उर्लाबारी -मोरङ, मंसिर २८ -
आफ्नो देशको प्रविधिमा तरकारी खेती लगाएको देखेर नेपालका लागि इजरायली राजदूत हानन गोडर गोल्डवर्गर मख्ख परे । मोरङको उर्लाबारी गाविस-९ कटहरेको एक किसानकोमा पुगेका उनले जिज्ञासा राख्दै भने, 'यो कहाँवाट सिक्नु भो ?' उत्तरमा कृर्षक कुमारप्रसाद गौतमले भने, 'पाँच वर्ष तपाईकै देशमा कृषि फार्ममा काम गरेर आएको हुँ ।'
रोजगारीका लागि इजरायल गएका कुमारको कमाइ त्यहाँ निकै राम्रो थियो । मासिक १ लाख रुपैयाँभन्दा बढी कमाउने उनले त्यहाँको कृषि फार्ममा ५ वर्ष काम गरे । त्यसपछि अझ राम्रो काम खोज्दै ६ लाख रुपैयाँ खर्च गरेर उनी पोल्यान्ड पुगे । डेढ वर्ष मासु प्रशोधन कम्पनीमा काम गरेका कुमारले त्यहाँ आवासीय कार्डसमेत पाएका थिए ।
अर्थशास्त्र विषय लिएर बीए उत्तीर्ण गरेका ४१ वषर्ीय कुमार जब ४५ दिनको घर बिदामा नेपाल आए त्यसपछि उनको सोचमा परिवर्तन आयो । युवा जोस रहुन्जेल नेपालमा केही पनि हुँदैन सबै सकियो रोजगारी छैन भन्ने सोचका साथ कमाउन
विदेश घुमेका उनी यति बेला अन्य देशको तुलनामा नेपालमा गरी खानका लागि धेरै सम्भावना देख्न थालेका छन् ।
'हुन त यतिका वर्षसम्म विदेश नबसेको भए मेरा आँखा पनि खुल्दैनथे होला, तर विदेशको तुलनामा नेपालमा धेरै सजिलो ठाउँमा पैसा छ, टिप्न मात्र जान्नुपर्छ,' उनले भने । उनी नेपाली युवाहरू बिदेसिनुको साटो कृषि क्षेत्रमा मात्र लागे पराइको देशमा कमाउनेभन्दा धेरै बढी यहीं कमाउन सकिने बताउँछन् ।
विदेशमा सिकेको सीपको सदुपयोग गर्दै उनले यति बेला उर्लाबारीको कठहरेमा २ बिघा खेतमा बेमौसमी तरकारी खेती सुरु गरेका छन् । पूरै खेतलाई गि्रनहाउस बनाएर उनले व्यावसायिक खेती थालेका हुन् । डेढ वर्षदेखि यो व्यवसायमा लागेका कुमार अहिलेसम्म १५ लाख रुपैयाँभन्दा बढी खर्च भएको बताउँछन् । अहिले उनको फार्ममा टमाटर फलेका छन् । 'प्रमुख रूपमा टमाटर नै लगाउने लक्ष्य लिएको छु,' उनले भने, 'दैनिक ६ देखि ७ सय केजी उत्पादन गर्ने योजना छ ।' टमाटरका अलावा काँक्रोलगायतका बेमौसमी तरकारी उत्पादन गर्ने उनले बताए । कृषि व्यवसायले एकैपटक चमत्कारै चाहिँ नहुने तर यो व्यवसाय दिगो र सबैभन्दा फाइदाजनक हुने उनको भनाइ छ । थोपा सिँचाइ प्रविधिका साथै धेरै तरिका इजरायलकै जस्तो अपनाएको उनी बताउँछन् । 'यही भएर राजदूत पनि हेर्न आउनुभएको थियो, त्यसले मलाई झनै काम गर्ने उत्साह मिलेको छ,' कुमारले भने । इजरायली राजदूत केही दिनअघिको पूर्व क्षेत्रको भ्रमणका क्रममा कुमारको कृषि फार्ममा पुगेका थिए ।
अथाह सम्भावना हुँदाहुँदै पनि सरकारले कृषि क्षेत्रको विकासका लागि ठोस नीति तय गर्न नसक्नु र युवा जनशक्ति बिदेसिनुले गर्दा यस्तो अवस्था आएको उनको बुझाइ छ ।
कमाउन विदेश जानुको साटो यही कृषि क्षेत्रमा काम गर्न सके अरूलाई पनि रोजगारी दिन सकिने उनको भनाइ छ । अहिले उनले दैनिक ६ जना भन्दा बढीलाई रोजगारी दिएका छन् । यो कृषि फार्मलाई नमुना बनाउने योजना लिएको छु,' उनले भने, 'यसैमा पेाल्ट्री फार्मसमेत सञ्चालन गर्छु ।' यही अवस्थामा अघि बढाउन सके मासिक अढाइ तीन लाख रुपैयाँ कमाउन कुनै मुस्किल नहुने उनको भनाइ छ ।
बोटबिरुवाका लागि उनले गड्यौला मलसमेत बनाएका छन् । सकेसम्म रासायनिक मल तथा विषादीको प्रयोग नगरी तरकारी उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । विदेश जान छोडेर एक्कासि यस्तो काम गर्दा घर परिवारले समेत साथ दिन नमानेको उनले बताए । 'छरछिमेकमा त धान रोप्न छोडेर नाटक गर्न थालो नै भने तर हिक्मत हारिनँ, अहिले भने उनीहरू पनि हुन्छ कि कसो भन्न थालेका छन्,' कुमारले भने ।
उनी विदेशबाट फर्केकालाई केही यही गर्न सुझाव दिन्छन् । सरकारले युवालाई लक्षित गरी कृषि सुधार कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ । अर्काको देशमा गएर रगत बगाउँदा कमाउन नसकिने पैसा आफ्नो देशमा पसिना नै बगाएर कमाउन सकिने उनको भनाइ छ ।