कपिलवस्तु, पुस १९ -
तीन बैकका 'सीईओ' लाई ठगी गर्ने पक्राउ परेका छन् । प्यूठान घर भएर नबलपरासीको काबासोती बसोबास गर्दै आएका ईश्वरीप्रसाद पोखरेलले काठमाडौंका किस्ट बैंकका सीईओ कमल ज्ञवाली, ग्लोबल बैंकका सुधीरबाबु खत्री र बुटबलस्थित साइन डेभलपमेन्ट बैंकका अधिकृत भुवन पन्तलाई ठगेको प्रहरीले जनाएको छ ।
उनले ठूला नेताको नाममा नक्कली नागरिकता बनाएर बैंक खाता खोलेर रकम पठाउन भनी ठगेका थिए । पछिल्लोपटक उनले एउटा चर्चित 'डन' लाई ठगेपछि प्रहरी हिरासतमा छन् । दीपक मनाङ्गेलाई ठगेपछि पोखरेल पक्राउ परेका हुन् । एमाओवादी नेता लेखराज भट्ट बोलेको भन्दै पोखरेलले मनाङ्गेसँग ३ लाख रकम मागेका थिए । उसले पैसा मागेपछि मनाङ्गेले आफ्ना साथी सिन्धुपाल्चोक सिपा जी तातोपानी ५ का साङ्गे शेर्पालाई भनेर कपिलवस्तुको गोरुसिंगे स्थित आईएमईबाट १ लाख ५० हजार पठाइदिएका थिए ।
मनाङ्गेले भट्टलाई फोन गरेर पैसा पठाइदिएको कुरा भनेपछि घटना बाहिर आएको थियोे । भट्टले कसैसँग पैसा नमागेको बताएका थिए । आफूलाई ठग्ने को रैछ भनेर मनाङ्गेले खोजबिन गर्दा पोखरेल पक्राउ परेका हुन् । पोखरेलले सजिलै रकम भुक्तानी लिनका लागि गोरुसिंगेस्थित मनकामना मनी ट्रान्सफर काउन्टरसँग दोस्ती गरेका थिए । दुईपटक काउन्टरमा आईएमईबाट साथीसँग पैसा मगाएर नजिकिन खोजेका थिए । मनाङ्गेको पैसा लिने बेला पोखरेलले जरुरी काम परेर बुटबल जान लागेकाले पैसा झिकेर बुटबलमा पठाइदिनु भन्दै हिँडेका थिए ।