फेदीखोला -स्याङ्जा, मंसिर ७ -
बेलायती सेनामा गएर युद्धमा ज्यान गुमाएका तथा बेपत्ता भएका गोर्खालीहरूको गुमाएका आत्मशान्तिका लागि यहाँको साल्मेडाँडामा सामूहिक काजकिरिया सुरु भएको छ । १८ विभिन्न जातिका प्रतिनिधिहरू किरियामा बसेर ६० हजार गोर्खाहरूको काजकिरिया मंगलबार थालेका हुन् ।
गोर्खा भूतपुर्व सैनिक संघ -गेसो) को पहलमा गोर्खा स्मारक स्थलमा तीन दिनसम्म काजकिरिया हुनेछ । झन्डै तीन अर्ब रुपैयाँको महत्त्वाकांक्षी योजनासहित गेसोले निर्माण गर्न लागेकेा स्मारकस्थल आकर्षक हिमालहरू देखिने यो डाँडोमा विभिन्न ठाउँबाट आएका पूर्वगोर्खाहरूको जमघट अधिक देखिएको छ । काजकिरियामा गुरुङ, मगर, राई, लिम्बू, तामाङ, शेर्पा, थकाली, नेवार, क्षेत्री, बाहुन, घले, दलित, ह्याल्मो, दुरा लगायत विभिन्न १८ जातिका एकदेखि तीनजना विभिन्न टहरामा बसेका छन् । त्यस्तै १८ वटै जातिका धर्म गुरु तथा पुरोहितहरूले पूजाआजासमेत गरेका छन् ।
रामकोट, लामीस्वारा तथा चारघरे गाउँको सुनसान चिहानडाँडा स्थलको तीन सय रोपनी जग्गा यतिबेला युद्धमा ज्यान गुमाएका तथा बेपत्ता भएका गोर्खालीहरूको स्मृतिले ध्यानकेन्दि्रत गरेको छ । बेलायतको पक्षमा लड्दा ज्यान गुमाएका तथा बेपत्ता भएका गोर्खालीहरूको रंगत र पसिनाको मूल्याङ्कन गर्दै उनीहरूको सम्मानका लागि सुरु गरिएको काजकिरियामा किरियापुत्रीहरू एकाग्र देखिएका छन् । पोखराका ४३ वषर्ीय दीपक तामाङ दोस्रो विश्वयुद्धमा लड्दा बेपत्ता भएका आपmना बाजे फत्तवीर तामाङको आत्मशान्तिका लागि किरियामा सहभागी भएको भेटिए । 'दोस्रो विश्वयुद्धमा बाजे बेपत्ता हुनुभएको हो,' किरिया बसेका तामाङले भने, 'यसले उहाँको मात्र नभई सिंगो ६० हजार गोर्खाहरूको सम्मान गर्नु पनि हो ।' किरियामा बसेका कतिपय समुदायले युद्धमा ज्यान गुमाएका र बेपत्ता भएकाको नाम नै टाँसेर काजकिरियामा सामेल भएका
छन् । तीन दिनसम्म आपmनो जातीय संस्कार रीतिरिवाज अनुरूप किरियाक्रम गरी अन्तिम दिन चोखिने कार्यक्रम रहेको गेसोले जनाएको छ । कार्यक्रममा अतिथिको रूपमा डाकिएका चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले समेत युद्धमा ज्यान गुमाएका पुर्खाहरूको स्मृतिमा काजकिरियामा सामेल भएकाहरूलाई हौसला प्रदान गरेका थिए ।
'बेलायतको पक्षमा बहादुरीका साथ लडेर गोर्खाहरूले आफ्नो ज्यानका आहुती दिए तर उनीहरूले त्यसको कुनै मूल्य पाएनन्,' गेसोका अध्यक्ष पदमबहादुर गुरुङले भने, 'युद्धमा ज्यान गुमाएका ६० हजार गोर्खाहरूको सामूहिक किरिया गरेर विश्वको ध्यान केन्दि्रत गराउनेछौ ।' उनले गोर्खा भर्तीको नाममा प्रथम, दोस्रो विश्वयुद्ध लगायत विभिन्न युद्धमा गैरकानुनी तवरले होमाएर मारिएका गोर्खाहरूको जातीय संस्कार अनुसार किरिया गरिएको हो । उनका अनुसार यसरी अनाहकमा मारिएका ती गोर्खाहरूले जातिय संस्कार अनुसार काजकिरियासमेत हुन नपाएकोले गर्न लागिएकेा हो ।
नेपाल सरकार र बेलायत सरकारले उपेक्षा गरेको भन्दै गेसोले विभिन्न युद्धमा ज्यान गुमाएका गोर्खाहरूको सम्झनामा विश्वकै ध्यानकेन्दि्रत गर्न गेसोले यो पहल सुरु गरेको हो । काजकिरिया पूरा भएपछि विश्वकै ध्यान खिच्न निर्माण गर्न लागिएको गोर्खा स्मारकको शिलान्यास गरिने गेसोको अध्यक्ष गुरुङले जानकारी दिए । पाँच वर्षमा निर्माण पूरा हुने लक्ष्य राखिएको स्मारकमा, नेपाल र नेपालीलाई दुरवस्थामा पुर्याउने झल्को दिने गोरखा समाधि नेपालकै सबैभन्दा ठूलो ३ सयजना धान्न सक्ने क्षमता भएको गोरखा टावर, १५/२० किमि गतिमा चल्ने पाँचडिब्बाको रेल, जातीय सांस्कृतिक ग्राम, बि्रटेन र नेपालमा नलेखिएका गोर्खाहरूको गोर्खा सैनिकहरूको इतिहास झल्कने गोर्खा संग्रहालय, जातीय सांस्कृतिक ग्राम लगायत समावेश हुनेछन् ।