने बुझिन्छ। जातले मानिस बाहुन, क्षेत्री वा कथित तल्लो जातको नै किन नहोस् तर उ नेपाली भनेर गर्वका साथ चिनिन रुचाउँछ। केटी थापा त्यस्ता मानिस हुन् जसले कथित तल्लो जातकोलाई पनि थापामा समेटेर नेपालीका रूपमा चिन्ने बाटो बनाइदिए तर अहिले मैले नेपालमा विकराल जातीय द्वन्द्व देखें। बाला साहेबलगायत भारतीय राजनीति गर्ने नेताहरू पनि यहाँ जातीय राजनीति चर्किएको हेर्न चाहँदैनथेँ र चाहँदैनन्। बाला साहेबले जाति धनी र गरिब मात्र हुने बताउनुहुन्थ्यो।
नेपालमा त हिन्दू राष्ट्र चाहिन्छ भन्नेहरू राज परम्परा पनि फर्किएको हेर्न चाहन्छन् नि ?
मैले माथि नै भनिसके, राजनैतिक आन्दोलनले व्यवस्था परिवर्तन गर्न सक्छ। राजा जान सक्छन् । अलोकपि्रय छन् भने उनलाई फ्याँक्न सकिन्छ, तर हिन्दु राष्ट्र भएर के बिगि्रएको थियो? अन्य धर्मावलम्बीहरूले आफ्नो क्रियाकलाप गर्न पाइरहेकै थिए। म पनि ज्ञानेन्द्रलाई राजा मान्दिन्, तर नेपाललाई हिन्दू राष्ट्र बनाउन बलिदान दिन तयार छु। ज्ञानेन्द्रले राजपरम्पराको खिल्ली उडाए, उनी त्यहाँ विराजमान हुन लायक थिएनन् भन्ने पछि पुष्टि भयो।
राजा त विष्णु भगवान मानिन्छन नि ?
हो, राजा विष्णु भगवान हुन्, हामीले मान्दै आएको पनि हो। नेपालको राजसिंहासनमा भगवान शंकरको पनि बास, आशीर्वाद छ। श्रीपेचको महत्व छुट्टै छ, त्यो ख्याल गर्नुपथ्र्यो। शंकरको शिर नेपालमा र बाँकी भारतमा छ तर ज्ञानेन्द्रले यो कुरा बुझेनन्, सिंहासनको बेइज्जत गरे। हिन्दू धर्म हाम्रो पहिचान थियो। आज विश्व राजनीति हेर्नुस् न, धर्ममा विखण्डन आउँदा देश सकिएका छन्। रसिया टुक्रिनुको पछाडि पनि यस्तै कारण थियो। अमेरिका चीनलाई पनि त्यसरी नै बर्बाद बनाउन खोजिरहेको छ। हाम्रा क्रान्तिकारी नेताहरूले हिन्दू राष्ट्रलाई छोड्दा उनीहरूको घर कसरी भत्कँदै गएको छ देखिएकै छ।
भनेपछि धर्ममा बिचलन आएकैले नेताको घरमा पनि समस्या देखिएको हो ?
घरमा मात्र किन, उनीहरू पार्टी र आफ्नै कार्यकर्ताबाट पनि खेदिन थालेका छन्। घृणा बढ्दो छ। नेता उसको परिवार, पार्टी, समाज र कार्यकर्ता सबैतिर बिचलन बढेको छ। उनीहरूको मनमा शान्ति छैन्। हिंसा बढेको छ। हिन्दु धर्मलाई उडाउनेहरूलाई सुख छैन्। आमा-बाबुको महत्व छैन भनेर कुलङ्गार छोराले निर्णय लिएजस्तै निर्णय लिइएको हो, हिन्दु राष्ट्रको चिनारी उडाउने काम। आमा-बाबुलाई गलहत्याउने कुलङ्गार कहिल्यै पनि सुखका साथ बाँच्न सक्दैन्। देशलाई स्विट्जरल्यान्ड र सिंगापुर बनाउँछु भनी हतियारको राजनीति गरेर सत्ता पाउनेहरू ९ महिनामै जहाज छोडेर भाग्ने क्याप्टेन भए, यसबाट पनि उनीहरूको अवस्था बुझ्न सकिन्छ।
भारतले नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने अनि आफूचाहिँ धर्म निरपेक्ष राष्ट्रकै रूपमा रहने, यो आफैंमा विवादास्पद कुरा होइन ?
भारत लामो समय बेलायती उपनिवेशका रूपमा रह्यो। स्वतन्त्रतापछि पनि जात र धर्मका कारण पाकिस्तान र बंगलादेश छुट्टिए। अहिले पनि भारतमा मुस्लिम समुदायको उपस्थिति छ, तै पनि हिन्दू धर्म मान्नेहरू धेरै भएकाले त्यहाँ पनि हिन्दू धर्मका विषयमा शिवसेनाले बोल्दै आएको छ। शिवसेनाको सक्रियता नहुने हो भने अन्य धर्मका व्यक्तिहरूले भारतमा थुप्रै गतिविधि गरिसक्थे। हामी हिन्दू धर्मबाट धेरै पर पुगिसकेको यथार्थ हो। लोकतान्त्रिक विधिबाट सरकार निर्माण हुने भएकाले त्यहाँ धेरै समययता गठबन्धन सरकार बनिरहेको छ। भारतको एक प्रमुख पाटीर् की मूल नेतृ नै इसाई धर्मावलम्बी छिन्। उनी हिन्दू गतिविधिलाई फिटिक्कै मनपराउँदिनन्। हामी त्यसको डटेर विरोध गरिरहेका छौं। भारतमा अन्तर्राष्ट्रिय प्रभाव पनि उत्तिकै छ। यद्यपि कुनै दिन हिन्दुस्तानको राजनीतिमा हिन्दू धर्मको संरक्षणमा लाग्नेहरू नेतृत्वमा आउने निश्चित छ। त्यसपछि भने हामी आफ्नो चाहना पूरा गर्न सक्षम हुनेछौं।
नेपाल पनि धर्म निरपेक्ष घोषणा भैसकेको छ, अब र्फकन गाह्रो छ नि, होइन र ?
नेपालमा ८० प्रतिशतभन्दा बढी जनता हिन्दू धर्मावलम्बी छन्। त्यसपछि बुद्धिष्ट, इसाई, इस्लाम धर्मावलम्बी छन्। अन्य धर्मावलम्बीलाई क्रियाकलाप गर्न दिन हिन्दू धर्मले कुनै रोकतोक गर्दैन। ८० प्रतिशत जनताको अभिभावक हो हिन्दू धर्म। अहिले पनि जनताको मत लिएर निणर् य लिने हो भने हामी त्यो निर्णय मान्न तयार छौं तर व्यवस्थाको विरोध गरेर आन्दोलन गर्नेहरूले जनताले रोज्ने धर्मको बारेमा निर्णय लिन पाउँदैनन्। यदि जनताले नै हिन्दू धर्म चाहिँदैन भन्छन् भने त्यतिबेला हाम्रो चासोमा प्रश्न चिह्न खडा गर्न सकिन्छ। घोषणा भए पनि त्यो जनतालाई मान्य छैन यसकारण हिन्दू राष्ट्र फेरि नेपालको पहिचान कायम हुनेछ।
बाला साहेबले चाहिँ किन नेपालीहरूलाई च्यापेर ग्याङस्टर राजनीति बढाएका होलान् ?
बाला सा'ब, सामाजिक हितका निम्ति काम गर्ने नेता हुनुहुन्थ्यो। राजनीति कम सामाजिक अभियान बढी भन्ने उहाँको भनाइ रहन्थ्यो। सत्ता नेतृत्वमा सही व्यक्तिलाई पुर्याएर मात्र समाज एवं राष्ट्रको विकास हुन्छ भन्ने उहाँको मान्यता थियो। नेपाल हिन्दू राष्ट्र भएकाले हिन्दूबादी नेपालीहरूप्रति उहाँले सधैं माया दर्शाउनुभयो, यसको अर्थ ग्याङस्टर, डन गिरी वा दादागिरी गरेको होइन्, अन्यायमा परेकाहरूलाई सामाजिक न्याय दिने प्रयास गरेको हो। मैले पनि आजसम्म कुनै गलत काम गरेको छैन। सा'बले नेपालीहरूलाई सधैं भन्नुहुन्थ्यो, चोरी डकैती र बलात्कार जस्ता घटनामा तिमीहरूको संलग्नता भएन भने म सधैं तिमीहरूलाई सहयोग गर्छु।
प्रान्तिय दंगा हुँदा तपाईंहरूलाई उपयोग गरेर शिवसेनाले राजनीति गरेजस्तो लाग्दैन ?
हेर्नुस्, हामी शिवसेनाका कार्यकर्ता हौं, त्यसकारण महाराष्ट्रमा कुनै पनि दंगा वा घटना हुँदा हामी सक्रिय हुन्छौ, यो स्वाभाविक कुरा हो। हामी नेपालीले शिवसेनाको राजनीतिमा स्थान पनि पाएका छौं नि, त्यो कुरा पनि हेर्नुपर्यो। चम्पा दाई, केटी थापा, अशोक नेपाली र म आफ्नो विगतको पृष्ठभूमिभन्दा फरक शिवसेनाका कार्यकर्ता हौं। दंगाफसाद हुँदा युपी, बिहार तथा बंगलादेशका बासिन्दाहरूले दुःख पाउँछन् तर एउटै नेपाली त्यसको मारमा पर्दैनन्। शिवसेनामा नेपाली कार्यकर्ता भएकाले नेपालीको संरक्षण भएको हो। मुम्बईमा अहिले लाखौं नेपाली शिर ठाडो पारेर बाँचिरहेका छन्। ठाकरे परिवारले हामीलाई चोखो माया दिएको छ।
भारत पसेपछि तपाईं कति पटक नेपाल आउनुभयो ?
म अहिले तेस्रो पटक आएको छु। यसअघि अन्नु कपुरले चलाउने टेलिभिजन सो अन्ताक्षरी कार्यक्रम लिएर आएको थिए। मेरा बुबा असम छो डेर बुटवलको वल्लो सिद्धेश्वर मन्दिरमा पुजारी बनेर बस्नुभएको रहेछ। थाहा पाएर एकपटक भेट्न बुटवल आएको थिए, अहिले बुबा वितिसक्नुभयो। त्यसपछि अहिले सा'बको अस्तु लिएर आएको।
बाला साहेबसँग अन्तिम पटकको भेट कहिले भएको थियो ?
बाला साहेबको अन्तिम औपचारिक कार्यक्रम मैले नै आयोजना गरेको थिए। त्यो तुलादान कार्यक्रम थियो। सा'बको महारुदि्रभिषेक तथा महामृत्युन्जयका लागि आयोजित तुलादानमा एकपट्टी बाला सा'ब र अर्को पट्टी नेपालबाटै झिकाइएको रुदाक्षको माला थियो। बिहान ९ बजेदेखि ७ बजेसम्म बसेर उहाँले पूजा गर्नुभएको थियो। सा'बले त्यही बेला उहाँका योग्य छोरा उद्धव ठाकरेलाई राजनीतिमा सहयोग गर्न भन्नुभयो। सा'बले मेरो उत्तराधिकारी उद्धव हो, उसलाई सक्दो सहयोग गर्नु भन्नुभएको थियो।
भारतीय मिडियाले त बाला साहेबले ग्याङस्टर राजनीतिको बलमा आफ्नो प्रभुत्व जमाएका थिए, अब ठाकरे परिवारले त्यो बिडो थाम्न सक्दैन भन्छन् नि ?
मिडियाले त के-के भन्छ, भन्छ नि। उद्धव ठाकरे एकदमै क्यापेवल छन्। म उनलाई २२ वर्षदेखि चिन्छु। विदेशमा पढेलेखेका छन्। पान, बिडी, रक्सीको कुलत छैन। पार्टी अध्यक्षका रूपमा उनले शिवसेनालाई हिन्दुस्तानभरी फैलाउनेछन्। उनी राहुल गान्धीभन्दा तगडा नेता हुन्। राज ठाकरे फटाहा भएकाले पनि ठाकरेहरूको राजनीति सकियो भनिएको हो तर शिवसेनाको राजनीति छुट्टै पार्टी खोलेर बसेका राजको जस्तो हो इन्। अब महाराष्ट्रमा शिवसेनाको नेतृत्व आउने निश्चित छ। उद्धव ठाकरेको योग्यता त राजेश हमालले पनि बुझेका छन्। राजेश थुप्रै घन्टा उद्धवसँग कुराकानी गरेर बसेका थिए।
अब त उमेर पनि ढल्कँदो छ, तपाईंले मसल पावरको राजनीति कहिलेसम्म गर्नुहोला ?
महाराष्ट्र प्रहरीमा मेरो जस्तो नजिकको सम्बन्ध सम्भवतः कमैको होला। मैले हालै मात्र तीनवटा मर्डर केसमा महाराष्ट्र प्रहरीलाई विस्तृत अनुसन्धान गरेर सहयोग गरेको थिए। मैले आफ्नो पावर सही काम र कानुनका निम्ति प्रयोग गरेको छु। गोकुल नेपाली भन्ने नेपाली मारिदा उनको परिवारलाई महाराष्ट्र सरकारबाट ७ लाख रुपैयाँ निकासा गरिदिए। भारतिय सरकार र प्रहरी प्रशासनले मलाई सहयोगीका रुपमा चिनेको छ। यसबाटै प्रष्ट हुन्छ म तपाईंले भनेजस्तो दादागिरीको पहिचानबाट धेरै पर आइसके। अहिले म नेपाल भारतको सम्बन्ध अझ गाढा बनाउन मुम्बईमा वाणिज्य दूतावास स्थापनाका लागि पहल गरिरहेको छु। सरकारले मुम्बईमा वाणिज्य दूतावास राख्ने निर्णय पनि लिइसकेको छ।
मुम्बईमा बस्न कमाउनु त पर्ला, तपाईंको आम्दानीको स्रोत ?
मेरो सेक्युरिटी एजेन्सी छ। जसले सेक्युरिटीका सबै काममा सेवा उपलब्ध गराउँछ। पर्सनल बडि गार्डदेखि ठूला-ठूला कार्यक्रममा सेक्युरिटीको कामका लागि बोलाइन्छ। त्यसबाहेक ल्यान्ड प्रोपर्टी बिजनेसमा संलग्न छु। यो बिजनेसले मलाई खान पुग्ने आम्दानी दिएको छ। त्यसबाहेक अन्यायमा परेकाहरूले सहयोग माग्छन्, कानुन हातमा नलिई सहयोग गरिदिन्छु।
वाणिज्य दूतावासको पहल भैसकेको रहेछ, त्यसमा तपाईको चासो किन ?
मुम्बईमा बस्ने प्रवासीको पीडा तपाईं यहाँ बसेर बुझ्न सक्नुहुन्न। कुनै समस्या परेर दिल्लीस्थित नेपाली नियोगमा फोन गर्यो भने त्यहाँको रिसेप्सनिष्ट हिन्दीमा कुरा गर्न रुचाउँछे। डेढ लाख नेपाली महिला महाराष्ट्रको जेलमा छन्। मुम्बई आउने नेताहरूलाई समस्या सुनाउँदा उनीहरू ठाडो कान लगाउँदैनन्। मलाई लाग्छ, नेपालका नेताहरूलाई नेपाली जनताप्रति कुनै माया नै छैन्, प्रवासी नेपालीको त झन् के कुरा ? वाणिज्य दूतावासको विषयमा मैले अहिलेका नेपालका प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराएको छु। वाणिज्य दूतावास तुरुन्तै स्थापना गरेर त्यहाँका नेपालीहरूको समस्यामा चासो देखाउनुपर्छ।
तपाईंले विवाह पनि दबंग स्टाइलमा गर्नुभएको रहेछ नि ?
मेरी श्रीमती पाल्पा गेजाकी पाण्डे बाहुनकी छोरी हुन्। मुम्बई बस्दै आएको पाण्डे परिवारले खासगरी केटीका बाबुले आनाकानी गरेका थिए। मेरो जात स्पष्ट छैन भन्ने उनको भनाइ थियो तर विवाह गरियो। अहिले ६ वर्षकी छोरी र ३ वर्षका छोरा छन्। अहिले त उनको परिवारले पनि मलाई राम्रो मान्छ।
जन्मभूमिका लागि केही गर्ने योजना बनाउनुभएको छ ?
विवाह नगरुन्जेल कमाइयो, त्यत्तिकै खर्च पनि गरियो। ९ सालयता मलाई पुग्ने कमाइसकेको छु। अब नेपालका लागि केही गर्नु छ। यसपटक मुस्ताङ जाँदा थुप्रै स्थानमा कन्चन झरना देंखे। त्यो पानी त्यसै खेर गैरहेको छ। देश अन्धकार रहेछ। बिजुली बत्तीका लागि हाइड्रोपावरमा लगानी गर्ने वातावरण निर्माण गर्छु। हिन्दु धर्मको अभियानलाई पूर्वदेखि पश्चिमसम्म सञ्चालन गर्नेछु। मुम्बईमा बस्ने कतिपय नेपालीहरू आफूले कमाएको पैसा रक्सी र वेश्यावृत्तिमा उडाउँछन् त्यसलाई कम गर्न पहल गर्छु। नेपाल विकसित मुलुक बन्ने थुप्रै आधार छन्। यहाँ सुरक्षा उपलब्ध हुने हो भने मुम्बईका उद्योगपतिहरूलाई लिएर म आफैं काठमाडौं आउनेछु।
डन शैली

मास्टर थापाको आवरणमा गजबको अपिरियन्स झल्कन्छ। उनको हाउभाउ र बोल्ने शैलीबाट उनी खतरनाक डन हुन कि भन्ने लाग्नसक्छ। बाक्लो जुँगा मुसार्दै बाघको शैलीमा अच्छा क्या नाम र मुम्बइया टिपिकल शब्द उच्चारण गर्ने मास्टर थापा वास्तवका संजय दत्त झैं लाग्छन्। कुराकानीका क्रममा उनी पटक-पटक व्यक्तिको नाम लिँदै ए त्यो गान्डु भनिरहेका हुन्थे। गान्डुको अर्थ बच्चा रहेछ। उनी मुम्बईमा चल्ता पुर्जा हुनुका पछाडि उनको विगतको क्रियाकलाप हो। कसैसँग नडराउने मास्टरले सामाजिक हितका निम्ति दादा बनेर हिँडेको बताए। मलाई डनका रूपमा प्रस्तुत नगर्नुहोला, म पूर्णरूपमा सामाजिक कार्यकर्ता हुँ, उनले भने, म आफ्नो देशमा आएर सामाजिक सेवा गर्ने इच्छुक छु, डनभन्दा नकारात्मक सुनिन्छ। विगतको ग्याङस्टर जीवनशैलीमा उनी धेरै पटक जेल पनि गैसकेका छन्। बाला साहेब झैं कुनै बेला अन्यायमा परेकाह रूका निम्ति मसिहा बनेर काम गर्दा कानुनी अड्चनमा परेको उनले बताए। हिन्दी र नेपाली भाषा मिसाएर बनेको खिचडी शैलीमा उनको बोल्ड भ्वाइस जो कसैलाई तर्साउन पर्याप्त छ। नेपाली श्रमिक मजदुर युनियनका अध्यक्ष मास्टरले मुम्बई बस्दा भाँडा मोल्नेदेखि दरबानसम्मको काम गरेका थिए। चौकिदारीकै क्रममा एक दादासँगको लडाइँमा उनको जित भएपछि फिल्मी शैलीमा उनलाई ग्याङस्टरमा समावेश गरिएको थियो। व्यक्तिको पैसा कसैले खाएर डुबाइदिएको अवस्थामा उनीहरूको पैसा उठाइदिनु सामाजिक उत्तरदायित्व भएको मास्टरको जिकिर छ। जीवनशैली जस्तो भए पनि भारतीय परिवेशका ख्यातिप्राप्त व्यक्तित्वहरूसँग उनको शालिन सम्बन्ध छ। मास्टरका अनुसार महाराष्ट्रका मनोहर जोशीदेखि भारतीय सिने जगतका महानायक अमिताभ बच्चनसम्मले उनलाई सहयोगीका रूपमा चिन्छन्। ने पालका उपेन्द्र यादव, पम्फा भुसाल तथा कमल थापासँग नजिकको सम्बन्ध रहेको उनले सुनाए। मुम्बईमा बेचिएका नेपाली चेलीहरूको उद्धारमा समेत सक्रिय मास्टर जिम्मेवारी दिए राष्ट्रहितका निम्ति अझै धेरै गर्नसक्ने दाबी गर्न पनि चुक्दैनन्।
तपाईंको प्रतिकृया