Kantipur-qatar

Kantipur

मिति | आईतवार, २०७१ कार्तिक ९     Login | Register | Issue No. 284
सम्पादकीय»

नेताहरूलाई पाठ

मंसिर ७ -
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालमाथि उनकै पार्टीका एक पूर्वकार्यकर्ताले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा एक थप्पड हाने । प्रत्युत्तरमा तिनले दर्जनौं झापड र पिटाइ खाए अनि आफैं घाइते भएर प्रहरी हिरासत पुगे । भएको घटना यति हो, तर यसको राजनीतिक आयतन कति फराकिलो भइदियो भने तिहारलगत्तै राष्ट्रिय चर्चाको विषय यही बन्यो । यसअघि अन्य दुई मुख्य दलहरू- कांग्रेस र एमालेका प्रमुखहरू क्रमशः सुशील कोइराला र झलनाथ खनाल पनि आआफ्ना कार्यकर्ताको आक्रोशको सिकार भएका थिए । यसबीच अन्य केही नेताहरूमाथि पनि छिटपुट रूपमा आक्रमण भए । नेताहरूमाथि हातपात गरेर स्वःस्फूर्त आफ्ना असन्तुष्टि पोख्ने वा नियोजित ढंगले अराजकता बढाउन खोज्ने यस्तो प्रवृत्ति निन्दनीय छ । यस अर्थमा एमाओवादीको चियापान कार्यक्रममा अध्यक्ष दाहाललाई थप्पड हान्ने जुन घटना भयो, त्यो सुनेर/देखेर रमाउनुपर्ने विषय होइन, बरु नेताहरू स्वयंले ठण्डा दिमागले आत्मसमीक्षा गर्नुपर्ने चाहिं हो- आखिर हाम्रो समाजमा किन बढ्दै छ यस्तो प्रवृत्ति ? कसका कारण बढ्दै छ ?

प्रारम्भिक तथ्यहरूबाट दाहालमाथि थप्पड हान्ने बागलुङ घर भएका युवा तथा निजको परिवार विगतमा माओवादी पार्टीसँगै सम्बद्ध रहेको तर शान्तिकालमा पार्टीबाट अपेक्षित सहयोग र भूमिका नपाएका कारण आक्रोश पोख्ने अवस्थामा पुगेको देखिन्छ । एमाओवादीले भने आफ्ना शीर्षनेतामाथि भएको आक्रमणलाई सुनियोजित राजनीतिक षड्यन्त्र मान्दै त्यसमा शान्ति र संविधानविरोधी शक्तिहरूको हात रहेको दाबी गरेको छ । सरकारले उक्त घटनाको छानबिन गर्न जाँचबुझ टोली नै बनाइसकेकाले वास्तविकता चाँडै प्रकाशमा आउला । त्यसैले त्यसको कारणबारे अहिल्यै ठोकुवा गरिहाल्न जरुरत छैन, तर नेताहरूले भनेझैं ँशान्ति र संविधानविरोधी’ तत्त्वहरू सल्बलाउने परिस्थिति कसरी आयो, त्यसतर्फ मन्थन हुन/गर्न भने जरुरी छ ।

नेपाली राजनीतिक इतिहासको एउटा प्रमुख कोसेढुंगाका रूपमा अंकित २०६२-६३ सालको जनआन्दोलनले ल्याएका अग्रगामी उपलब्धिहरूलाई संस्थागत गर्न हाम्रा नेताहरू चुकेकाले शान्ति/संविधानविरोधीहरू सल्बलाउन पाएका हुन् । त्यस्तो किन भयो, उनीहरूले यसको जवाफ ढिलोचाँडोे दिनैपर्छ । संविधानसभाको चुनाव भयो, तर नयाँ संविधान किन जारी हुन सकेन ? ऐतिहासिक संविधानसभाले आफ्नो अन्तिम बैठकसमेत गर्न नपाई मृत्युवरण किन गर्नुपर्‍यो ? त्यसयताका छ महिना कसका कारण निरर्थक बिते ? सरकारले मंसिर ७ मा नयाँ चुनाव गर्ने भन्यो, तर किन भएन ? राजनीतिक निकास के हो, कसरी निकाल्ने हो, छ महिनादेखि मुलुकलाई अन्योलको बन्दी बनाउने को हो ? अनि छ वर्षदेखि भोग्दै आएको संक्रमण टुंग्याएर मुलुकमा स्थायित्व ल्याउन कसले-किन रोकेको वा नसकेको

हो ? आम नागरिकका दिमागमा उठेका यी र यस्ता तमाम प्रश्नहरू शीर्ष नेताहरूतर्फै लक्षित छन् । तर जवाफ मिलिरहेको छैन, न त थोरै पनि आशा-सञ्चार गर्न उनीहरूले सकेका

छन् । नेताज्यूहरूले प्रथमतः आफ्नो पाटोका यी कमजोरीहरू पहिल्याउन, स्वीकार्न र सच्याउन साहस देखाउनुपर्छ ।

अहिले एकथरी पुरातनपन्थी र अनुदारवादीहरूले हाम्रा सबै राजनीतिक दल, तिनका नेता र हालको संघीय-लोकतान्त्रिक-गणतान्त्रिक-बहुलवादी पद्धति नै विफल भएको दुष्प्रचार गर्दै छन्, जो बिल्कुलै सही होइन । हाम्रो राजनीतिक नेतृत्वले दोस्रो जनआन्दोलनपश्चात् अग्रगमनको जुन बाटो समातेको थियो, समग्रमा त्यो सही थियो/छ, तर डोर्‍याउने अगुवाहरू झिनामसिना व्यक्तिगत/पार्टीगत स्वार्थमा अल्मलिदिनाले संविधानसभाको पहिलो यात्रा दुर्घटनाग्रस्त भएको हो । हामीले अँगालेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन अहिले पनि नयाँ संविधानको खाँचो उति नै छ, जति हिजो थियो । नेताहरूलाई त्यसका निम्ति घच्घच्याइरहनुपर्ने खाँचो पनि छ, तर हातपात गर्नु वा पिट्नु समस्याको समाधान होइन, न त लोकतान्त्रिक संस्कार हो । क्षणिक आक्रोशलाई त्यसतर्फ मोड्नु अराजकतालाई आमन्त्रण मात्र हुनेछ । तर राजनीतिक निकास पहिल्याउने र मुलुकलाई स्थायित्वतर्फ लैजाने मूल दायित्व नेताहरूकै हो, जसबाट उनीहरू कुनै बहानामा पन्छन मिल्दैन । यसमा अझ पनि ढिलाइ गर्ने हो भने भृकुटीमण्डप-प्रभृतिका घटना-दुर्घटना दोहोरिइरहने जोखिम हुन्छ ।

प्रकाशित मिति: २०७१ कार्तिक ९ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

लाइन काटेर आ' !... केटा'रू द्यौसी भट्याउदैथे, 'झिलिमिली झिलिमिली' भन्दै लाइनै काट्दें !
  हाम्रा प्रकाशनहरु :
Our Publication