फ्रन्टपेज

गृहपृष्ठ » » फ्रन्टपेज » लेखहरु »

मुम्बईका नेपाली मास्टर

बहादुर .....

नेपाली ढाकाटोपी पहिरिएको सात वर्षको फुच्चे केटोलाई मुम्बईको एउटा गल्लीमा भेट्दा मारवाडी सेठले सम्बोधन गरेका थिए।

सानो बहादुरले ठूल्ठूला आँखाले पुलुक्क सेठलाई हेर्‍यो।

'तुम देखनेमे अच्छे लगते हो, चलो मेरे साथ, मै तुम्हे काम दिलाउंगा'

सेठले बहादुर भनेर लगाइदिएको ट्यागमै यो फुच्चेको नयाँ जीवन प्रारम्भ भएको थियो। ऊ गोर्खाली भएकाले सेठले बहादुर भनेको थियो, तर  बलपूर्वक गरिने काममा खरो उत्रन सकेकाले अहिले त्यही फुच्चे मुम्बईमा बहादुर नेपालीका रूपमा चिनिन्छ।

मास्टर थापा अर्थात् राज ठाकुर उनको परिचय हो। उनले ३६ वर्ष लगातार मुम्बईका विभिन्न गल्ली नापेका छन्। कुनै समय ग्याङस्टरका रू पमा चिनिए पनि थापाकै शब्दमा अहिले उनी सामाजिक कार्यकर्ता हुन्। हालै मात्र दिवंगत भएका महाराष्ट्रका चर्चित नेता तथा शिवसेना  प्रमुख बाला साहेब ठाकरे निकटस्थ थापाले २४ वर्ष ठाकरे परिवारको संगतमा बिताए।

'म शिवसेनामा प्रवेश गरेको २८ वर्ष भैसक्यो, बाला साहेबसँगको निकट परिचयमा २४ वर्ष बिताइसके' बाला साहेब ठाकरेको अस्तु  मुस्ताङको मुक्तिनाथमा सेलाएर फर्कने क्रममा काठमाडौंमा भेटिएका मास्टरले साप्ताहिकसँग भने, 'सामाजिक कार्यका मसिहा बाला साहेबसँग  काम गर्न पाएँ, उहाँसँगको संगतले मैले मुम्बईलगायत प्रवासी भारतीय नेपालीहरूको हितका निम्ति काम गर्न पाएको छु।'

अनौपचारिक ढंगले मुम्बईमा रहेका दस लाख नेपालीको संरक्षणका लागि आफू समर्पित भएर सक्रिय रहेको मास्टरले बताए। 'मुम्बईमा  जुनसुकै दंगा फसाद हुँदा एउटा पनि नेपालीले त्यसको मारमा पर्नुपर्दैन,' मास्टर भन्दै थिए-'महाराष्ट्रमा नेपालीलाई चलाउनु भनेको असामान्य  स्थिति पैदा गर्नु हो भन्ने अन्य सबै समुदायले बुझिसकेका छन्।' बाला साहेब स्वयंले पनि नेपालीहरूलाई माया गर्ने भएकाले उनको टिममा  रहेका नेपालीहरूले मनोबल उच्च बनाउन सकेको मास्टरको कथन थियो। मास्टर भन्छन्, 'बिहार र युपीका नागरिकलाई महाराष्ट्रको स्थानीय  समुदायले घृणा गर्ने परम्परा भए पनि नेपालीहरू त्यहाँ सम्मानित जीवन बाँचिरहेका छन्।'

मास्टर थापा मुम्बईमा बलिउडलाई काम गर्न अनुमति प्रदान गर्ने शिवसेनाको चित्रपट शाखा 'भिजिलेन्ट डिपार्टमेन्टका भाइस प्रेसिडेन्ट' तथा  एसोसिएसन अफ फिल्म एन्ड भिडियो एडिटर्सका एक्टिभ भाइस चेयरमेन' का रूपमा कार्यरत छन्। यी संस्थाहरूमा अमिताभ बच्चनदेखि  पछिल्लो पुस्ताकी नायिका सोनाक्षी सिन्हासम्मले सदस्यता लिएर मात्र काम गर्न सक्ने उनको दाबी छ। मास्टरका अनुसार हाल उनी १३ वटा  सामाजिक संस्थामा माथिल्लो पदमा रहेर सामाजिक कार्य गरिरहेका छन्। जसमध्ये झन्डै आधादर्जन प्रवासी नेपालीका संस्था हुन्।

बाला साहेब ठाकरेकोमा कुनै बेला १५ जना नेपाली कार्यरत थिए, अहिले तीन जना उनकै घरमा कार्यरत छन् भने मास्टरलगायत केही बाहिर  रहेर पनि घरसँग सोझो सम्बन्ध राख्छन्। मास्टरका अनुसार केही नेपाली इनकाउन्टरमा पनि मारिए। 'गलत बुझाइका कारण केही नेपालीले  अनाहकमा मृत्युवरण गर्नुपर्‍यो' मास्टर सम्झन्छन्, 'उनीहरू केही हदसम्म गलत कार्यमा सक्रिय पनि थिए, तर मैले समयमै सामाजिक  क्रियाकलापतर्फ आफूलाई ढाल्न सफल भएकाले त्यसप्रकारको घटनाबाट जोगिएँ।' बाला साहेबले समाजको बृहत्तर हितका निम्ति मात्र बल  प्रयोग गर्नु भनेर दिएको सल्लाहले आफूलाई सामाजिक कार्यकर्ता बन्न अभिप्रेरित गरेको मास्टरले बताए।

नेपाल आएका बेला मास्टरले यहाँ स्थापना भएका तीनवटा शिवसेना पार्टीका बारेमा विस्तृत जानकारी लिए। 'पार्टी त एउटा पो हुन्छ, उनले  भनें, यहाँ उही नाममा तीनवटा पार्टी रहेछन्। मुम्बई पुगेर यसको छिनोफानो गर्दैछु।' मास्टर थापा नेपाललाई हिन्दु राष्ट्र बनाएरै छोड्ने  प्रतिबद्धता लिएको पनि बताउँछन्।

बालासाहेबसँग निकटस्थ नेपाली

ठाकरे परिवारको घरमै ३२ वर्ष बिताएका चम्पा थापालाई बालासाहेबले छोरा सरह मान्ने गरेका थिए। ठाकरे परिवारका निम्ति चम्पा दाइ  सबैभन्दा निकट मानिन्छन्। मास्टरका अनुसार केटी थापा पनि नमरुन्जेल परिवारकै सदस्य बराबर थिए। चम्पालाई मास्टरले दाइ भन्ने  कारणले चम्पाको भाइका रूपमा उनले पनि माया पाए। कुक हरि भण्डारी पनि ठाकरे परिवारका भित्रिया हुन्। करिब १५ वर्ष कुकका रूपमा  कार्यरत भण्डारी हाल बालाका उत्तराधिकारी छोरा उद्धव ठाकरेका निम्ति काम गर्छन्। चम्पाकै भरमा बालाले मास्टरलाई नेपाली समाजको  लिडर बनाइदिएका थिए। मास्टर बाला साहेब ठाकरेसँगै उनको अंगरक्षक भएर पनि धेरै पटक देखिए। बालासाहेबको राजनैतिक सामाजिक  करिअरलाई आधार बनाएर रामगोपाल बर्माले चलचित्र सरकार तयार पारेका थिए। बालासाहेबको अंगरक्षक बनेका मास्टरको क्यारेक्टर पनि  उक्त चलचित्रमा थियो। मास्टर भन्छन्-'रामुको सरकारमा प्रस्तुत तालु बडिगार्डको क्यारेक्टर मलाई हेरेर नै तयार पारिएको हो।

को हुन मास्टर थापा

मास्टर थापा स्याङजामा जन्मिएका नेपाली हुन्। ४ वर्षको उमेरमा उनी आमाका साथमा बुबा बस्दै आएको भारतीय

राज्य असमको गुहाटी  सहर पुगेका थिए। मास्टरका बुबा त्यहाँ मालीको काम गर्थे। आमा र आफूभन्दा ठूली दिदी गुहाटीमै बितेपछि उनी जेठी दिदीकहाँ बस्न पुगे।  त्यही डनबस्को स्कुलमा उनको शिक्षा प्रारम्भ भयो। भिनाजु स्थानीय महाजनसँगको सहकार्यमा सयौं गाईभैंसी पालेर बसेका थिए। डनबस्कोमा अध्ययनकै क्रममा उनकी दिदी नेपाल आइन्, त्यसपछि भिनाजुका साथमा बसेका मास्टर अलपत्र परे। भिनाजुले ३ महिनासम्म स्कुलको फी (४५ रुपैयाँ) दिएनन् र त्यहाँबाट उनको नाम काटियो। 'धेरै पटक अनुनय विनय गर्दा पनि भिनाजुले पैसा तिर्दिएनन्, भिनाजुसँग एकदमै रिस  उठेको थियो, तर रिस पोख्ने कुरा भएन' मास्टरले सम्झिए, 'केही नभनी म त्यो घरबाट निस्किए, गुहाटी पल्टनबजारमा सरसफाइको काम  सुरु गरें।' त्यहीबीच दिल्लीबाट आउने एउटा पन्जाबी सेठले आफ्नो साथमा उनलाई दिल्ली हिँड्न उक्सायो। राम्रो काम र दाम पाइन्छ भनेर  उनी दिल्ली हिँडे। सेठले दिल्लीको स्थापित व्यवसायी एमएस चावलाको घरमा काम गर्न राखिदियो। 'त्यहाँ काम गर्ने क्रममा साहूनीले घिउ  तताउन आउँछ भनेर सोधिन, मैले आउँछ भने' मास्टरले भने, 'हामी नेपालीहरू घिउ धेरैबेर तताउनुपर्छ भन्ने सोच्थ्यौं तर उनीहरू घिउ धेरै  समय पकाउँदा त्यसको असली वासना हराउँछ भन्दा रहेछन्।' घिउ डढने गरी पकाएको भनेर साहूनीले गाला चड्काइन, जंगी स्वभावका  मास्टर दिल्ली ल्याउने सेठकहाँ पुगे। उनले आफूलाई फेरि गुहाटी फर्काइदिन आग्रह गरे। उनी र्फकने तयारीमा थिए । त्यही क्रममा छेवैमा  रहेको घर साहूनीको आमाको घरमा उनी पुगे, जहाँ उनीभन्दा ४-५ वर्ष जेठो बिहारी केटो काम गथ्र्यो। गुहाटी र्फकने योजनामा रहेका मास्टर  त्यो घरमा पुगेपछि उनको गन्तव्य बदलियो। टेलिभिजनमा धर्मेन्द्र र रणधिर कपुर अभिनित चाचा भतिजा आइरहेको थियो। उक्त चलचित्र हेरे पछि उनले बिहारीसँग मुम्बई जाने सल्लाह गरे। पन्जाबी सेठ उनलाई गुहाटी जाने ट्रेनमा चढाउन आयो। साथमा केही तलब पनि दिएको  थियो। ट्रेन चढेर अर्को साइडको ढोकाबाट ओर्लिएर उनी फेरि विहारी काम गरिरहेको घरमा पछाडिबाट चढेर छतमा पुगे। दुई जनाको  तलबबाट ८१ रुपैयाँको मुम्बईको टिकट काटी २५ रुपैयाँ बचेको अवस्था थियो। उनीहरू त्यही २५ रुपैयाँका साथमा जाडोयामको एक बिहान  मुम्बई पुगे। बिहारी जाडोले कामिरहेको थियो। '५० रुपैयाँ भनेको च्यादरलाई २५ मा दिन्छस् मात्र भनेका थियौं।' उनले भने, 'धेरै पैसा  हालिएछ, क्यारे तुरुन्तै दियो।' अब खल्तीमा रहेको ढ्याकहरू सबै खोतलखातल गर्दा दुवै जनासँग ६ रुपैयाँ ५० पैसा निस्कियो। उभिरहेकै बेला  एउटा बिहारी आयो, उसले मरिन लाइन पुर्‍यायो। म काम दिलाइदिउँला भनेर भएको साढे ६ रुपैयाँ पनि त्यसले ठग्यो। तिमीहरू बस्दै गर म  काम मिलाएर आउँछु भनेर हिँडेको मानिस भोलिपल्टसम्म नआएपछि, छेवैमा रहेको नरिबल पानी बेच्ने व्यापारीले उनीहरू ठगिएको जानकारी  दियो। मास्टरका अनुसार त्यही पीडा अनि भोकले रन्थनिरहेका उनीहरूले मरिन लाइनको एउटा पानी बेच्ने पसलमा ५-५ ग्लास पानी तन्काए।  खल्तीमा पैसा थिएन तर उनीहरूले प्रतिग्लास १० पैसा पर्ने पानी पिइसकेका थिए। ईश्वर नामको पानी साहूले पैसा उठाउने बहानामै उनीह रूलाई काममा लगायो। साहूले सुरुमा उनीहरूलाई नुहाउन पठायो। त्यसपछि उनीहरू पानी बेच्न थाले। मुम्बई हाइकोर्ट अगाडिको पसलमा  प्रतिमहिना ५० रुपैयाँका दरले उनले २ महिना काम गरे। त्यही क्रममा भेटिरहने दुई जना सेठले उनलाई खुबै मनपराउँथे। साहूले खाना  ख्वाउने र फुटपाथमै सुत्ने दिनचर्या थियो उनीहरूको। यस्तै मुम्बई मेट्रो हस्पिटल पछाडि क्याफे सेसेल नामको रेस्टुराँमा एउटा नेपाली वेटरका  रूपमा काम गथ्र्यो । उसले फुटपाथमा के सुत्छस् आइज म काम गर्ने ठाउँमा भनेर लिएर गयो। होटलमा डेढ महिना भाँडा उठाउने काम  गरेपछि आफूलाई मन पराउने एक सेठ खाना खान त्यही आइपुग्यो। त्यसपछि मास्टरले डालमिया कलेज सुन्दरनगर अगाडि गाडीमा डोसा बे च्ने काम थप डेढ महिना गरे। काम गर्दै जाँदा छोरीलाई डालमिया कलेज सुन्दरनगर पुर्‍याउन आएको अर्को सेठ गोरा गान्धी बिल्डर्सको  म्यानेजर धनेष भाइ  सेठले कामकै लागि जान प्रस्ताव गर्‍यो। उनीसँगै मुम्बई गएको बिहारी केटो कालो भएकाले उसप्रति कसैले पनि खासै  चासो दिँदैनथे। मास्टरले पछिल्ला दिनमा खोज्दा त्यो केटो केटी बेच्ने दलाल भएको रहेछ। धनेष भाइ सेठले मास्टर र थापालाई गोरा गान्धी  बिल्डर्समा सेक्युरिटीको इन्चार्जमा जागिर दियो। २ वर्ष त्यहाँ बसेपछि किशोर उमेरको बलियो केटो मास्टर बिल्डर्स मालिकको अंगरक्षक बन्न  पुग्यो। मास्टरले त्यहीबीच मार्सल आर्ट्स सिके। सेक्युरिटीको काममा अनुभव हासिल गरेपछि उनले सेक्युरिटी एजेन्सी सञ्चालन गरे। शिवसे नाको कार्यालय स्थापना भएको डनहरूको मुख्य अखडा लालबागमा उनले कम्पनी सञ्चालनमा ल्याएका थिए। खतरनाक अपराधिक क्षेत्र  मानिने लालबागबाट संगठन स्थापना गरे पनि त्यसपछि स्वयं बाला साहेब पनि कहिल्यै दोहोर्‍याएर उक्त क्षेत्रमा नपुगेको मास्टरले सुनाए।  मास्टर शिवसेना लालबाग शाखासँग नजिकिए। त्यसको प्रारम्भिक सुत्र कृष्ण सिंह अर्थात् केएनसिंह थिए। मुम्बईकै एक क्षेत्रका दादाका रूपमा  चिनिएका केएन उर्फ ब्रुसलीले मास्टरलाई डन केटी अर्थात् खिमलाल तुलसीलाल थापाकहाँ पुर्‍याए। केटी त्यतिबेला बाला साहेबको नजिक  रहेर ख्याति कमाइसकेका डन थिए। केटीको संरक्षणमा मास्टर उक्त क्षेत्रमा हिरो भैसकेका थिए। सेक्युरिटी कम्पनीले सर्भिस सुरु गर्ने क्रममै  उनले लालबागमै मार्सल आर्ट्स इन्स्टिच्युट पनि संचालनमा ल्याए। किक बक्सिङको उक्त क्लासले उत्पादन गर्ने जनशक्ति मास्टरको ग्याङमा  सामेल हुन्थ्यो। लालबागको ग्याङस्टर भनेपछि नडराउने कोही थिएनन्, मास्टर भन्छन्, 'हामीले कसैको घरमा अटेर गरेर बस्नेलाई खाली  गराउनुपर्ने तथा कसैको पैसा उठाइदिनुपर्ने लगायतका अपराधिक नठहरिने किसिमका काममा पनि हात हालिसकेका थियौं।' मास्टरका अनुसार  केटी थापाको योगदानले गर्दा मुम्बईमा नेपालीहरूलाई कसैले हात नहाल्ने वातावरण बनेको थियो। ३ दशकको करिअरमा उनले पनि कहिल्यै  नेपालीहरूमाथि हात नहालेको दाबी गरे। बाहुनदेखि कथित तल्लो जातका सम्म सबैले थापा थर जोड्नुका पछाडि आफूलाई नेपाली भनेर  चिनाउने आधार भएको मास्टरको कथन थियो।

केटी थापाको समूह मुम्बईको स्थापित समूह थियो, जो राजनीतिक दलको आडमा आफ्नो कार्य गथ्र्यो। 'केटी थापाको समूहमा भए पनि  ग्याङवारमा म खासै सामेल भइन्' उनले भने, 'म अरूको सम्पत्तिको सेटलमेन्टमै लागिरहे, यसले मलाई सामाजिक क्रियाकलापतर्फ अग्रसर  गरायो।' त्यसबीच मास्टर भारतीय प्रहरीका आइजी एस रामा कृष्णमूर्तिका भाइको पर्सनल बडिगार्ड भए। ११ वर्ष उनी कृष्णमूर्तिको बडिगार्ड  हुँदा उनलाई बालासाहेबले राजनीतिक तथा सामाजिक क्रियाकलापमा लाग्ने बाटो देखाइदिए। शिवसेनामा उपसम्पर्क प्रमुख रहेका अशोक ने पालीले मास्टरलाई शिवसेनाको मुख्य संगठनमा तानेका थिए। बालासाहेबले उनलाई प्रष्ट रूपमा प्रवासी नेपाली र बलिउडसँग सम्बन्धित रहेर  काम गर्ने निर्देशन दिएका थिए। १९९३ को मुम्बई कान्डपछि मास्टर बालासाहेबसँग पूर्ण रूपमा जोडिए। आइजी नजिकको परिचय बनाएपछि  उनलाई आफ्नो गतिविधि बढाउन थप सहज भयो। हाल मुम्बईस्थित शिवसेना नेपाल च्याप्टरका प्रमुख मास्टर विगत १६ वर्षयता विना तलब  बालासाहेबको निकट रहेर समाजसेवामा लागेको बताउँछन्। नेपालीहरूलाई बहादुर बन्ने मात्र होइन्, व्यापार व्यवसायमा हात हाल्न अग्रसर  गराउ, बाला साहेब भनिरहनुहुन्थ्यो, मास्टरका अनुसार हामीले थुप्रै नेपालीलाई त्यहाँ अघि बढ्न इनकरेज गरेका छौं। मास्टर नेपालीहरूमा त  लोकपि्रय छँदैछन्, भारतीयहरूमाझ पनि उत्तिकै

प्रिय छन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

विदुर खतिवडाद्वारा अन्य प्रकाशित लेखहरू

M जेनेरेसन
| अंकहरु: 15-35

वीरेन्द्र पौडेलद्वारा अन्य प्रकाशित लेखहरू

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :