Kantipur-qatar

Kantipur

मिति | बिहीवार, २०७१ श्रावण ८     Login | Register | Issue No. 278
मिसमास»

छठ पुजाको समापन

काठमाडौ, मंसिर ७ -
व्रतालुले मंगलबार बिहान पूर्ण लालिमाको साथ झुल्केको उदाउँदो सूर्यको पूजा गरेपछि छठ पूजाको समापन भएको छ । अधिकांश भक्तजन बिहानीको सूर्यको पहिलो किरणको प्रतीक्षामा रातभरि जलाशय किनारमा अनिंदो बसेर भजन एवं लोकगीत गाउँदै बिताए । उनीहरूका लागि विभिन्न सामाजिक संघसंस्थाले बस्नलाई पण्डाल खडा गर्नुका साथै समय कटाउन सांस्कृतिक कार्यक्रमको पनि व्यवस्था गरेको थियो ।  

नजिकै घर भएका पनि झिसमिसे अँध्यारोमा पूजन सामग्रीका साथ नदी एवं पोखरी किनारमा पुगेका थिए । टाढा क्षितिजमा सूर्यले किरण छर्नेबित्तिकै औपचारिक पूजा समाप्त भएको थियो । त्यसपछि सूर्य पुराण र छठ परमेश्वरीको कथा वाचनपछि मुलुकभरिका जलाशय किनारमा ठेकुवा, भुसुवा, मिठाई र फलफूल लगायतका प्रसाद लिन दर्शनार्थी उर्लिएका थिए । व्रतालुले पनि गच्छे अनुसार प्रसाद बाँडेका देखिए । ती प्रसाद ग्रहण गर्दा व्रत बस्नेजत्तिकै धर्म हुने जनविश्वास छ । प्रसादमा सूर्यको किरणको प्रभाव हुने र ग्रहण गर्दा पीडा एवं रोग नाश हुने लोक आस्था छ ।

चाडपर्वको मौसम शरद ऋतुमा मनाइने यो छठका लागि अब एक वर्ष कुर्नुपर्ने हुन्छ । पाँच महिनापछि र होलीको लगत्तै चैत्र शुक्ल षष्ठीमा पनि चैती छठ मनाइए पनि जाडो मौसमको छठ जति लोकपि्रय हुन सकेको छैन । मुख्य रूपले काठमाडौं, जनकपुर, विराटनगर, इनरुवा, भद्रपुर, भैरहवा, वीरगन्ज र हेटौंडामा छठ पर्वको रमझम देखिए पनि फाटफुट रूपमा मुलुकभरि मनाएको पाइयो । 'राजधानीकै लगभग सबै नदी किनार र पोखरीमा छठ पूजा भएको पायौं,' राजधानीलाई कर्मथलो बनाएका रौतहटका अधिवक्ता सतीश झाले भने ।

जुनसुकै धर्म र समुदायले पूजा गर्न एवं सहभागी हुन पाउने हुनाले तराईको भौगोलिक सीमा चिरेर सर्वत्र छठ फैलिएको छ । यो सम्पूर्ण नेपालीमाझ संस्कृति र सभ्यताको महत्त्वपूर्ण दिनको रूपमा स्थापित हुन पुगेको छ । सबैलाई बरोबर प्रकाश दिने सूर्य र यसका मिठो प्रसादले बहुजातीय नेपाली समुदायमा मीठास उत्पन्न गरिरहेको छ । राजधानीको रानीपोखरी, थापाथली र गुहेश्वरी लगायत पूजास्थलहरूमा रातभरि पर्वको रमझम देखियो ।

बागमती एवं विष्णुमतीको दूषित जलमा उभेर पनि भक्तजनले छठ पूजा गरे । अन्य समुदायका भक्तजनले पनि प्रत्यक्ष पूजामा सहभागी भएर र साथ दिएर पूजा सफल बनाए । लगभग राजधानी र मुलुकको अन्य मुख्य सहरमा पर्यटकीय रूप लिएको यो पर्व हेर्नलाई ठूलो संख्यामा स्वदेश र विदेशी दर्शनार्थी आएका थिए । यो दुई दिन लगभग मुख्य प्रतिष्ठित पत्रिका पाना र टीभी च्यानलमा यो धार्मिक अनुष्ठानले विशेष स्थान ओगट्यो । उनीहरूमा दर्शकमाझ सुन्दर प्रस्तुति दिने प्रतिस्पर्धा चलेको देखियो ।  

दीप र झिलिमिली बत्तीले सिँगारिएको जलाशय किनारहरू सोमबार साँझ अस्ताइरहेको सूर्यलाई अघ्र्य दिने बेलामा एउटा छुट्टै लोकजस्तो देखिएको थियो । दिउँसैदेखि घाटमा बज्न थालेको छठको लोकगीतले सहर गुन्जिन थालेको थियो । आधी दशकदेखि छठ पर्वको केन्द्र बनेको रानीपोखरीमा ठूलो संख्यामा पहाडे, मुस्लिम र सिख समुदाय उपस्थित थिए । यकिन तथ्यांक नभए पनि उपत्यकामा ३ लाखभन्दा बढी नागरिक पूजामा सहभागी भएको आयोजकहरूले अनुमान गरेका छन् ।

भक्तजन एवं श्रद्धालुको भीडले मुख्य पूजाको बेला सोमबार साँझ र मंगलबार बिहान पूजनस्थल वरिपरि भएको ट्राफिक जामले यो पर्व मनाउन र हेर्न आएकाको भीडतर्फ स्पष्ट संकेत गरेको थियो । दूध र जलसहित अघ्र्य दिन पुगेका आगन्तुकको पनि घाटमा बाक्लै उपस्थिति थियो । राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका प्रमुख नेताको पूजा स्थलमा पुग्ने गरेकाले कडा सुरक्षा प्रबन्ध गरिएको थियो ।

धार्मिक, साँस्कृतिक र सामाजिक सद्भावको प्रतीक बनेको यो पर्वमा नेपालीको मन जित्नलाई नेताहरूले पूजा गरे र जलाशयमा प्रवेश गरेर अघ्र्यसमेत दिए । उनीहरूले छठ मैयाप्रति आस्था प्रकट गर्दै सदाझैं यसपटक संविधान बनाउने र मुलुक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । सूर्य पूजनको यो पर्वमा केही वर्षदेखि यी राजनीतिक पक्षले पनि प्रवेश गरेको छ । सहरका छठ घाटमा राष्ट्रपति डा.रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री बाबुराम भट्टराई, एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस अध्यक्ष सुशील कोइराला, उद्योगमन्त्री अनिल झा र  थुप्रै राजनीतिक हस्ती पुगेका देखिन्थे ।

यो क्रममा जलाशय किनारको खाली जग्गामा वृक्षारोपणसमेत गरिएको थियो । फोहोर नदीमा पर्व मनाउन नसकेका केही भक्तजनले ललितपुरको गुसिंगालमा पोखरी खनेर भएपनि छठ पूजा मनाएका थिए । कतिपयले घरकै आँगनमा समेत यस्तै सानो अस्थायी पोखरी बनाएर पूजा गरे । भगवान् विष्णु यतिखेर जलमा उपस्थित हुने विश्वास गरिन्छ । यो पर्वमा जलमा रहेको विष्णु र आकाशमा उपस्थित सूर्य एवं उनको देवी रूप षष्ठीलाई पूजा गरिन्छ ।

व्यस्त सहरी जीवनका कारणले घर र्फकन नसकेकाहरूले राजधानीमै छठ मनाउँछन् । सम्पूर्ण पुजन सामग्रीको सहज उपलब्धताले पनि यहाँ छठ मनाउन गाह्रो छैन । यसले गर्दा भक्तजनको बर्सेनि बढ्दो संख्यासँगै राजधानीका नदी र पोखरीमा भक्तजनको पंक्ति लम्बिन थालेको छ । मोफसलमा इनरुवा, राजविराज, लहान, महोत्तरी, पोखरा, धरान र भरतपुरको जलाशय किनारमा हर्षोल्लासका साथ छठ मनाइयो । धरान र पोखराजस्तो मूलतः पहाडे जनजाति समुदायको बहुल भएको स्थलमा मैथिल एवं भोजपुरी लोक संगीतमा रम्दै छठ पूजा सम्पन्न भएको छ । छठले पहाड र मधेसको दूरीलाई कम गर्दै राष्ट्रिय प्रेमलाई बढावा दिएको यो सुन्दर संकेत हो ।  

 

प्रकाशित मिति: २०७१ श्रावण ८ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

सर्वहारा जीवनशैली ?!... गुन्द्रुक-ढिँडो खानैपर्ने ?... अनि त्यो मासुभात खानुअघि खाने कि खा'पछि ?

विज्ञापन

Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication