Kantipur-qatar

Kantipur

मिति | शुक्रबार, २०७१ वैशाख ५     Login | Register | Issue No. 267
मुख्य समाचार»

विमानस्थलमा नरोकिएको 'सेटिङ'

दोहा, मंसिर २८ -
हालैको एक बिहान कुबेतस्थित नेपाली दूतावासमा एक कुबेतीले घरेलु कामदारको रूपमा ल्याएको नेपाली युवतीको प्रहरी रिपोर्ट बनाउन पुगे । कुबेतमा दूतावासको प्रहरी रिपोर्ट भएपछि मात्रै कुबेती सरकारले आवासीय अनुमति -पतका) दिइने हुँदा उनीहरू दूतावास पुगेका थिए ।

'यिनी त २२ वर्षकी रहिछन् । ३० वर्षभन्दा मुनिकालाई हामीले घरेलु कामदारका लागि अनुमति दिएका छैनौं । तपाईंले कसरी ल्याउनुभयो ?' राजदूत मधुवन पौडेलले ती कुबेतीसँग प्रश्न गरे, 'यिनलाई ल्याउन तपाईंले अनुमति लिएको हो ?'

ती कुबेतीले एजेन्सीमार्फत युवती ल्याएका रहेछन् । दूतावासले अवैध भएकोले प्रहरी रिपोर्ट दिन नसक्ने भन्दै पठाइदिए । ती महिलालाई  एजेन्सीले दूतावाससँग अनुमति नलिई छलेर ल्याएको रहेछन् । उनीलाई काठमाडौं विमानस्थलमा सेटिङ गरी कुबेत पुर्‍याएको हो । 'दलालले सेटिङ गरेर पठाएको रहेछ', राजदूत पौडेलले भने, 'हाम्रो नियमलाई मान्नुपर्छ । प्रहरी प्रतिवेदन दिन सक्तैनौं ।' दूतावासबाट प्रहरी रिपोर्ट बनाउन नसक्दा युवतीको पताका नबन्ने भयो । अवैध रूपमा राख्ने आँट कुबेतीले गरेनन् । दूतावासको आग्रहमा कुबेतीले ती युवतीलाई काठमाडौं पठाइदिए । 'उनी युएईका लागि स्वीकृति लिएर आएको रहेछ । त्यसपछि कुबेतको भिसामा यता ल्याइएको रहेछ,' राजदूत  पौडेलले कान्तिपुरसँग भने, 'यो एउटा नमुना हो ।'    

सेटिङमा ह्वारह्वार्ती

वैदेशिक रोजगारीमा कागजात पुर्‍याएर आउने नसक्ने स्थिति बनेपछि 'सेटिङ करोबार' बढेको छ । झन् कतारमा आउनेहरू त समूह नै आउँछन् । सरकारले सेटिङ रोक्न भन्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा तीन महिनाअघि एउटा उच्चस्तरीय कार्यदल बनाएको थियो । जसमा  गृह -जहाँ अध्यागमन विभाग छ), श्रमका उच्च अधिकारीहरूको संलग्नतामा दुई कार्यदल बनेका थिए ।

यी बीच कामको देखाउटी भए पनि 'सेटिङ' गर्ने स्थिति रोकिनुको सट्टा झन् बढेको छ । सेटिङ रोक्न प्रहरीले पहिलो गेटमा चेकजाँच गरेको छ । तर, च्यानल मिलाउनेहरूको लागि प्रहरीको पहिलो रोकाइ 'देखाउने दाँत' हो । सेटिङमा आउनेहरू भन्छन्,'पैसा दिएपछि यसको अर्थ छैन ।'

सेटिङमा एकैपटक समूह नै छिर्ने गरेको छ । 'हाम्रो समूहमा आठजना थियौं । साँझ ६ बजेतिर एयरपोर्ट छिर्‍यौं । एयरपोर्टको अधिकृतले कागजपत्र हेरेर 'आठजना हो' भनेर सोध्यो । म अगाडि नै थिएँ । 'हो' भन्ने जवाफ दिएँ,' भीरकोट-८, तनहँुका होमबहादुर मगरले भने, 'उसले अनुमति दिइहाल्यो ।' सेटिङबाट आउनेहरूको संख्यात्मक वृद्धि भइरहेको छ । वैदेशिक रोजगार विभाग र नेपाली दूतावासहरूबीचको समुन्वयमा काम हुन थालेपछि नमिलेकालाई दलालले सेटिङमार्फत पठाउने गरेको छ । 'समस्या लिएर यहाँ कामदार आउने गर्छन्,' कतारका श्रम सहचारी इन्द्रदेव पाण्डे भन्छन्, 'केहीको यहाँ रेकर्ड हेर्दा हुँदैन । त्यस्ता रेकर्ड नुहुनेहरू अर्को बाटोबाट आएका हुन्छन् ।'    

जति कडाइ, त्यति महु्रंगो विमानस्थलमा जति कडाइ गरेको छ, त्यति नै गहुंगो दरमा सेटिङका लागि खर्च हुने गरेको छ । बडारा दुवौलिया-९, नवलपरासीका राजकुमार सुनार र पीडित काहरा एकै दिन सेटिङमा आएका हुन् । न्युवोल्ड ओभरसिजका प्रमुख सीपी चुडाललाई एक लाख पाँच हजार रुपैयाँ बुझाएका उनलाई विमानस्थलबाट भारतका लागि भनेर उडाएका थिए । 'हामीलाई एकदम टाइट छ । अहिले श्रम निकाल्न सकेनौं । विमानस्थलमा मिलाउनुपर्छ भनेर पैसा बढी नै माग्यो,' सुनारले भने, 'त्यही भएर एक लाख पाँच हजार रुपैयाँ बुझाउनुपर्‍यो ।' उनीहरू बहराइन जाने भन्दै भारत उडे । भारतबाट कतार आइपुगे ।

तनहँुका होमबहादुरले कतार आउन नसक्ने भएपछि आलम अन्सारी भन्ने एजेन्टलाई एक लाख तीन हजार बुझाउन बाध्य भए । 'त्यति पैसा तिरेपछि मात्रै कतार पुर्‍याउँछु भन्यो,' उनले भने, 'त्यति बुझाएपछि कतार पनि आइयो ।'

पोखरा-८, का टीकाराम कँुवरले गोंगबुको डिलक्स किङ्ग ट्राभल एन्ड टुर्सका कुमार गुरुङलाई ४४ हजार रुपैयाँ बुझाए । 'कतारमै आफन्तले भिसा निकालिदिएको थियो । मैले त्यस ट्राभललाई टिकटसहित सेटिङ खर्च दिए,' उनले भने, 'विमानस्थलमा आएपछि कसैले रोकेन ।'

बुढीमोरङ-६, धनकुटाका दिनेश मगरले सेटिङका लागि ६० हजार रुपैयाँ बुझाए ।

'काम हुने आशामा कुर्दाकुर्दै साथमा भएको पैसा सकियो । धनकुटाकै छोटे दलाल चूडामण्ाि मगरले ६० हजारमा जसरी पनि कतार पुर्‍याउँछु भन्यो,' उनले भने, 'फेरि गाउँका साथीभाइसँग ऋण खोजियो । उसले सेटिङ मिलाएर पठाउँछु भनेको थियो । उसले सिकाएअनुसार हाम्रो समूहका हेटौंडाका सुन्दर लामा, प्रेम थापा, चितवनका दीपक राईलगायत आयौं ।'

डलर अध्यागमनकै कर्मचारीले दिन्छन्, लिन्छन्  ठूलो सिरुबारी, सिन्धुपाल्चोकका चन्द्रबहादुर थापा दुबईको भिजिट भिसामा विमानस्थल छिरेका थिए । कतारमा उनको ड्रारभर भिसा निस्किएको थियो । नाता प्रमाणित गर्न नसकेपछि श्रम स्वीकृति नहुने देखेपछि उनले सेटिङको बाटो राजेको हो । 'भिसाको पैसा पनि परेको थिएन । टिकटसहित ४५ हजार रुपैयाँ गौशालाको ट्राभल्स एजेन्सीलाई बुझाएँ,' उनले भने, 'दुबईको भिजिट भिसा र होटल बुकिङ लिएर भित्र पसे ।'

त्यसको लागि उनले अध्यागमनमा पाँच सय डलर देखाउनुपथ्र्यो । 'मलाई विमानस्थल बाहिर आएर एकजना कर्मचारीले पाँच सय डलर दिए,' उनले भने, 'अध्यागमन पार गरेर अन्तिम सुरक्षा लाइन पार नगर्नुअघि त्यही कर्मचारी आएर लिएर गए ।' झिँ-१, म्याग्दीका देवेन्द्र माहिलिपारका लागि टमबहादुर गुरुङले ५० हजार लिएर सेटिङ मिलाएका थिए । 'टमबहादुरले एयरपोर्टबाट छिराउन मलाई बहराइनको नक्कली भिसा र एगि्रमेन्ट थमाए,' उनले भने, 'होटल बुकिङ गरेको नक्कली कागज थमाए । हातमा युएस डलर ५ सय डलर दिएर एयरपोर्टको कर्मचारीले सोधे, 'बहराइन घुम्न गएको भन्नु' भने । त्यहीअनुसार आए ।'

सेटिङबाट आउन अधिकारबाट वञ्चित

सेटिङको मुख्य कारण हुनुमा सेटिङमा आउनेहरू भन्छन्, 'करारपत्र प्रमाणीकरणमा दूतावासले हाडनाताको सम्बन्ध खोज्नु ।' दूतावासले व्यक्तिगत श्रम स्वीकृति -तनुवा भिसा) मा आउन खोज्नेलाई हाडनातामा सीमित गरेको छ । दूतावास भन्छ, 'जसले पायो, त्यसले बोलाउँदा यहाँ अलपत्र बन्ने र टुंगिने शंृखला झन् बढ्यो । कारबाही गर्न खोज्दा समात्ने मान्छे फेला परेन ।'

'कतार आउन यता कम्पनीले वा व्यक्तिले दिएको भिसा र नाता प्रमाणित गर्नुपर्ने रहेछ । नाताको केही थिएन । कम्पनीमा मेरा आफन्तले भिसा मागेपछि दिएको रहेछ,' देवेन्द्रले भने, 'अनि सेटिङमा आउन बाध्य भए ।' नाता प्रमाणितको लागि परराष्ट्र मन्त्रालयमा कैयौंपटक जाँदा पनि नभएपछि अर्को बाटो रोजेको चन्द्रबहादुरले बताए । 'पहिले मलेसियामा बसेर फर्किएको हुँ । त्यहाँ कार्पेन्टरी गरेको थिएँ । घर फिरेपछि अर्को देश जानै पर्ने देखियो,' लक्ष्मीपुर-४, इलामका मानबहादुर लुङ्गेली मगरले भने, 'कतार आउने भइयो । तर, दूतावासले कागजात प्रमाणित गरेपछि मात्रै सहज तरिकाले आउन पाइने रहेछ । कम्पनीले डिमान्ड प्रमाणित नगरी आउने एउटै विकल्प नाता प्रमाणित गर्नु रहेछ । नाताको मान्छे नभएपछि सेटिङ गर्नुपर्ने भयो ।' यसरी सेटिङमा आउनेहरू भने कामदारहरू अधिकार लिनबाट वञ्चित हुनुको साथै सरकारी अभिलेखमा हँुदैन । कामदारको सुरक्षाको लागि भनेर स्थापना गरिएको कल्याणकारी कोषबाट पाउने राहतबाट वञ्चित छन् । बिमा हुँदैनन् । यहाँ मेडिकल अनफिट भएर र्फकनुपरेमा क्षतिपूर्तिबाट वञ्चित हुनुपर्छ । 'सेटिङमा आउनेले दुःख पाइने रहेछ, हक अधिकार नपाइने रहेछ । समस्या लिएर जाँदा दूतावास तर्किने रहेछ,' म्याग्दीका  देवेन्द्र माहिलीपारले भने, 'अरू कसैले यस्तो भोग्नु नपरोस् ।'



 

प्रकाशित मिति: २०७१ वैशाख ५ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication