Kantipur-qatar

Kantipur

मिति | शुक्रबार, २०७१ कार्तिक १४     Login | Register | Issue No. 284
मिसमास»

परदेशीलाई पत्र

  • 'यसपालि त बुहारी भित्र्याउने रहर छ’
मंसिर २८ -
प्यारो छोरा,

आत्मीय माया र समधुर सम्झना

यहाँ, म तिम्रो बुबा, दाजुभाउजूलगायत सबै परिवार र आफन्तलाई आरामै छ । त्यहाँ तिमीलाई पनि आरामै होस् भनेर भगवान्सँग प्राथना गरिरहेको छु । आज तिमी प्रदेश लागेको पनि २ वर्ष पुग्न लाग्यो । आफ्नो सन्तानबाट यति लामो समय टाढिनु भनेको जुनसुकै आमाबुबाको लागि पनि ठूलो पीडा र छटपटीको विषय हो । तिमी कतारको त्यो मरुभूमिमा त हामी नेपालमा छौ । के छ, कस्तो छ हामीले देख्न सक्ने त होइन । तर पनि ठीकै होला । राम्रै होला भनेर आफूलाई सम्झाएर बस्नुपरेको छ । तिमी जति नै ठूलो भए पनि हाम्रा लागि काखे बालकजस्तै हो ।

सधैं मनमा एक किसिमको डर र भयले सताइरहन्छ । तिमी दुःख र आपतको जन्जिरमा छौ कि भनेर छाती चस्कन्छ । तर पनि कहिलेकाहीँ फोनमा हुने कुराकानीमा सोध्न र मनमा लागेको कुरा भन्न सकिने रहेनछ । हुन त त्यो मरुभूमिमा परिवारबाट टाढिएर एक्लै संघर्ष गर्दा तिमीमा हुने बेचैन र छटपटीको कुनै सीमा नै छैन होला । जे भए पनि तिमीले कहिले आफ्ना मनका कथा र व्यथा पोखेका छैनौ र हामीले पनि सोध्ने हिम्मत गरेका छैनौ ।

छोरा, सोधेर पनि के गर्ने र ? नेपालको यही हो चाला । न काम र न त दाम छ । यहाँ भौतारिएर बिरक्तिएर हिँड्नुभन्दा त विदेशमै भए पनि श्रम पसिना खनाएर स्वाभिमानी बन्नु बेस छ । तर पनि यसरी परिवारको नजरबाट टाढा खै कता-कता हो कतारको मरुभूमिमा कर्मको साइनो गाँस्नु चानचुने कुरा त होइन । जे परे पनि परिस्थितिसँग सम्झौता गर्नुभन्दा कुनै उपाय छैन । मनमा जति नै विछोडको आगो दन्किएर पनि आफैले सामसुम र थामथुम पार्नुपरेको छ । मनभित्र अथाह पीडा र वेदनाको भकारी तिम्रो पनि तयार भएको छ र हाम्रो पनि छ ।

छोरा, आफ्नो देशमा काम नपाउनाले आज तिमी परिवारबाट टाढिएर बस्नुपरेको छ । आफन्तको साथ र मायाबाट बन्चित हुनुपरेको छ । विगतका दिनलाई सम्भिmएर मन बुझाउँदै भविष्यको कल्पना गरेर रमाएका

हौलाऊ । हुन त तिमी नहुँदा यहाँ म तिम्रो बुबा, तिम्रो दाजुभाउजू सबैको हाल त्यस्तै नै छ । बुबाले सधै तिम्रो चिन्ता गर्नुहुन्छ । कतारजस्तो मुलुक जहाँ मान्छेको होइन उसको कामको मूल्य तोकिन्छ । जहाँ

छाना, दाना र नानाको लागि मान्छेले मेसिन बन्नुपर्छ ।

त्यस्तो ठाउँमा आफ्नो छोराको के हाल होला भनेर मन त सबै बुबाआमाको आत्तिन्छ नै । तर पनि यो हामीजस्तै आर्थिक कमजोर भएका सबै नेपालीको साझा कहानी हो भने हामीले मन बुझाएका छौ । छोरा, जे जस्तो भए पनि तिमी दुःखी नहुनु । तिमीले जे गरेको छौ ठिकै गरेका छौ ।

हामीलाई गौरव छ । नेपालमा बरालिएर हिँड्नु सट्टा मरुभूमिमै भए पनि तिमीले पौरख गरेका छौ । हरेक कठिनाइलाई पार गर्दै अघि बढेका छौ । तर छोरा, विदेशमा पनि कति नेपाली युवायुवती नानी र पानीको संगतमा परेर बिग्रेका छन् भन्ने सुन्दा भने निकै डर लाग्छ । यसको दलदलमा फसेपछि त सबै कुरा बर्बाद हुन्छ । हुन त हामीलाई तिमीप्रति पूरा विश्वास छ । तर पनि छोरा मान्छे कदम कति खेर डगमगाउँछ कसैलाई थाहा हुन्न । त्यसमाथि म आमा सधै तिम्रोे चिन्ताले सताउँछ नै । छोरा, तिम्रो बुबाले पनि त्यही भन्नुहुन्छ । तिमी सधै राम्रो साथीहरूको मात्र संगत गर्नु । त्यो खाडी रहरले होइन बाध्यताले गएका हौ ।

त्यसैले आफ्नो दुःख बुझ्नु । पैसा सकेसम्म जोगाउनु है । अब त तिम्रो बिहे गर्ने बेला पनि भो । दिनप्रति दिन तिमीमाथि पनि जिम्मेवारी बढ्दै छ । त्यसैले पनि छोरा आफूले पसिना चुहाएर कमाएको पैसा यतिकै खेर नफाल्नु । तिमी नेपाल आएपछि बिहे गर्नुपर्छ । आफूलाई मन परेको केटी कोही छ भने पनि भन । हामीलाई तिम्रो खुसी नै ठूलो कुरा हो । यदि छैन भने तिम्रो चाहनाअनुसारको केटी हामी खोज्छौ । तर जसरी भए पनि तिमीले यसपालि घरजम गर्नुपर्छ । दाजुको छोरा छोरी भइसक्यो । तिम्रो पनि घरजम बसाली दिन पाए हामी बूढाबूढीले सन्तोषको सास फेर्न पाउने थियौ ।

दाजु भरतले काठमाडौमा पसल चलाएको छ । पसल ठिकै चलेको छ । तिम्रो बुबा र भाउजूले पनि उसलाई सघाएका छन् । दाजुभाउजू दुवैले तिमीलाई धेरै सोधेका छन् । छोरा, दसैं, तिहारमा तिमी नेपालमा नहँुदा हाम्रो आँखा धेरै टोलाए । परिवारको सबै सदस्य एउटै छानामुनि तर तिमी भने प्रदेशमा । जति नै खुसीको माहोल सिर्जना भए पनि हामी सबैले तिम्रो अभाव महसुस गर्‍यौं । हुन त छोरा तिमीलाई नसम्झेको कुनै पल छैन । झन् चाडपर्वमा त मनै नथामिने गरी

दुख्छ । तिमी आइहाल्छौ कि जस्तो लाग्छ । विगतमा तिमीले बोलाएको झझल्को आउँछ । साँच्चि आएजस्तो लाग्छ तर आफूलाई चिमोटी हेर्दा तिमी त कतारमा । यो क्षणमा भने एकदमै नराम्रोसँग मन भाँचिन्छ ।

तर छोरा, एक मन त धेरै खुसी लाग्छ । तिमीले गरीबीलाई आफ्नो कमजोरी बनाएर बरालिएर हिँडेनौ । जस्तोसुकै कठिन परिस्थितिमा पनि संघर्ष गर्‍यौ । त्यसैले पनि तिमीलाई धन्य भन्न मन लाग्छ । अ त सबै ठीक छ । यताको केही चिन्ता नगर्नु । आफ्नो खानपान र स्वास्थ्यको विशेष ख्याल गर्नु । अन्त्यमा कतारमा रहेका सबै नेपालीमा यो आमाको माया र सम्झना सुनाइदिनु है ।

तिम्रो प्यारी आमा

कमलादेवी

प्रस्तुति ः महालक्ष्मी सिलवाल

 

प्रकाशित मिति: २०७१ कार्तिक १४ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

बैठक सुरु भो ?... हुनै लाग्यो ?... त्यसोभे बिना निष्कर्ष टुंग्यो भन्दिम् ?
  हाम्रा प्रकाशनहरु :
Our Publication