काठमाडौ, पुस १९ -
साउदी अरबको जेद्धामा कार्यरत मोरङ-६ पथरी २५ वषर्ीय कमल अधिकारीको मृत्यु भएपछि कम्पनीका कार्यरत नेपाली सहकर्मीहरूले परिवारको लागि १० हजार रियाल -२ लाख ३० हजार रुपैयाँ) सहयोग मागेका छन् । ७ महिनादेखि जेद्धाको पाण्डा सुपरमार्केटमा कार्यरत अधिकारीको मत्यु आत्महत्याबाट भएको प्रहरी रिपोर्ट छ । आत्महत्या गरेकोलाई साउदीमा बिमा रकम नदिइने भएकोले परिवारलाई आर्थिक सहयोग गरिदिन अधिकारी कार्यरत सुपरमार्केटका स्टोर म्यानेजर तथा एनआरएनले क्षत्रीय समिति जेद्धाका अध्यक्ष दिनेशकुमार सुनुवारलाई आग्रह गरेका थिए ।
'उनले अनुरोध गरेपछि कम्पनीले १० हजार रियाल मृतकका परिवारलाई दिन साउदीको लेवर कोर्टमा पठाइसकेको छ,' दूतावासले पहल गरिदियो भने रकम छिट्टै परराष्ट्रमा आइपुग्छ,' अधिकारीका सहकर्मी पीताम्बर लामिछानेले कान्तिपुरलाई भने, 'केही रकम त हामी आफैंले कम्पनीका साथीहरूसँग उठाएर पनि घर पठाइदिएका छौं ।' उनीहरूले ४६ हजार रुपैयाँ संकलन गरी पठाएका थिए ।
सेप्टेम्बर २२ मा निधन भएका अधिकारीको शव अढाई महिनापछि डिसेम्बर ४ मा स्वदेश आएर परिवारले सदगत गरेका छन् । अविवाहित अधिकारीको घरमा वृद्ध बुवा, आमा, दुई दाजु र दुई दिदी छन् । मृतकका दाइ कुलराजले भाइले बिरामी भएको खबर आउने गरेको भए पनि आत्महत्या गरेका खबरले आफूहरू स्तब्ध भएको बताए । मेहनती, इमानदार मृतक अधिकारी निराशावादी नभएको उनका सहकर्मी लामिछाने बताउँछन् ।