Kantipur-qatar

Kantipur

मिति | शनिबार, २०७१ कार्तिक १५     Login | Register | Issue No. 284
मुख्य समाचार»

खाडीमा डरलाग्दोे मृत्युदर

दोहा, माघ ४ -
ठूलोपोखरा ३, अर्घाखाँचीका २५ वषर्ीय सिसबहादुर अधिकारीको २६ अक्टोबर सुतिरहेको अवस्थामा आफ्नै कोठामा मृत्यु भयो । २२ महिनाअघि कतार आएका उनी यहाँ कारपेन्टरमा काम काम गर्थे । बिहान कामका लागि साथीले बोलाउँदा उनलाई मृत अवस्थामा फेला परेको थियो ।

त्यही हप्ताको सेरोफेरोमा दुगाटुन्नडाँडा-३, बागलुङका ४७ वषर्ीय पूर्णराज मरासैनी र दाङका दमोदार खत्री पनि सतिरहेकै अवस्थामा ज्यान गयो । ओमन पुगेका ललितपुरका रामगोपाल श्रेष्ठ पनि सुतिरहेको अवस्थामा ज्यान गयो । खाडीमा सुतिरहेको अवस्थामा ज्यान जाने घटना नयाँ र नौलो भने होइन । तर, व्यवसायजन्य सुरक्षाको अभावमा हुँदा कामदारको मृत्युदर गम्भीर रूपमा बढिरहेको छ । एक वर्षको अवधिमा बैदेशिक रोजगारको लागि खाडी तथा मलेसियामा कार्यरत ८ सय ३४ जना नेपाली कामदारको ज्यान गएको छ । जसमा साउदी र कतारमा सुतेको सुत्यै हुने स्थिति डरलाग्दो छ ।

खाडी तथा मलेसियास्थित नेपाली दूतावासको रेकर्डमा जनाएअनुसार सन् २०१२ मा यति धेरै नेपाली कामदारको ज्यान गएको हो । दिनभर काम गरेर क्याम्पमा फर्केका कामदारलाई भोलिपल्ट बिहान मृत अवस्थामा फेला पर्ने स्थिति डरलाग्दो रहेका दूतावासका रेकर्डले जनाएको छ । त्यसपछि ट्राफिक दुर्घटना, आत्महत्या र कार्यस्थलमा मृत्यु छन् । साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेका अनुसार २०१२ मा दुई सय ८३ जना नेपाली कामदारको शव पठाउन 'नो अब्जेक्सन सर्टिफिकेट' जारी गरेको बताए । 'हामीले बहराइन, ओमन र साउदी गरी दुई सय ८३ जना नेपालीको शव पठाउन कम्पनीलाई अनुमति दिएका छौं', उनले भने । बहराइनमा १५ र ओमनमा ८ जना मृत्यु भएको छ । दोस्रोमा कामदारको ज्यान जाने मुलुक मलेसिया हो । मलेसियास्थित श्रम सहचारी अमल किरण ढकालका अनुसार बिरामी, सडक दुर्घटना र विभिन्न कारण गरी कम्तीमा दुई सय ७० को ज्यान गएको छ ।

त्यसपछि कतारमा एक सय ७४, संयुक्त राष्ट्र इमिरेट्समा ५५, कुबेतमा ३२, लेबनानमा ७ जना कामदारको ज्यान गएको छ । साउदी र कतारमा सुतेको सुुत्यै हुने स्थिति बढी छ । साउदीमा यसरीमा ज्यान जानेमा आधाको हारहारीमा छ । साउदीमा सुतेको सुत्यै हुनेलाई डाक्टरहरूले रिपोर्टमा 'नेचुरल डेथ' र कतारमा 'हृदयाघात' भनेर उल्लेख गरिदिने गरेको छ । 'कतारमा एक सय ७४ जनाको ज्यान गएकोमा एक सय दुई जना हृदयाघातबाट ज्यान गएको छ,' कतारस्थित नेपाली दूतावासका द्वितीय सचिब जयबहादुर राईले भने ।

किन यस्तो हुन्छ ?

कतारको अल्खोरस्थित लाइफ लाइन मेडिकल सेन्टरमा कार्यरत नेपाली डाक्टर नरेन्द्रकुमार शाक्य हरेक दिन दर्जनौं नेपाली बिरामीसँग भेटघाट गरिरहेका हुन्छन् । बिरामी आउनेबित्तिकै उनको पहिलो ध्यान बिरामीको रक्तचापबारे जाँच गर्छन् । 'प्रायः अधिकांश बिरामीको रक्तचाप बढेकै हुन्छ,' उनले भने ।

शाक्यका अनुसार खानपान, नियमित स्वास्थ्य जाँच, आवश्यकताभन्दा एउटै कोठामा बढी कामदार राखिँदा निरोगी मृत्युदर बढिरहेको छ । यस्तो हुनुमा खास कारण हुन्छन् । बढी काम, कम आराम । कमजोर खानपान । त्यसपछि पर्याप्त पिउनेपानीको अभाब । साउदीस्थित राजदूत उदयराज पाण्डेका अनुभवमा कामदारले प्रशस्त खानेपानी पनि पिउने गरेका छैनन् । 'गर्मी याममा  शरीरमा पसिना त्यत्तिकै बगिरहेको हुन्छ । त्यसको लागि झोलिलो पदार्थ वा पिउने पानी एकदम पिउने गर्छ,' उनले भने, 'काममा व्यस्त कामदारले दिनभर यतातिर कतिको ध्यान पुर्‍याउँछ ।'

अर्कोतर्फ कामदारको बासस्थान मुख्य हो । सामान्यतः कामदारको कोठामा आवश्यकताभन्दा बढी क्षमतामा कामदार राखिने गरेको छ । '४ जना अट्ने रूपमा १२ जनासम्म सुत्छौं,' निर्माणक्षेत्रमा कार्यरत हिमबहादुर मगरले भने, 'नेपाली कामदार बस्ने क्याम्पको निरीक्षण हुनुपर्ने हो । तर कसले गर्ने ?' कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव सुतेको सुत्यै हुनुमा 'अपेय पदार्थको सेवन' पनि रहेको बताउँछन् । 'कामदारहरूले खाना नहुने पदार्थ पिउने गरेको सुन्नमा आएको छ,' उनले भने, 'त्यो रोक्नुपर्छ ।'

त्यसबाहेक दलाल वा म्यानपावरको 'आश्वासन' मा निकै फरक आउनु पनि हो । 'नेपालमा एजेन्ट वा म्यानपावरले एउटा वातावरण बताएको हुन्छ, यता आउँदा अर्को वातावरण बनिदिन्छ,' उनले भने, 'यसले कामदारलाई तनावमा राख्नुको साथै तुरुन्तै फिर्न नपाउने अवस्था हुँदा मृत्युका खबर पनि आइरहेका छन् ।'   

कामदारलाई यस्ता अचानक हुने मृत्युको खबरले नि 'बेलुकासम्म तन्दरुस्त अवस्थामा भेटिएको साथीभाइ भेलिपल्ट बिहान मृत भएको खबर आउँछ,' बहराइनस्थित नेपाली क्लबका अध्यक्ष दुर्गा गिरीले भने, 'हामीलाई यस्ता खबरले निकै तनावमा राख्छ ।'

महिला कामदारको मृत्यु हुनेमा कुबेत र लेबनान रहेको छ । कुबेतमा यसपालि १० जना महिलाको मृत्यु भएको छ । राजदूत मधुवन पौडेलका अनुसार दूतावासमा सेल्टर स्थापना भएपछि आत्महत्या गर्ने दरमा निकै कमी आएको छ ।

'अहिले यहाँ सेल्टर छ । तनाव वा यातना पाउने महिला कामदारलाई यहाँ राख्छौं,' उनले भने, 'महिलालाई सुरक्षित गृह दिलाएपछि पहिलाजस्तो आत्महत्या गरिहाल्ने स्थितिमा कमी आएको छ ।' लेबनानमा भने आत्महत्या रोकिएको छैन । यो एक वर्षमा पनि सातजना महिलाले  आत्महत्या गरेका छन् ।

विषय उठानमा नपर्ने ँहृदयाघात’ हरेक वर्ष सयौंको संख्यामा सुतेर मुत्यु भएका घटनाहरू आउँदा यस विषयमा सम्बन्धित ठाउँमा ठोस रूपमा विषय उठान गरिएको छैन । दिनभर काम गरेर फर्केका कामदार साँझ मृत्यु भएमा उनीहरू क्षतिपूर्तिको दायरामा पर्दैन । तत्कालीन राजदूत सूर्यनाथ मिश्रले कामदार पठाउने देशका राजदूतहरूसँग यस विषयमा छलफल चलाएका थिए । 'यस्ता मृतकका विषयमा एकपटक छलफल भयो,' राईले भने, 'त्यसपछि अगाडि बढेनन् ।'

यहाँ सडक दुर्घटना र कार्यस्थलमा मृत्यु हुनेले मात्रै क्षतिपूर्ति पाउने व्यवस्था छ । तर, सुतेको सुत्यै हुनेको हकमा केही पाउँदैनन् । 'कसले उठाउने यो विषय', सनैयामा भेटिएका उमेश अधिकारीले भने, 'दोहामा मुख्य र गम्भीर विषयमा छलफल हुँदैन ।'



१० वर्षे सवारी सुरक्षा योजना सार्वजनिक दोहा- कतारमा हुने ट्राफिक दुर्घटनालाई कमी ल्याउन कतार सरकारले १० वर्षे सडक सवारी सुरक्षा योजना आइतबार सार्बजनिक गरेको छ । यस अभियानबाट नेपाली समुदायसमेत निकै लाभान्वित हुने भएका छन् ।

वैदेशिक रोजगारका लागि कतार आइपुगेका नेपाली कामदारहरूको सडक दुर्घटनामा परी धेरैको ज्यान जाने गरेको छ । कतारको मुख्य मन्त्रालयहरूको सहभागितामा सरकारले '१० वर्षे राष्ट्रिय सडक सुरक्षा रणनीति' लाई सार्वजनिक गरेको हो । कतार सरकारले यो योजनाको मुख्य लक्ष्यको रूपमा सडक दुर्घटनामा हुने गम्भीर घाइते र ज्यानै जाने अवस्थालाई न्यूनीकरण गर्नु रहेको छ । राष्ट्रिय सडक सुरक्षा समितिका अध्यक्षसमेत रहेका अन्तरिक मामिलामन्त्री शेख नासर बिन खालिफा अल थानीले सडक सुरक्षालाई अझ मजबुत बनाउन लागेको बताए । गल्फ टाइम्सका अनुसार यो रणनीतिले कम्तीमा ८ सय जनाको जीवन बचाउन र दुई हजार जनालाई गम्भीर दुर्घटना हुनबाट जोगाउने योजना बनाएको छ । कतार सरकारले सडक सुरक्षालाई राष्ट्रको मुख्य कार्यभारको रूपमा अगाडि सरेको छ ।

 


प्रकाशित मिति: २०७१ कार्तिक १५ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

बैठक सुरु भो ?... हुनै लाग्यो ?... त्यसोभे बिना निष्कर्ष टुंग्यो भन्दिम् ?
  हाम्रा प्रकाशनहरु :
Our Publication