स्पेसटाइमका अध्यक्ष जमिम शाहको गोली हानी हत्या

सरोजराज अधिकारी/प्रतिमा बास्कोटा
फाइल तस्वीर ।

काठमाडौं, माघ २४ - स्पेसटाइम नेटवर्कका अध्यक्ष तथा उद्यमी जमिम शाहको राजधानीको व्यस्त सडकमा दिनदहाडै गोली हानी हत्या गरिएको छ । होटल याक एन्ड यतीको हेल्थ क्लबबाट पानीपोखरीस्थित घर फर्किंदै गरेका उनलाई लाजिम्पाटस्थित फ्रान्सेली दूतावास अगाडिको मुख्य सडकमा मोटरसाइकलमा आएका दुईमध्ये एकले अपराह्न २:२० बजे गोली प्रहार गरेका थिए ।

४७ वर्षीय शाहको कन्चटमा दुई र बायाँ पाखुराको कोखानजिक एक गोली लागेको प्रहरीले जनाएको छ । दायाँ तिघ्रामा गोली लागेका उनका चालक मथुरा मालाकारको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय मूलका लाग्ने दुई आक्रमणकारीले शाहलाई होटलबाटै पछ्याउँदै गएको र घटनास्थल पुगेपछि ओभरटेक गरी गोली प्रहार गरेको महानगरीय प्रहरी परिसरका डीएसपी प्रद्युम्न कार्कीले बताए । ना१च २१५१ नम्बरको पजेरोमा शाह चालकसँगैको सिटमा बसेका थिए । गाडीलाई स्थिर राखिरहने उद्देश्यले आक्रमणकारीले अगाडिको सिसामा पहिलो गोली प्रहार गरेका थिए । तर उक्त गोली कसैलाई नलागेको प्रहरीले जनाएको छ ।

चालक मालाकारले गाडी अगाडि बढाउन नपाउँदै मोटरसाइकलमा पछाडि बसेका आक्रमणकारी तुरुन्तै ओर्लेर बायाँपट्टिको झ्यालबाट चालक मालाकारको तिघ्रामा गोली हानेका थिए । आक्रमणकारीले लगत्तै शाहमाथि कन्चटमै पेस्तोल जोडेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ । त्यसपछि टाउको र पाखुरामा थप दुई गोली प्रहार गरिएको थियो ।

'गोली लागेको स्थानमा शाहको शरीरमै गन पाउडर भेटिएकाले टसाएरै गोली प्रहार भएको देखिन्छ,' डीएसपी कार्कीले भने, 'व्यस्त सडकमा दिउँसै गोली प्रहार भएबाट आक्रमणकारी प्रोफेसनल सार्प सुटर भएको अनुमान छ ।'

एकपटकमा आठ राउन्ड गोली प्रहार गर्न सकिने नाइन एमएमको पेस्तोलबाट गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । उपचारका लागि शाहलाई तुरुन्तै शिक्षण अस्पताल पुर्‍याइएको थियो । अस्पतालका अनुसार त्यहाँ ल्याइनुअगावै उनको निधन भइसकेको थियो ।

आक्रमणलगत्तै बा१५प ८७३३ नम्बरको नक्कली प्लेट टाँसेका रातो रङको यामाहा क्रक्स मोटरसाइकलमा सवार आक्रमणकारीहरू पानीपोखरी हँुदै महाराजगन्जतिर भागेको प्रहरीले जनाएको छ । आक्रमणकारी दुवैले कालो ज्याकेट र पाइन्ट लगाएको प्रत्यक्षदर्शीले बयान दिएको प्रहरीले बताएको छ । हत्याको कारण र हत्याराबारे केही खुल्न सकेको छैन ।

काठमाडौं परिसरका एसपी गणेश केसीले उपत्यका 'सिल' गरी थप जनशक्ति परिचालन गरेर अपराधीको खोजी तीव्र पारिएको बताए । 'घटनाको प्रकृति हेर्दा अन्तर्राष्ट्रिय आपराधिक गिरोहको संलग्नता देखिन्छ,' केसीले भने ।

नेपाली सञ्चार क्षेत्रमा सक्रिय शाहले नै नेपालमा केबुल टेलिभिजन सुरु गरेका थिए । पहिलो निजी नेपाली टेलिभिजन च्यानलका रूपमा उनले थाइल्यान्डबाट 'च्यानल नेपाल' को प्रसारण गरेका थिए ।

'स्पेसटाइम दैनिक' नेपाली र 'स्पेसटाइम टुडे' अंग्रेजी दैनिकसमेत उनले प्रकाशन गरेका थिए । हाल दुवै पत्रिका बन्द छन् । जमिमका भाइ मसुदका अनुसार घरमा नियमित हुने क्रियाकलापपछि नास्ता लिएर उनीहरू दुईजना एउटै गाडीमा ११ बजेतिर घरबाट निक्केका थिए ।

'दाइ सधैँझैं हेल्थ क्लबमा जानुभयो,' उनले भने, 'अचानक यस्तो दुःखद खबर सुन्नुपर्‍यो । दाइलाई कसैले धम्क्याएको थिएन । त्यसो हुन्थ्यो त मलाई वा परिवारका सदस्यलाई भन्नुहुन्थ्यो ।'

विवाद र चर्चा दुवैमा रहेका शाहको हत्याप्रति प्रहरी   निष्क्रियजस्तै देखिएको प्रहरीकै एक डीआईजीले कान्तिपुरलाई बताए । 'पछिल्लो समय सक्रिय नदेखिए पनि उनी चर्चित व्यक्ति थिए,' उनले भने, 'त्यस्तो व्यक्ति मारिँदा पनि प्रहरी आवश्यकताअनुरूप सक्रिय देखिएन । चौबीस घन्टा खटेर अपराधी पक्रनुपर्नेमा सरोकारवाला हाकिमहरू बिहे भोजमा व्यस्त छन् ।'

उपराष्ट्रपति परमानन्द झाको दिउँसो साढे तीन बजेका लागि तय गरिएको शपथग्रहणका लागि भीभीआईपी/भीआईपीको सवारी चलाउने व्यवस्था गरिएको मार्गमै घटना हुनुले राजधानीको समग्र सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठेको अर्का एक अधिकारीको भनाइ छ । 'गृहमन्त्री भीम रावलसहित तीनवटै सुरक्षा निकायका प्रमुख यसबेला मुलुकबाहिर छन्,' उनले भने ।

'घटना संवेदनशील छ, अन्तर्राष्ट्रिय संलग्नता हुनसक्नेतर्फ पनि गहन अनुसन्धान गर्नेछौं,' प्रहरीको प्रतिआतंकवाद महाशाखा प्रमुख डीआईजी सुशीलवरसिंह थापाले भने ।

दिवंगत शाहकी श्रीमती अञ्जली प्रधान र छोरा जेकी शाह दुवै अमेरिकामा छन् । क्यालिफोर्नियामा सिनेमा निर्माणसम्बन्धी अध्ययन गरिरहेका छोराको परीक्षा नजिकिएकाले श्रीमती अञ्जली दुई महिनाअघि त्यसतर्फ गएकी थिइन् ।

भाइ मसुद शाहका अनुसार दुवैजना अमेरिकाबाट फर्केपछि मात्रै अन्तिम संस्कार गरिनेछ । अस्पतालमा शाहका आफन्त र शुभचिन्तकको ठूलो भीड लागेको थियो । शाहको शवलाई पोस्टमार्टमपछि घरमा राखिएको छ ।

'२४ घन्टाभित्र सत्यतथ्य चाहियो'

स्पेसटाइम नेटवर्कका सञ्चालक तथा प्रबन्ध निर्देशक जमिम शाहको हत्याको टेलिभिजन ब्रोडकास्टर्स नेपाललगायत विभिन्न संघसंस्थाले घोर भत्र्सना गरेका छन् ।

'यस जघन्य हत्याबाट सम्पूर्ण टेलिभिजन तथा सञ्चार उद्यमी र व्यवसायी मर्माहत भएका छौं,' टेलिभिजन ब्रोडकास्टर्स नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ, 'निर्लज्ज र कायरतापूर्ण तरिकाबाट आक्रमण गरी हत्या गरिँदासमेत सुरक्षा निकाय र सरकारका तर्फबाट आधिकारिक धारणा नआएकोमा र सत्यतथ्य सार्वजनिक नभएकामा निन्दा गर्दछौं ।' ब्रोडकास्टर्सले घटनाको छानबिन गरी २४ घन्टाभित्र सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

यस्तै नेपाल मिडिया सोसाइटीले पनि शाहको हत्याले मर्माहत बनाएको उल्लेख गरेको छ । 'हत्याको घोर भत्र्सना गर्दै क्षोभ प्रकट गर्दछौं,' सोसाइटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'निजी सञ्चारक्षेत्रप्रति गरिएको यो आक्रमणको प्रतिकारस्वरूप सम्पूर्ण निजी सञ्चारजगत् आन्दोलनकै स्वरूपमा जनताको शान्ति सुरक्षाप्रतिको अधिकारको प्रत्याभूतिका लागि प्रतिबद्ध रहँदै सरकारसँग अविलम्ब अपराधीको पहिचान र सजायका लागि आग्रह गर्दछौं ।' सोसाइटीले शाहका चालक मथुरामान मालाकारको स्वास्थ्य लाभको कामना पनि गरेको छ । यस्तै नेपाल विज्ञापन संघ (आन) ले समाचार संस्थाका प्रमुखको हत्याले स्तब्ध बनाएको बताएको छ । 'लोकतान्त्रिक व्यवस्था विरोधीले निर्भीक पत्रकारिता गर्दै आएको समाचार संस्थाका प्रमुख व्यक्तिको आततायी हत्या गरी सम्पूर्ण सञ्चारजगत्लाई नै त्रसित पारेको छ,' विज्ञप्तिमा भनिएको छ । संघले दोषीलाई तुरुन्त पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसाग माग गरेको छ ।

नेपाल पत्रकार महासंघले पनि घटना छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको

छ । यस्तै नेपाल केबुल टेलिभिजन एसोसिएसन, हिमालयन ह्युमनराइटस मोनिटसले पनि घटनाप्रति दुःख व्यक्त गर्दै उनीहरूले घटनाको यथाशिघ्र छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । हिमराइटसले शाहको हत्याले राजधानीको सुरक्षा अवस्था कमजोर भएको पुष्टि गरेको भन्दै शान्ति सुरक्षाको वातावरण कायम गर्न माग गरेको छ । 

 

 

प्रकाशित मिति: २०६७ भाद्र २५ ०८:५२

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]