पर्दामा कोरियाली विगत र वर्तमान
जिन टेको सपना पूरा हुन कोरियाका लागि झैं आधा शताब्दी लाग्छ
काठमाडौ, मंसिर २५ - सफल चलचित्र आफैंमा यस्तो क्षेत्र हो जसले कुनै पनि समाजको इतिहास र वर्तमानलाई भविष्यसँग जोडिरहेको हुन्छ । काठमाडौंमा जारी कोरियाली फिल्म फेस्टिभलमा प्रदर्शित फिल्मले कोरियाको हिजो, आज र भोलिको अनुहारलाई देखाइरहेका छन् ।
करिब ६० वर्ष पहिलेको कोरियाको झल्कोलाई सन् २००४ मा निर्मित 'टेग्युक्गी' (ब्रदरहुड अफ वार) ले पर्दामा उतारेको छ । युद्धमा जबर्जस्ती होमिएका दुई भाइको कथाबाट कोरिया युद्धमा तुहिएका सपना अनि त्यो सपनालाई फेरि भेट्टाउन लागेको सिंगो आधा शताब्दीको समय चित्रण यो फिल्ममा छ ।
जिन सुक (वन बिन) को दाजु जिन टे (जाङ डोङ कुन) र उसको परिवारको एउटैमात्र साझा सपना छ । जिन सुकलाई विश्वविद्यालयमा पढाउनु छ । पैसा जम्मा गर्न जिन टे जुत्ता बनाउने पेसामा लागिपर्छ । तिनकी विधवा आमा बाटोमा सानो चाउमिन पसल चलाउँछिन् । आमालाई जिन टेकी मायालु युङ सिन (लि युन जु) ले सघाइरहेकी हुन्छे । तर गरिबीको चपेटामा गुजि्रएको यो परिवारको त्यो एकमात्र सपना पनि त्यस बेला तुहिन्छ, जब सन् १९५० मा उत्तर-दक्षिण कोरियाबीच भीषण युद्ध सुरु हुन्छ । युद्ध लड्न जिन सुकलाई जबर्जस्ती सैन्य दस्ताले लगेपछि भाइलाई युद्धबाट बचाएर घर पठाउन जिन टे पनि सेनामा भर्ती हुन्छ ।
जिन टेसँग न सम्पत्ति हुन्छ न कुनै भनसुन गरिदिन सक्ने व्यक्तिसम्मको पहुँच । त्यही भएर उसले भाइलाई घर फर्काउन सक्दैन । तर युद्धमा उसले 'मेडल अफ अनर' जितेपछि उसको कमान्डरले जिन सुकलाई घर फर्काइदिने वाचा गर्छ । अनि जिन टे खतरनाक मिसनहरूमा सामेल हुन्छ । ऊ कति ठाउँमा क्रुर पनि बन्छ । यसबाट जिन सुकलाई लाग्छ, जिन टेले यी सबै काम मेडलका लागि गरेको हो । उसको यो 'भ्रम' युद्धको अन्त्यतिरमात्रै तोडिन्छ जब आफ्ना लागि दाजुले गरेको त्याग थाहा पाउँछ ।
तर जिन टेको सपना पूरा हुन कोरियाका लागि झैं आधा शताब्दी लाग्छ । यति धेरै वर्षपछि पनि युद्ध हुनुभन्दा पहिले जिन सुकलाई दाइले दिएको कलम सन् २००३ तिर अस्थिपञ्जर खोतल्दा भेटिन्छ, काम नलाग्ने अवस्थामा । त्यो कलम झै दक्षिण र उत्तर कोरियाको युद्धले छाडेको घाउ अझै त्यतिकै बिध्वंसक र आलै छ जुन निको हुन निकै समय लाग्नेछ ।
'टेग्युक्गी' ले आधुनिक दक्षिण कोरियाको इतिहाससँग नेपाली दर्शकलाई परिचित गराउँछ । त्यसका साथै अहिलेको विकसित उक्त देशले आधा शताब्दी पहिले भोग्नुपरेको युद्धको मार र त्यसले अहिलेसम्म समाजमा पारेको असरलाई फिल्मले उतारेको छ । सोमबार सुरु फेस्टिभलमा 'अल फर लभ,' 'फरेभर द मोमेन्ट' र 'स्पि्रङ, समर, फल, विन्टर... एन्ड स्पि्रङ' पनि देखाइए ।
'फरेभर... ' ले महिला ह्यान्डबल खेलबाट अहिलेको कोरियामा खेलप्रतिको चासो देखाएको छ । समर ओलम्पिक २००४ मा कोरियाली महिला टिमले पाएको सफलतालाई काल्पनिक रूप दिएर बनाइएको यो फिल्ममा यसका लागि यो टिमले गर्नुपरेको संघर्ष कथालाई उतारिएको छ । 'स्पि्रङ, समर...' मा भने वसन्त, गृष्म, शरद र शिशिर गरी चार ऋतुमा मानव जीवनको चक्र प्रस्तुत छ । जंगलको तालबीच रहेको गुम्बामा बस्ने एक भिक्षुको जीवनबाट यी चार ऋतुजस्तै जीवनका विभिन्न पाटा देखाइएको छ । यसमा कोरियाका प्राकृतिक सुन्दरता, संस्कृति र परम्परा कलात्मक ढंगमा उत्रेका छन् ।
रोमान्टिक कमेडी 'अल फर लभ' भर्खर प्रेममा परेका केही आधुनिक जोडीको प्रेम प्रसंग र तिनको जीवनकै सबैभन्दा रमाइला तथा खुसीका क्षण समेटेको फिल्म हो । यी जोडीको एक साताका भिन्न-भिन्न कथावस्तुलाई एउटै डोरीमा राम्ररी बाँध्न सकेका निर्देशक मिन क्यु डोङको फिल्ममा निकै प्रशंसा भएको छ ।
एक्सन, ड्रामा र कमेडी, रोमान्स विधाका यी चार फिल्मले एकसाथ कोरियाको इतिहास, वर्तमान र भविष्यको प्रतिबिम्ब कोरेका छन् । दक्षिण कोरियाको हिजो, आज र भोलिलाई स्पष्टसँग जोड्ने यी फिल्मको छनोट उत्कृष्ट छ ।
यस्तो फेस्टिभल कोरियाली दूतावासले तीन वर्षयता गर्दै आएको छ । यस पालिको चाहिँ रूसी सांस्कृतिक केन्द्रमा शुक्रबारसम्म चल्नेछ । यिनै चार फिल्म दोहोर्याइनेछन् ।
प्रकाशित मिति: २०६७ भाद्र १८ ०९:४८












तपाईंको प्रतिकृया