Kantipur-qatar

Kantipur

मिति | बुधवार, २०७१ कार्तिक ५     Login | Register | Issue No. 284
मनोरञ्जन»

सुनिए दुर्गा र काइँला

काठमाडौ, माघ ४ -
सेतै कपाल फुलेका ७६ वषर्ीय कवि दुर्गालाल श्रेष्ठले आधा दर्जन रचना सुनाएर बिट मार्नै खोज्दा दर्शक दीर्घाको अघिल्लो पंक्तिमा बसेका अर्का कवि बैरागी काइँलाले 'अझै सुनाउनुस् अझै' भन्दै हौस्याइरहेका थिए । ढाका टोपी र दौरा-सुरुवालमा सजिएका दुर्गालालभन्दा ३ वर्ष कान्छा काइँलाले पनि सोमबार राजधानीमा आफ्ना कविता सुनाउन पालो कुरिरहेका थिए ।

कालिकास्थानस्थित सर्वनाम थिएटरमा 'हामी कवि र कविता' शीर्षकमा यी दुई पाका स्रष्टाले आ-आफ््ना रचना वाचन गरेर माघेसंक्रान्ति मनाए । लुनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामले गरेको कार्यक्रममा दुर्गालालले र काँइलाले एक घन्टाभित्र आ-आफ्ना सिर्जना सुनाए । पहिलो पालो पाएका दुर्गालालले अग्लो मेचमा कविता सुरु गर्नुभन्दाअघि आफ्नो साहित्यिक यात्राबारे सुनाए । 'म गाईजात्रे कलाकार भन्छु आफूलाई,' उनले भने, 'उस बेला इन्द्रजात्रा र गाईजात्रामा खुब नाचिन्थ्यो, भजनबाट सुरु गरिन्थ्यो नाच । त्यही माहौलबाट म साहित्यमा तानिएँ ।' उनले त्यतिबेलाकै प्रवृत्ति झल्किने गरी भजन पनि सुनाए । यसपछि उनको अनुहारमा एक किसिमको उज्यालो छायो । मुसुक्क हाँस्दै उनले 'आफ्ना भनेर ल्याएका कविता अब दर्शकका हुने छन्' भन्दै कविताका पाना पल्टाउन थाले-कत्ति अबोध छ बलिको बोको खुकुरी चाटिरहेछ बुझ्न दुःख हो, त्यसले मेरो मुटु नै काटिरहेछ...

पशु प्राण-संवेदनासँग गाँसिएको 'निधन' कविता सुनाएपछि दुर्गालाल छेउमै राखिएको तातोपानी सुरुप्प फेरि कविताकै प्रवृत्तितिर मोडिए । 'कविता भन्ने कुरा सियोको प्वालजस्तै हुँदो रहेछ,' उनले भने, 'विषयवस्तु सरल तर, गम्भीर अर्थ दिने । मेरा कविता ६ हरफका स-साना हुन्छन् ।' कुनै एक दिन टहलिँदै टौदह पुग्दा एकजना माझीले माछा पार्दै गरेको र अर्को मान्छेले चाहिँ मुरली बजाइरहेको दृश्य देखेछन् दुर्गाले । बल्छी होस् या मुरली । मूलवस्तु बाँस नै हो । दुवैले तान्छ । दुर्गाले यसै दृष्टिलाई समेटेर 'बल्छी र मुरली' शीर्षकको कविता पनि सुनाउन भ्याए ।

आधा घन्टाको निर्धारित समय भए पनि दुर्गाले २० मिनेटमै एक दर्जन रचना पढे । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति समेतको जिम्मेवारी बोकेका काँइला उनको कविता वाचन क्षमता देखेर दंग थिए । 'पुग्यो अब,' दुर्गालालले बेलाबेला भनिरहँदा काँइलाचाहिँ 'यस्तो रमाइलो भा'छ कहाँ पुग्नु' भन्दै उस्काइरहेका थिए । तर दुर्गालालको कविता वाचनको स्फूर्ति जस्तोसुकै भए पनि काँइला उम्किन भने सकेनन् । दुर्गालाल नै बसेको थलोमा ढाका टोपी र दौरा-सुरुवाल ढल्काउँदै कविताका पाना सहित उनले पनि आसन जमाए । कविता वाचन गर्नुभन्दा अघि उनले दुर्गालालको रचना वाचनप्रतिको शैलीको तारिफ गरे । र, आफ्ना कमीकमजोरीबारे चर्चा गर्न थाले । 'कविता लेख्न जान्नेले वाचन गर्न पनि उत्तिकै जान्न जरुरी छ,' आयमेली कविले भने, 'यस्तो क्षमता ममा चाहिँ जोडदार छैन ।'

उनले २०३१ देखि २०६४ सम्म रचेका कविता सुनाए । पछिल्लो समय साहित्य लेखनमा अल्छी भएको पनि उनले दर्शकमाझ सुनाए । 'नयाँ सुनाउने केही छैन,' उनले हाँस्दै भने, 'उही पुराना पाना पल्टाउँदै छु ।' यही क्रममा उनले 'पराजयको एक दिन' शीर्षकको रचना सुनाए ।

हामीले त माया-प्रीतिका कुराहरू मात्र सुनेका छौं दन्त्यकथामा झैं

कसैले पढेका छौं

दुई/चार कथा र उपन्यासमा...

दुई पेज लामो यो कविता उनले दार्जिलिङ छँदै लेखेका थिए, तन्नेरी उमेरमा । केही हरफ कोरेर यत्तिकै छाडेको वषौर्ंपछि मात्रै पूरा गरेको कवितामा तिनताक दार्जिलिङका युवाहरूको 'प्रेम बुझाइ' र मनोविज्ञान समेटिएको छ । दार्जिलिङकै लवज समेत मिसिएको कविता वाचन गरिरहँदा दुर्गालालचाहिँ कान स्टेजतिर सोझ्याइरहन्थे । श्रवणशक्ति कमजोर भएका कारण उनी बेलाबेला छेउछाउकालाई नबुझेका सोध्थे पनि । कविता लामा भएको आत्मानुभूति भएपछि काइँलाचाहिँ 'सुन्न होइन पढ्ने खालका कविता छन् मेरा' भन्थे ।

त्यसपछि काइँलाले चीन घुम्न जाँदा 'लिजियाङ' नदीबारे लेखेको कविता सुनाए । 'अविशक्त पहाड र अविरल बग्ने लिजियाङ नदी' शीर्षकको रचनाले वातावरणीय सौन्र्दय र नदीको महत्त्वलाई विम्ब मार्फत् प्रस्ट्याइएको थियो । जीवनमा कहिल्यै राष्ट्रभक्तिका रचना नकोरेको बताए पनि उनले सुनाएका प्रायः कवितामा समाज, देश, राष्ट्र, राष्ट्रियताका भावहरू महसुस हुन्थ्यो । बिट मार्ने बेला उनले २०५० मा लेखेको 'बागमती लहरले उठेर बर्सिदेऊ' सुनाए । यो रचनाले राजनीतिक द्वन्द्व र विद्रोहको चेपमा परेको नागरिक मनोदशालाई मार्मिक रूपमा सम्बोधन गरेको थियो । हरेक महिनाको पहिलो दिन कविता वाचनको शंृखलालाई निरन्तरता दिने गरी सर्वनाम र लुनकरणदास-गंगादेवी चौधरी साहित्य कला मन्दिरले यी दुईलाई निम्त्याएका थिए । कार्यक्रमको सूत्रधारको रूपमा देखिएका कवि राजेन्द्र सलभले कार्यक्रमकै अवसरलाई आफ्नो जन्मदिन मनाउने मौकाको रूपमा पनि सदुपयोग गरे । कार्यक्रमपछि उनले उपस्थितलाई केक काटेर खुवाएका थिए ।  

 

प्रकाशित मिति: २०७१ कार्तिक ५ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

धम्की नै दिन्छु भनी आ'... घुर्की मात्र देखाएम् ! ... योभन्दा बढी कति देखाउनु लचकता ?
  हाम्रा प्रकाशनहरु :
Our Publication