दोहा, मंसिर २८ -
नेपाली व्यवस्थापनमा सञ्चालन भइरहेको एबल मार्टले १२ जना नेपाली कामदारलाई टिकट दिने घोषणा गरेको छ । यसले यो टिकट प्रत्येक महिना एकवटा टिकटको दरले १२ वटा टिकट दूतावासलाई दिनेछ ।
मार्टका म्यानेजर दीपक भेटवाल ठगीमा परेर टिकटका अभावमा अलपत्र पर्ने नेपाली कामदारलाई घरजानबाट वञ्चित हुन नदिन प्रत्येक महिना टिकट उपलब्ध गराउन लागेको हो । 'पीडितलाई सहयोग गर्ने यो हाम्रो सानो प्रयास हो,' म्यानेजर भेटवालले भने, 'हामी यो अभियानलाई निरन्तर जारी राख्नेछौं ।' मार्टले दूतावाससँग समन्वय गरेर पीडितलाई टिकट हस्तान्तरण गर्ने जनाएको छ ।
सनैयास्थित स्टि्रट नम्बर १३ मा रहेको एबल मार्टमा नेपाली व्यवस्थापनमा तीन महिनादेखि सञ्चालन भइरहेको छ । उसले त्यहाँ नेपाली खाद्यान्य साम्रगीहरूसमेत राख्ने योजना बनाएको छ । नेपालबाट बाट गुन्द्रुक, भटमास, सुकुटी, चिउरा लगायतका नेपाली खाद्यान्य आयात गर्ने प्रक्रिया सुरु भइसकेको छ । 'यो क्षेत्रमा न्यूनतम आम्दानी गर्ने नेपालीको उपस्थिति छ । उहाँहरूलाई सस्तो र सुलभ मूल्यमा हामीले सामानको बिक्री गरेका छौं,' भेटवालले भने । नेपालीहरूको रोजाइको पसल बनाउने प्रयासमा छौ । एबल मार्टमा दैनिक खाद्यान्यको सामग्री लगायत, माछा, मासु, ताजा फलफूल तरकारी, लत्ताकपडा, इलेक्टोनिक्स समानहरू बेचिन्छ ।