काठमाडौ, मंसिर २८ -
खाडीका देशमा जस्तै नेपाली युवाहरू रोजगारको लागि ओइरिने एक मुलुक हो मलेसिया, जहाँ पुगेका कतिपय युवा घर परिवारसँग सम्पर्कविहीन हुने गरेका छन् । मलेसियामा नेपाली कामदारको अवस्थाबारे राजधानीमा हालै आयोजित कार्यक्रमका वक्ताले यस तथ्यलाई औंल्याए । अनुमानित ४ लाखभन्दा बढी नेपाली कार्यरत मलेसियामा कति कामदार परिवारसँग सम्पर्कविहीन छन् भन्ने
तथ्यांक भने छैन । प्रवासी नेपाली समन्वय समितिले ७ सयभन्दा बढी नेपाली
कामदार घर परिवारको सम्पर्कमा नभएको जानकारी मिलेको जनाएको छ । ती पीडित परिवारले सोधखोज तथा उद्धार गरी स्वदेश फर्काइदिन आग्रह गरेको संस्थाका अध्यक्ष महेन्द्र पाण्डेले बताए ।
'एक सय ६३ व्यक्ति बेपत्ता भएको निवेदनै परेको छ,' उनले कान्तिपुरसँग भने, 'हामीले संकलन गरेको सबै विवरणअनुसार मलेसियामा करिब ७ सय नेपाली घर परिवारको सम्पर्कमा छैनन् ।' मोरङको सिजुवाबाट मात्रै २ सयभन्दा बढी मलेसियाबाट घर नफर्किएको उनले बताए । 'रुकुम, पाल्पा, झापा, इटहरी, चितवन, गोर्खा, सर्लाहीसहितबाट बेखबर भएको जानकारी छ,' उनले भने ।
मलेसियाली अधिकारकर्मी, पूर्वराजदूत, मलेसियाबाट फर्केका कामदार, सरकारी अधिकारी र केही संस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा बेखबर ९ परिवारबारे वृत्तचित्रसमेत समितिले प्रदर्शन गरेको
थियो । दमक- ८, झापाकी सकुन्तला दवाडी र छोरी अनुषाले रुँदै वृत्तचित्र हेरे । 'घरबाट हिँडेपछि मलेसिया पुगे/नपुगेको कुनै खबर छैन,' ८ वर्षदेखि बेपत्ता श्रीमान् कमलप्रसादको सकुसल पर्खाइमा बसेकी सकुन्तलाले भनिन्, 'पहिला त कहाँ, कसलाई भन्ने पनि थाहा भएन, अब त सोधखोज हुन्छ कि भन्ने लागेको छ ।'
परराष्ट्रको कन्सुलर शाखाका नायब शिष्टाचार महापाल दिलीप पौडेलले परिवारसँग सम्पर्क नगरी बस्नेको संख्या यकिन नभएको सुनाए । गत वर्ष मात्रै ४ सयभन्दा बढीले कन्सुलर शाखामा यससम्बन्धी खबर गरेको बताए । 'वास्तविक बेपत्ता कमै छन्, धेरै त घरपरिवार बिर्सेर बसेका छन्,' उनले कान्तिपुरलाई भने, 'कोही छोरो, कोही श्रीमान् खोजी दिनुपर्यो भनेर रुँदै आउँछन् । हराएकालाई खोज्न सकिन्छ, जिम्मेवारी र नैतिकतालाई बिर्सेर बस्नेहरूलाई के गर्ने ?'
५ वर्ष काम गरेर मलेसियाबाट फर्केका सुनवल, नवलपरासीका विष्णु रोकाका अनुसार कतिपय मलेसिया भएर पनि घरमा सम्पर्क गर्दैनन् । 'कोही कुलतमा फसेका छन् भने कोही उतै विवाह गरेर पनि आफ्नो घर बिर्सेका छन्,' उनले भने, '१० वर्षदेखि घरमा कुनै सम्पर्क नगरेका एक व्यक्तिलाई त उद्धार गरेर घरै ल्याइदियौं ।' उनका अनुसार रूपन्देहीका सापकोटा थरका विवाहित ती युवकले मलेसिया पनि विवाह गरेर घर परिवारसँग सम्पर्कविहीन भएर बसेका थिए । उनको घरबाट परिवारले खोजीका लागि रकमसमेत पठाएपछि मलेसियाबाट उद्धार गरी परिवारलाई बुझाएको उनले बताए । आप्रवासी कामदारलाई मलेसियामा विवाह गर्न बन्देज छ ।
मलेसियाका लागि पूर्वनेपाली राजदूत ऋषिराज अधिकारीले बेपत्ता भएको
केही निवेदन आएको जनाउँदै खोजीमा विविध समस्या हुने गरेको बताए । अधिकारीले आफू खुसी घरमा सम्पर्क नगर्नेहरू पनि भएको जनाउँदै 'जानी-जानी बेपत्ता' हुनेलाई खोजेर फर्काउन समस्या हुने बताए । 'कोही घरजम गरेर बसेका छन्, कोही नाम बदलेर' उनले भने, कोही केही कमाउन सकिएन घरमा के मुख देखाउने भन्दै बसेका पनि छन् ।'
मलेसिया लागि श्रम सहचारी अमलकिरण ढकालका अनुसार खोजबिनका लागि
करिब ६० वटा निवेदन परेको छ । 'कोही जेल, कोही घर फिर्ती केन्द्र र कोही गैरकानुनी भएर पनि खबर नगरेका हुन सक्छन्,' बेपत्ताको खोजीका लागि दूतावास लागेको बताउँदै उनले कान्तिपुरलाई टेलिफोनमा भने, 'बेपत्ताको नाम, ठेगाना, कम्पनी, पासपोर्ट नम्बर पाए सोधखोज गर्न सजिलो हुन्छ ।' मलेसियासम्बन्धी कार्यक्रमको लागि नेपाल आएकी आप्रवासी कामदारको अधिकारको पक्षमा वकालत गर्ने अधिवक्ता रेनुका टी. सुब्रमनियमले वास्तविक समस्यामा परेकालाई उद्धार गर्न सकिने बताईन् ।
'आफूखुसी नभेटियोस् भन्ने चाहनेलाई फर्काउन गाह्रो हुन्छ' उनले भनिन्, 'तर कोही हराएर, कोही थुनामा परेर, कसैको मृत्यु वा कोही खतरामा परेर सम्पर्क नगरेका पनि हुन सक्छन् ।' ती व्यक्तिको तस्बिर र पासपोर्ट नम्बरसहित स्थानीय पत्रिकामा जानकारी दिएर खोजतलास गर्न सकिने उनले बताइन् ।
प्रकाशित मिति: २०७० जेष्ठ ११ ०५:३०
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !