चितवन, मंसिर २८ -
पछिल्ल्ाो समय उद्योग कलकारखाना बन्द भएपछि बेरोजगार बनेका मजदुरहरू बिदेसिन बाध्य बन्ने गरेका छन् । स्वदेशमा अन्य रोजगारीको माध्यम फेला पार्न नसक्दा बर्सेनि पुरानो पेसाबाट पलायन भई खाडी देश रोज्नेको संख्या बढ्दो छ । तर यहाँ भने बेरोजगारी बनेकाहरूलाई रोजगारी दिने उद्देश्यले ठूलो फलाम कारखाना स्थापना गरिएको छ ।
५ जना व्यावसायिक इन्जिनियर मिलेर स्वदेशी लगानीमा चितवनको चैनपुरमा ठूलो फलाम कारखाना स्थापना गरेका हुन् । सेफ अफ स्टिल्स नामक उक्त कारखनामा पुल निर्माणका लागि आवश्यक पर्ने फलामको काम गरिन्छ । १० करोड लागतमा स्थापना भएको उक्त कारखाना वैशाखबाट सञ्चालनमा आएको हो । निर्माणमा अनुभवि इन्जिनियरहरूले स्थापना गरेको कारखानामा ६५ जनाले रोजगारी पाएका छन् । कारखानाका लागि आवश्यक पर्ने कच्चा सामग्री भने वीरगन्जबाट ल्याउने गरिएको छ । उद्योगमा फलामे पुल, बिजुलीको पोल, दूरसञ्चारका पाइप, हाइड्रोपावरको पेनस्टक पाइप बनाइन्छ ।
३६ कठ्ठा जग्गा खरिद गरी कारखाना स्थापना गरिएको हो । कारखानामा अहिले मोटरवेल र झोलुंगे पुलका लागि पोललगायत पुललाई आवश्यक पर्ने सामग्री बनाउन भ्याई नभ्याई छ । स्थापना भएको छोटो समयमै पुल निर्माणका लागि आवश्यक पर्ने सामग्रीको माग भएको हो । 'हाम्रो मुख्य उद्देश्य कारखानामा स्थानीय जनशक्तिलाई रोजगारी दिनु हो,' कारखाना सञ्चालक ठाकुर अधिकारीले भने, 'तर हामीले भनेजस्तो दक्ष जनशक्ति पाउन समस्या भयो ।' उनले गाउँंमै नभए पनि आसपासका जिल्लाबासीले रोजगारी पाएको बताए । कारखानामा काम गर्ने अधिकांश युवा छन् । दैनिक काममा खटिएर काम गरेअनुसारको पारिश्रमिक पाउँंछन् । काममा बारा र पर्साका युवाहरू बढी छन् । कार्यरत मजदुरले ९ हजारदेखि २१ हजारसम्म मासिक तलब पाउंँछन् । वैदेशिक रोजगारीमा गएर फर्किएकाहरूसमेत कारखानामा काम गर्न आउने गरेको सञ्चालक अधिकारीले बताए । 'हाम्रो कारखाना ठूलो बनाउंँदै लग्ने हो,' उनले भने, 'यहाँ काम गर्नेले जागिर छाडेर बिदेसिनु नपरोस् भन्न्ो उद्देश्य पनि हाम्रो हो ।' उनले रोजगारीका लागि टाढा टाढादेखि समेत आउने गरेका र उनीहरूको अवस्था र शैक्षिक योग्यता हेरेर काम दिने गरेको बताए । कारखाना पुल निर्माणका लागि स्थापना भएको हो ।
देशभरका फलामका मोटरेवल पुल जीर्ण बनेको समयमा आफूहरूले त्यस क्षेत्रका पुल निर्माण गर्न लागिएको सञ्चालक अधिकारीले बताए । पुललाई गुणस्तरीय बनाउन इन्जिनियरहरूको टोली आफैंं पुल बिगि्रएका स्थानमा पुग्ने गर्छन् । पुलको अवस्था हेरेर मात्र पुललाई आवश्यक पर्ने सामान बनाउने गरिन्छ । अहिले ९ वटा फलामका मोटरेवल र १७ वटा झोलुंगे पुल निर्माणका लागि अर्डर आएको छ । वैशाखसम्म सक्नुपर्ने भएकाले इन्जिनियर आफैं निर्माणमा संलग्न हुने गरेका छन् । 'यसरी स्वदेशी लगानीमा यति ठूलो फलामको काम गर्ने उद्योग स्थापना भएजस्तो लाग्दैन,' अधिकारीले भने, 'यो नै पहिलोजस्तो लागेको छ ।' उनले फलामको काम गर्न प्रतिस्पर्धा भए पनि धेरै काम गुणस्तर खस्किने कामभन्दा
थोरै काम गरेर गुणस्तरीयता बढाउनेमा लागिपर्ने बताए । उद्योगमा फोन र बिजुलीको समस्या छ । लोडसेडिङले गर्दा फलामबाट निर्माण सामग्री बनाउन समस्या भएको हो । यो क्षेत्रमा अन्य उद्योगसमेत धमाधम स्थापना हुन थालेका छन् । यो क्षेत्र औद्योगिक क्षेत्रको रूपमा विकास हुंँदै गएकाले उद्योग स्थापना हुने क्रम बढेको हो । यस क्षेत्रमा आधा दर्जनको संख्यामा ठूला नयाँ उद्योग खुल्ने तयारी गरिएको छ ।