खेलकुद

गृहपृष्ठ » » खेलकुद » लेखहरु »

जोकोभिच र अजरेन्का च्याम्पियन

'गुडमर्निङ', अस्टे्रलियन ओपनको पुरुष एकल फाइनलमा पराजित भएयता स्पेनी खेलाडी राफेल नाडालको पहिलो शब्द थियो, त्यसपछि उनले थपे, 'आजको फाइनल खेल गुमाएँ, तर पनि यो मेरो लागि सधैं विशेष रहनेछ। मेरो संघर्ष जारी रहनेछ।' वास्तवमै नाडालको हार बहादुरीपूर्ण थियो। खेल बेलुका आठ बजे सुरु भएको थियो, समाप्त हुँदा लगभग पौने दुई बजेको थियो, रातको। विजेता खेलाडी थिए, सर्बियाली नोभाक जोकोभिच। उनी गत वर्षका पनि विजेता थिए, यसपल्ट उपाधिको रक्षा गर्न सफल भए। जोकोभिचले नाडालको प्रशंसामा शब्द खर्चिएर भने- 'नाडाल महान खेलाडी हुन्।'

अस्टे्रलियन ओपनको पुरुष एकलको फाइनलको कथाको सार यही हो। फाइनल वास्तवमै गजब थियो, पाँच सेट चलेको म्याराथन खेल थियो। ६ घन्टाको हाराहारीमा यसले धेरै कीर्तिमान पनि तोडयो। अन्ततः अन्तर्राष्ट्रिय टेनिसलाई फाइदा भएको पक्ष थियो, पुरुषतर्फ प्रतिस्पर्धा चर्को हुन थालेको थियो, तर जित भने अन्ततः जोकोभिचकै भयो। स्कोर थियो, ५-७, ६-४, ६-२, ६-७ र ७-५। केही समयअघि नाडालले भनेका थिए- 'म अहिले गजब खेलिरहेको छु, त्यसलाई उत्कृष्ट भने पनि हुन्छ तर दुःखको कुरा मभन्दा पनि कसैले अझ राम्रो खेलिरहेको छ।' उनको आशय अरू कसैलाई नभएर जोकोभिचकै लागि थियो।

हुन पनि सर्बियाका यी खेलाडी आफ्नो खेल जीवनकै सर्वाधिक उत्कृष्ट समयमा छन्। एकपछि अर्को सफलता हात पारिरहेका छन् र उनको लयमा अरू कसैलाई पनि लोभ हुन सक्छ। यसपल्टको अस्टे्रलियन ओपनसँगै उनले चार ग्रान्ड स्लाम फाइनल जितिसकेका छन्। त्यसमध्ये अधिकांश फाइनल नाडालविरुद्ध नै थियो। त्यसबाहेक पनि उनले पछिल्ला सात फाइनल लगातार जितेका छन्। एक प्रकारले अन्तर्राष्ट्रिय पुरुष टेनिसमा जोकोभिचकै दबदबा छ, तर उनी पनि मान्छन्— पुरुषतर्फ प्रतिस्पर्धा पनि उत्तिकै चर्को हुन थालेको छ। उनले सेमिफाइनलमा एन्डी मुरेलाई हराएका थिए।

नाडालले हराए, आफ्ना पुराना प्रतिद्वन्द्वी रोजर फेडेररलाई। सेमिफाइनलमा शीर्ष चार खेलाडीले नै प्रवेश पाएका थिए। जोकोभिचको मुरेविरुद्धको सेमिफाइनल पनि गजब रह्यो, उक्त खेल पनि पाँच सेट चलेको थियो, त्यसलाई जोकोभिचले ६-३, ३-६, ६-७, ६-१ र ७-५ ले जिते। समय फेरि एकपल्ट लगभग पाँच घन्टा खर्चिएका थिए।

आफ्नो जितलगत्तै मुरेले भने, 'अब शीर्ष खेलाडीहरूमा खासै भिन्नता रहेन। अब माथिल्लो वरीयतामा कोही पनि खेलाडीले कसैलाई हराउन सक्छ।' फेडेरर पनि यसमा सहमत छन्। उनी भन्छन्, 'अब प्रत्येक खेलमा चर्को प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ।' सायद उनी केही पाका खेलाडी भएका छन्। उनी पनि अझै संघर्ष जारी रहने बताउँछन्। महिलातर्फ पनि प्रतिस्पर्धा चर्को छ, तर फरक खालको। पछिल्लो वर्ष चार ग्रान्ड स्लामले फरक चार विजेता पायो। यसपल्ट पनि नयाँ विजेता नै पायो, अस्टे्रलियन ओपनले, भिक्टोरिया अजरेन्काका रूपमा। लगातार पाँच ग्रान्ड स्लाममा पाँच विजेता आउनु पनि प्रतिस्पर्धाकै लक्षण हो।

अजरेन्काले फाइनलमा जसरी आफ्ना प्रतिद्वन्द्वीलाई हराइन्, त्यसले यो कथनलाई धेरै हदसम्म सत्य भने मान्दैन। फाइनलमा उनका प्रतिद्वन्द्वी थिइन्, रूसी खेलाडी मारिया सारापोभा। तीन ग्रान्ड स्लामका विजेता सारापोभा अस्टे्रलियन ओपनका पनि विजेता रहिसकेकी छिन्। अजरेन्का भने पहिलो पल्ट ग्रान्ड स्लाम फाइनल खेलिरहेकी थिइन्। यस्तोमा फाइनल चर्को हुने विश्वास थियो, तर भएन। फाइनल खेल अजरेन्काले ६-३ र ६-० ले जितिन्। खेल लगभग एकपक्षीयजस्तै थियो। अझ सुरुवाती दुई 'गेम' सारापोभाले जितेको अर्थमा त्यसयता अजरेन्काले कसरी खेलिन भनेर सजिलै अनुमान गर्न सकिन्छ। यसपल्टको महिला एकलको फाइनल धेरै अर्थमा विषेश पनि रह्यो। सेमिफाइनलअघि नै विश्व वरियताको नम्बर १ मा रहेकी क्यारोलिन वाज्नेस्की पराजित भइन्। त्यसको अर्थ फाइनल जसले जित्नेछ, तिनै खेलाडी नम्बर १ हुने अवसर थियो। यस्तोमा अजरेन्काले अस्टे्रलियन ओपन मात्र जितिनन्, उनी महिला टेनिसकी शीर्ष वरीयता प्राप्त खेलाडी पनि भइन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :