पछिल्ला वर्षमा खस्कँदै गएको बलिउड किङ खान शाहरुखको 'मार्केट'लाई भर्खरै रिलिज 'जब तक है जान'ले केही उकास्ने अपेक्षा गरिए पनि रिलिजका केही दिनपछि त्यस्तो अपेक्षा गर्नेहरु निराश बन्न थालेका छन् । यद्यपि बक्स अफिसको कमाईलाई हेर्ने हो भने एकैदिन रिलिज भएर जबरजस्त टक्करमा रहेको अजय देवगनको 'सन अफ सरदार'लाई पहिलो भने यसले दिनदेखि पछि पार्दै आएको छ । विश्लेषकहरूले सुरुमा 'जब तक है जान'ले शाहरुखको दिन फर्काउने टिप्पणी गरेका
थिए । तर अपेक्षाकृत सफलता भने हात लागेन । यति नै बेला बलिउडका सबैभन्दा धनी हिरोको सूचीको पहिलो नम्बरमा शाहरुख रहेको घोषणा एक वेबसाइटले गरेको छ, जसले शाहरुख र उनको 'जब तक है जान'लाई केही प्लस प्वाइन्ट दिएको छ ।
सेलिब्रेटी वेबसाइट 'दी रिचेस्ट' ले ३० करोड अमेरिकी डलर सम्पत्तिका साथ बलिउडका धनी हिरोको सूचीमा शाहरुखलाई गत वर्ष पनि राखेको थियो । वेबसाइटले शाहरुखलाई २०१२ का धनी कलाकारको अग्रपंक्तिमा फेरि राखेको हो । उनको आफ्नै फिल्म निर्माण कम्पनी रेड चिल्लीको ब्यानरमा १ सय २५ करोड भारतीय रुपैयाँमा बनेको रा-वन फ्लप भए पनि कुनै फरक परेको छैन । यसपालि आईपीएलमा शाहरुखको टिम कलकत्ता नाइट राइडर्सले जितेपछि घाटा भरिएको छ । टिमको 'ब्रान्ड भ्याल्यु' ४ करोड २१ लाख डलर छ । उनी दर्जनौं कम्पनीका विज्ञापनबाट पनि ठूलो रकम कमाउँछन् । शाहरुख हाल २५ भन्दा बढी ब्रान्डमा आवद्ध छन् । उनको मुम्बईमा 'मन्नत' नामक ठूलो बंगला छ । उनको यो घर मुम्बईको प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने विकिपेडियामा उल्लेख छ । नयाँदिल्लीका साथै लन्डनमा २ करोड डलर मूल्यको अपार्टमेन्ट र दुबईमा ४ अर्ब रुपैयाँको पाल्म जुमेरिया नामको भिल्ला नै छ ।
जसलाई बढीले सुने
पपस्टार म्याडोनाले सबैभन्दा बढी गीत सुनिने गायिकाको रेकर्ड राखेकी छन् । विश्व संगीत इतिहासमा उनको एल्बमले सबैभन्दा बढी सुनिएको उपाधि हात पारेको हो । वेबसाइट 'कन्ट्रयाक्ट म्युजिक डट कम'का अनुसार सन् १९८४ मा पहिलो एल्बम 'होलिडे' निक्लिएपछि हालसम्म यसको १ करोड ७० लाख भन्दा बढी प्रति बिक्री भइसकेको
छ । अर्की पपस्टार रिहाना दोस्रो स्थानमा छिन्, जसको सन् २००५ मा निस्केको पहिलो एल्बम 'पन डे रिप्ले' हालसम्म १ करोड १४ लाख प्रति बिकिसकेको छ । तेस्रो स्थानमा भने २५ वर्ष गायन यात्रा पार गरिसकेकी अस्टेलियाली गायिका काइली मिनोग परेकी छन् । उनको एल्बम भने १ करोड २ लाख बिक्री भएको छ ।
नाङ्गी रिहाना
स्वरबाट आफूलाई चिनाउँदै आएकी हलिउडकी काली सुन्दरी गायिका रिहानाको चर्चा पछिल्ला दिनमा अर्कै विषयका कारण हुन थालेको छ । त्यो हो- उनको नग्नता र उत्तेजक म्युजिक भिडियो तथा फोटो सुट । दिनप्रतिदिन झन्झन् बढी नांगिँदै गएकी रिहाना यति बेला भने 'जीक्यू' म्यागाजिनका लागि गरिएको फोटो सेसनका कारण चर्चामा छिन् । 'म्यान अफ दी इयर' विशेषांकका रूपमा रहेको 'जीक्यू'को डिसेम्बर अंकमा उनले निकै उत्तेजक र नग्न तस्बिर खिचाएकी छन् । कभर पृष्ठमा रहेको तस्बिरमा उनले पूरै नाङ्गो शरीरमा छेटो कदको कालो रङको छालाको ज्याकेट हात नछिराईकन माथिबाट मात्र पहिरिएकी छन् । उक्त खुला ज्याकेटले स्तनका थोरै भाग मात्र छेकेको छ । शरीरको तल्लो भागसमेत पूरै नग्न भए पनि हातको नाडीले यौनांगलाई छेक्न खोजिएको छ । दुई स्तनको बीच भागभन्दा थोरै मात्र तल नग्न युवतीको टाटु पनि उनको शरीरमा देख्न सकिन्छ, जहाँ युवतीका पँखेटा पनि छन् । जसलाई सञ्चारमाध्यमहरूले नग्न र स्वच्छन्द हुने उनको आफ्नै भित्री चाहनाको प्रतीकका रूपमा समेत व्याख्या गरेका छन् । 'जीक्यू' म्यागेजिनका लागि न्युड फोटो सुट गर्ने पहिलो महिलाका रेकर्ड पनि रिहानाले बनाएकी छन् ।
कुमारी आमा
बलिउड सुन्दरीहरूमध्ये यो साता सुष्मिता सेन बढी चर्चामा छिन् । कारण- गएको सोमबार -१९ नोभेम्बर) उनको जन्म दिन परेकाले । ३७ वषर्ीया यी पूर्वमिस युनिभर्सको 'बर्थ-डे'का अवसरमा सञ्चारमाध्यमहरूले उनका जीवनका उतार-चढावबारे निकै खोतल-खातल गरे । फिल्महरू धेरै नखेले पनि 'बिन्दास पर्सनालिटी' का कारण फ्यानहरू बढी भएकी सुन्दरीका रूपमा पनि सुष्मिता बलिउडमा चिनिन्छिन् । १९७५ मा हैदराबादमा जन्मिएकी यी बाला १८ वर्षको उमेरमा सन् १९९४ मा 'मिस इन्डिया'को ताज पहिरिन सफल भएकी थिइन् । त्यही वर्ष उनले 'मिस युनिभर्स'को ताज जितेर, उक्त ताज जित्ने पहिली भारतीय सुन्दरीका रूपमा पनि आफूलाई सूचीकृत गरिन्, जसले सुष्मितालाई विश्वभर चर्चित पनि बनायो । त्यसको तीन वर्षपछि १९९७ मा महेश भट्टको 'दस्तक'बाट बलिउडमा छिरेकी उनले फिल्म सम्बन्धी अवार्डहरू पनि हात पारिन् । उनले दुई बालिकालाई ग्रहण गरी छोरीका रूपमा पालेर कुमारी आमा बनेकी छन् । 'नो प्रोब्लम्' र 'दुल्लाह मिल गया' उनका पछिल्ला फिल्म हुन् ।
प्रकाशित मिति: २०७० जेष्ठ ५ ०५:३०
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?