मंसिर २८ -
दाङको टरी गाउँमा २२-२३ वर्षअघि जन्मेकी रीता केसीको चिनारी अचेल त्यो ठाउँ पार गरेर देशदेशान्तर पुग्न थालेको छ । दुई दिदीकी बैनी र एक भाइकी दिदी रीता दाङकै पशुपति माविमा आठ कक्षासम्म पढेर परिवारजनसँग काठमाडौं आइन् । कोटेश्वरको सरस्वती माविबाट २०६२ मा एसएलसी सकेर ललितकला क्याम्पसमा भर्ना भइन्, संगीतमा उच्च शिक्षा लिन । त्यहाँबाट उनले बीम्युज सकिसकेकी छन् । अचेल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एमम्युजमा भर्ना भएकी छन् । उनले 'वीरताको चिनो,' 'लडाइँको लाहुरे,' 'बस्ती,' 'सायना,' 'घमन्ड,' 'खुर्पा' सहित दर्जनौं फिल्ममा गाएकी छन् । 'तिमी माया बनेर आयौ...,' 'मायालु तिमी मीठो बोल...' आदि उनका चलेका गीतहरू हुन् । उनी कन्सर्टका लागि सिक्किम, दार्जिलिङ, मलेसिया पुगेकी छन् । फिल्मी गायन र आधुनिक गीत गायनका लागि उनले दुई चोटि राप्ती अवार्ड प्राप्त गरेकी छन् ।
सांगीतिक सौख कसरी पलाएको थियो ?
आमाले भने अनुसार, म बच्चैदेखि गुनगुनाउने गर्थें रे । घरमा संगीतलाई गम्भीरतापूर्वक लिने कोही नभए पनि ममा गाउने चाहना गहिरो हुँदै गयो । पशुपति स्कुलमा पढ्दा कम्पिटिसनहरूमा भाग लिन थालें । सबैले प्रशंसा गर्न थाले । काठमान्डु आएर स्कुल पढ्न थालेपछि पनि त्यो क्रम अगाडि बढ्दै गयो । आफू गाउनकै लागि जन्मेकी हुँ भन्ने पर्दै गयो । अहिले करिअर नै संगीत भएको छ ।
पहिलो चोटि गीत रेकर्डिङको अफर कसबाट पाउनुभएको थियो ?
म ललितकला क्याम्पसमा आईए पढ्दै थिएँ । संगीतकार वसन्त सापकोटाले त्यही बेला 'जोखिम' फिल्मको संगीतको जिम्मा पाउनुभएको रहेछ । अनि उहाँले नै मलाई त्यसमा गाउने मौका दिनुभयो । यो २०६३ सालको कुरा हो । त्यति बेला म सोर्ह-सत्र वर्षकी थिएँ होला । 'जोखिम' को गीत सुनेर कोमल वली दिदी प्रभावित हुनुभएछ । उहाँ पनि दाङमै जन्मनुभएको हो । त्यसपछि उहाँले तीज गीत गाउन दिनुभयो । यसरी म रेकर्डिङमा
व्यस्त हुँदै गएँ ।
सानै उमेरमा रेकर्डिङमा लागे पनि तपाईं त्यति
चर्चामा हुनुहुन्न । कारण के होला ?
एक त म आफैंमा रमाउने खालकी छु,
अर्को कुरा मिडियाका मान्छेहरूलाई त्यति चिनेकी पन छैन । चुपचाप बस्ने स्वभावले गर्दा यस्तो
भएको होला ।
बिहे पनि सानैमा गर्नुभएछ ।
हजुर, तीन वर्ष भयो । उन्नाइस वर्षकी थिएँ,
बिहे गर्दा ।
लभ म्यारिज हो ?
हैन, एरेन्ज म्यारिज नै हो ।
१९ वर्षमै एरेन्ज म्यारिज ?
संयोग नै त्यस्तै पर्यो । उहाँ पनि शंखमूलमै बस्ने भएकोले अलिअलि चिनजान चैं थियो । तर बिहे नै हुने गरी सम्बन्ध गाढा भएको थिएन । मेरी ठूल्दिदीको बिहे भइसकेको थियो, माल्दिदीको भएको थिएन । तर उहाँहरूले ठूल्दिदीमार्फत मेरो हात माग्नुभयो । एकदमै प्रेसर आउन थालेपछि मैले उम्किनै पाइनँ । कुरा छिनेको एक हप्ताभित्रै बिहे भएको हो । तर जे भए पनि जहिले भए पनि बिहे गर्नैपथ्र्यो । दुईतीन वर्ष छिटो भएर केही बिगि्रने पनि होइन ।
गायिकाले बिहे गरेको थाहा पाए केटा फ्यानहरू घट्छन् रे ।
एकदुई केस त्यस्तो हुन सक्ला, तर
सबैमा त्यो लागू हुँदैन । कसैको पनि फ्यान फलोअरको आकार सम्बन्धित व्यक्तिको योग्यतामा, प्रतिभामा भर पर्ने गर्छ । कुनै गायिकाले जिन्दगीभर बिहे नगरे पनि उनको गाउने क्षमतै छैन भने फ्यानहरू उनको पछाडि किन लागिरहन्छन् र ?
बिहेअगाडि हुनेवाला दुलहासँग कस्ता कुरा भएका थिए ?
मैले बढीजसो म्युजिककै कुरा गरेकी थिएँ । बिहेपछि मैले संगीतलाई निरन्तरता दिन पाउने कि नपाउने, सपोर्ट हुने कि नहुने, परिवारले दिक्क मान्ने कि नमान्ने जस्ता कुरा गरेकी थिएँ । उहाँले हन्डे्रड पर्सेन्ट सपोर्ट गर्ने बाचा गर्नुभएको थियो । त्यो
बाचा अहिलेसम्म तोडिएको छैन । भविष्यमा कहिल्यै तोडिँदैन पनि होला । केही विवाहित गायिकाहरूले कठिनाइको सामना गरेको मैले पनि सुनेकी छु । उनीहरू परिवारमै बाँधिएका छैनन् ।
मेरो अनुभव त्यस्तो छैन । मैले कुनै दिन रियाज गरिनँ भने उहाँले नै सम्झाउने गर्नुभएको छ ।
तपाईं स्कुलदेखि नै गाउने मान्छे, केटाहरूले लभ लेटर निकै पठाएका थिए होलान् ।
मैले अहिलेसम्म एउटा पनि पाएकी छैन । दाङको पशुपति माविमा पढुन्जेल पनि त्यस्तो भएन । त्यहाँ केटाहरूले आफूले मन पराएका केटीहरूको नामसँग आफ्नो नाम जोडेर स्कुलका भित्तामा लेख्ने गर्थे । मेरो मात्र हैन, सबै केटीहरूको भोगाइ यस्तै थियो । काठमान्डु आएपछि गाउन र पढ्नमै व्यस्त भएँ, केटाहरूतिर ध्यान दिने समय पनि भएन । अर्को कुरा म अलिक कडा स्वभावकी छु । त्यसले गर्दा पनि लभ लेटर नपाएकी हुँला ।
सासूससुराले नातिनातिनाको मुख हेर्न पाए हुन्थ्यो भन्नुभएको छैन ?
अहिलेसम्म त छैन । भर्खर एमम्युज पढ्दै छु । पढाइ नसकी बच्चा पाउने योजना छैन । सासूससुराको इच्छा पनि मैले पहिले पढाइ सिध्याउँ भन्ने छ ।