Kantipur-qatar

Kantipur

मिति | बुधवार, २०७० असार ५     Login | Register | Issue No. 226
तपाईंको कलम»

कविता

माघ ४ -
हाम्रो नेपाल

- शिखर वैद्य

उत्तर भेग पहाड हेर उठेका हिमाल

दक्षण्िा भेग मधेस हेर मैदान विशाल ।

गोधूली साँझ रमैलो हुन्छ सुनका सगर

बिहानी सूर्य उदाई चुम्छ चाँदीका पहार ।

नदीका वाला बगेकाबीच हरिया जंगल

पश्चिम पूर्व चहारी हेर सुन्दर नेपाल ।।



वीरको गाथा यो मनभित्र कोरेर राखेको

झुक्दैन शिर उठेको थिर गर्वले गरेको ।

मानिसमाथि गर्दैन भेद रंग र जातले

समान सबै जान्दछ उनी मानव जातले ।

गौतम बुद्ध जन्मेको देश माइती सीताको

यै देश मेरो नेपाल दिन्छ सन्देश शान्तिको ।।



सगरमाथा उठेको हेर्दा गौरव मान्दछ

खोला र नाला बगेको देख्दा आनन्द जान्दछ ।

देशको लागि सहिद हुन अगाडि सर्दछ

सीमाको रक्षा गर्नको लागि कम्मर कस्दछ ।

हे वीर यिनी गर्व नै गर्छ नेपाली हुनमा

यै देश हाम्रो नेपाल राम्रो पृथिवी तहमा ।।

जागिरको कल्पना

- सीताराम थापा

रहरै रहरमा हुर्किएको छोरोले

डिग्री पास गरेको धेरै भो

छोरो जागिरे होला भनेर

बाबा मख्ख पर्दै छन्

आमाको हर्षको सीमा छैन

छोरोको तलबले

फाटेको फरिया फेर्ने

धोको राखेको धेरै भो

नातिले जागिर खाला

गाउँमा चटक्क चौतरो बनाउँला

हजुरबाले इच्छा राखेको धेरै भो

धुमधाम हरिकीर्तन गाएर

लाख बत्ती बालौंला भनेर

बत्ती कात्न थालेको धेरै भो

साँझमा आमा, हजुरमा

गन्थन गुन्थुन गर्नु भा छ

धुमधम पञ्चेबाजा बजाएर

घरमा सिन्दूर/पोते भित्र्याउँला भनेर

लगन कुरेको धेरै भो

घरको छाना चुहेर पिँढी भिजेको छ  

त्यही छानाले पनि

छोराको तलब पर्खेको धेरै भो

बन्दकी खेत झक्िनैपर्ने भाछ  

आन्नले नपुगेर बजार

धाउन थालेको धेरै भो

समस्यैसमस्याले छोरो

जागिरे हुनै पर्‍या छ

आजकाल दिदी/बैनी तीजमा

माइत आउन छोड्या छन्

भुटुन मसालाको हडतालले

माइतीमा चिल्लो/चप्लो नपाक्य धेरै भो

भान्जाभान्जीहरू आजकल

मावली आउँदैनन् रे

दसैँ र तिहारमा मुठीभरि

हरिया/निला नोट नपरेको धेरै भो  

सँगै हिँड्ने साथीहरूले मुन्टो बटार्छन्

किनकि खर्चको दुःखले

झुत्रे झामरे हुन थालेको धेरै भो

बाध्यतैबाध्यताले

छोरो जागिरे हुनै पर्‍या छ

 

यसपालि पनि आयोग खुल्या छ रे

छोरा ले आयोगमा लड्यो रे

छोरो आयोग लडेदेखि बाबाले

रेडियो कानमा टाँस्न थाल्या छन्

एक दिन आयोगको रिजल्ट फुकेछ रे

छोरोको नाम कतै आएन

आमाको नयाँ फरिया फेर्ने धोको

पोको बनी थुरिह्यो रे

हजुरबाको चौतरो बनाउने सपना

हावामा उड्यो रे

हजुरआमाले कातेका लाख बत्तीहरू

यो साल पनि ओभानै रहे रे

परीक्षामा मन्त्रीको सालो सामेल थियो रे  

सांसदको भान्जो लडेको थियो रे  

बडा हकिमसाबको गोजी पहिले

पुट्ट भइसकेको थियो रे  

यो स्वदेशमा घूस र भुसले

भाउ पाउन थालेको धेरै भो

रमाई रमाई आएको यो सालको आयोग पनि

उसका लागि अब यसै खेरै गो

- तार्कुघाट-३ लमजुङ, हाल- कतार

रुखपुरुष

- मनोज बोगटी

पाखुराबाट झरेको छ बलको बूढोे पात

र टाउकोमा पलाएको छ विचारको हाँंगा

आँखाबाट उडेको छ अन्धो चील

र खुट्टैबाट खुस्किएको छ

जम्मै संवेदनशीलताको नङ

हुरीको खुट्टै भाँंच्चिएपछि त्यसलाई भत्किनुको के डर ?

आँगनमा ओंठ सुकाएर बसेकोे घामबाट के आशा ?

र हिलो खेलिबस्ने पानीको सुडौल शरीरको के मोह ?

त्यसको नाकमाथि टल्किरहेको एक थोपा पृथ्वी

जसरी बन्द छ आफैँमा

त्यसरी नै थुनिएको छ अर्थ शब्दभित्र ।

जसरी थुनिएको छ इन्द्रेण्ाीभित्र रङ ।

जसरी थुनिन्छ फूलको कारागारभित्र कुनै ओजस्वी वीर्य

जसरी थुनिन्छ मुखभित्र जिब्रो

छातीभित्र मुटु

नाकभित्र सास

पानीभित्र माछा

घामभित्र आगो

माटोभित्र बीउ

र नामभित्र कुनै कवि ।

सधैँ छेउबाट बग्छ एउटा रगतजस्तो खोला

र उर्लिन्छ त्यसको बैमानी छाल

त्यसको शिरै छोएर, त्यो हल्लिँदैन ।

शरीरभरि रगत थापेर त्यो सधैँ बाँंच्छ

निधारबाट सधैँ फैलिन्छ रातो रङ

धमिराहरु चढ्छन् सधैँ एउटा

अहमको कोमल टाउकोमा, त्यो ढल्दैन ।

करङहरमा रगत भर्छ तर मर्दैन ।

विचारको खस्रो हातले छाम्दैबस्छ समयको सिङ

र विश्वास गर्छ आफ्नै छालामा ।

त्यसलाई थाहा छ

ऐनाको आफ्नै अनुहार हुँदैन ।

बाँंच्छ मृत्यु जिउँदो रहरभित्र नै ।

पानीको आफ्नै तिर्खा हुँदैन ।

हावाको आफ्नै सास हुँदैन ।

त्यसलाई थाहा छ

हजारपल्ट मेटिएको नाम त्यसैको हो

हजारपल्ट गाडिएको सास त्यसैको हो

घरको भूगोल हुँदैन तरै पनि

हजारपल्ट सारिएको बास त्यसैको हो ।

अहिले भुइँभरि गिदी छरेर बसेको छ त्यो रुख

टाउका ेबिना बाँंच्दा के हुन्छ ?

अहिले अभरै परेर बसेको छ त्यो रुख ।

त्यसलाई आमाको स्तन चुसेको थाहा छैन

तोते बोलेको याद छैन ।

त्यसलाई थाहा छ

अक्षर चिनेको मात्र थाहा छ ।

त्यसैकारण्ा कहिल्यै लेख्न नसकेको कविता

सोंचेर बसेको छ त्यो रुखपुरुष ।

कहिले उम्किने हो विचारको भट्टु केटो

उमेरको साङ्लाबाट

यस्तै सोच्दै बसेको छ त्यो रुखपुरुष ।

- कालेबुङ, दार्जेलिङ

कति माया गर्छु तिमीलाई

- शान्ति पाखि्रन

कति माया गर्छु तिमीलाई छैन कुनै सीमा

हरेक रात पाउँछु तिमीलाई मेरो सपनीमा

चोट लाग्दा तिमीलाई पीडा हुन्छ मलाई

कहिले बुझ्छौ मेरो माया सोच्छु अँधेरीमा

सुरु हुन्छ मेरो दिन रात पनि तिमीबाट

राखेकी छु तिमीलाई यो मनको तरेलीमा

हावा बहुन्जेल अनि यो ढुकढुकी चलुन्जेल

गरिरहन्छु सधैं माया सजाइराखी छातीमा

अमर होस् हाम्रो माया कहिले पनि नमर्ने

लेख्ने छैन कथा बनाई सादारूपी कापीमा

- नुवाकोट, हाल- इजरायल

प्रकाशित मिति: २०७० असार ५ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

...कम्तिमा मंसिरसम्मलाई भए’नि मेरा मतदाता नबगुन् ! दया होस्, पर्भु !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication