'राष्ट्रिय भाषा नीति आवश्यक'



शिक्षा मन्त्रालय र नेपाल प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा मंगलबार राजधानीमा सम्पन्न 'नेपालको भाषा नीति विकास सम्बन्धी राष्ट्रिय कार्यशाला'मा उक्त विचार व्यक्त गर्दै अधिकारकर्मी मल्ल के सुन्दर (दायाँ)लगायत । गणेश राई/ईकान्तिपुर
शिक्षा मन्त्रालय र नेपाल प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा मंगलबार राजधानीमा सम्पन्न 'नेपालको भाषा नीति विकास सम्बन्धी राष्ट्रिय कार्यशाला'मा उक्त विचार व्यक्त गर्दै अधिकारकर्मी मल्ल के सुन्दर (दायाँ)लगायत । गणेश राई/ईकान्तिपुर

काठमाडौ, असार २५ - भाषाविद् तथा अधिकारकर्मीले मुलुकको बहुभाषिक विविधतालाई संरक्षण गर्न राज्यले 'राष्ट्रिय भाषानीति' निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोडदिएका छन् । संविधानले मुलुकमा बोलिने सबै भाषालाई 'राष्ट्रभाषा'को संज्ञा दिएपनि व्यवहारमा लागू गर्न नीति बन्न नसकेको समेत बताए । शिक्षा मन्त्रालय र नेपाल प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा मंगलबार 'नेपालको भाषा नीति विकास सम्बन्धी राष्ट्रिय कार्यशाला'मा उक्त विचार व्यक्त गरेका हुन् ।

प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँला मुलुक भाषाको सवालमा पनि संक्रमणकालमा रहेको र एक युगदेखि अर्को युगमा प्रवेशको चरणमा रहेको बताए । 'अहिले हामीले राजनीतिक परिवर्तन र आर्थिक विकासलाई मात्र सबै कुरा देख्यौं,' मानवीय हक र सामाजिक हकको हेक्का राख्न नसकेको उल्लेख गर्दै उनले भने, 'नेपालको सन्दर्भमासामाजिक र सांस्कृति परिवर्तन हुनुपर्छ । भाषाको अवसर र स्पेशलाई पनि ध्यान दिनुपर्छ । यो देश मात्र होइन, राज्य पनि हो भन्ने भावनाको विकास हुनुपर्छ ।'

काइँलाले जैविक विविधताजस्तै राजनीतिक र सामाजिक सन्तुलनर स्थिरताका लागि भाषिक विकास हुनुपर्नेमा काइँलाले जोडदिए । उनले भने, 'भाषाको विकास र संवर्द्धनका लागि भाषा एक अंग हो । भाषिक, सांस्कृतिक विविधतालाई बचाउनुपर्छ ।'

तात्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले काइँलाको संयोजकत्वमा 'राष्ट्रिय भाषा नीति तथा सुझाव आयोग-२०५०' गठन गरेको थियो । उक्त आयोगले पेश गरेको सुझावहरु सरकारले आंशिक रुपमा मात्र कार्यान्वयन गरेको छ । त्यही सुझावका आधारमा सरकारले मुलुकको भाषा सर्वेक्षण गर्न त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभागलाई जिम्मेवारी दिएको छ । तर, राजनीतिक अस्थिरतासँगै सरकार फेरबदल भएपछि समस्या आएको त्रिवि भाषाविज्ञान केन्द्रीय विभाग प्रमुख प्रा.डा. दानराज रेग्मीले बताए । 'नेपालका भाषाहरुको सर्वेक्षण स्थिति र चुनौती' विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले उक्त समस्या सुनाएका हुन् ।

'भाषानीतिको अभावमा संरक्षण पहलमा बाधा पुगेको छ,' रेग्मीले भने, 'भाषानीति नभएकैले सरकार फेरिएपिच्छे भाषा सर्वेक्षणका फाइलहरु बुझाउनु पर्ने, ध्यानाकर्षण गर्नुपर्ने र त्यो काम नहुँदै अर्को सरकार आउने गरेकाले समस्या भइरहेको छ । नीति भएको भए, यो काम क्रमवद्ध ढंगले सुचारु हुनसक्थ्यो ।'  पछिल्लो तथ्यांकअनुसार मुलुकमा १ सय २३ भाषा छन् । यद्यपि देशमा कति भाषा छन् भन्नेबारे भाषावैज्ञानिक सर्वेक्षण पूरा भएको छैन ।

अधिकारकर्मी मल्ल के सुन्दरले भाषा कुनै चमत्कारबाट निर्माण नभई सयौं वर्षदेखि प्रयोग हुने सम्पदा भएकाले मुलुकको भाषा सर्वेक्षण कार्य पूर्वाग्रह रहित ढंगले हुनुपर्ने बताए । 'भाषा कुनै चमत्कारले जन्मेको होइन,' उनले भने, 'हरेक भाषा पहिचान, सम्पदा र मानवअधिकारसित जोडिएको छ । त्यसैले बहुभाषिक विविधतालाई राष्ट्रिय विशेषताका रुपमा स्विकारेले सर्वेक्षण हुन जरुरी छ ।'

मल्लले भाषा सर्वेक्षण तथा भाषानीति निर्माणसँगसँगै मातृभाषाहरुमा शिक्षा, सञ्चार, प्रशासन, न्याय सम्पादनमा प्रयोग हुने स्थितिबारे स्पष्ट पार्नु पर्ने बताए । 'अब फेरि हुने संविधानसभाको चुनाव र त्यसपछि बन्ने नयाँ संघीय संविधानले यसतर्फ ख्याल राख्न जरुरी छ,' उनले भने ।

भाषाशास्त्रीहरु योगेन्द्र यादव, चूडामणि बन्धु, माधवप्रसाद पोखरेल, हेमाङ्गराज अधिकारी, अमृत योन्जन तामाङ, लालश्याँकारेलु रापचा, विष्णु राई, सुसन आचार्य, भीमनारायण रेग्मीलगायतले भाषानीतिमा जोडदिएका थिए । त्यसैगरी कार्यशालाको उद्घाटन गर्दै संस्कृतिमन्त्री रामकुमार श्रेष्ठले भाषा, संस्कृति र सम्पदाको विकासका निम्ति राज्यको संरुचनामा परिवर्तनको आवश्यक रहेको बताए । सबै भाषाले समान हैसियतमा विकास र संवर्द्धन गर्न जरुरी रहेको उल्लेख गर्दै उनले भने, 'त्यसका निम्ति आगामी संविधान सभाले त्यसलाई सम्बोधन गर्नसक्नुपर्छ ।'

त्यसैगरी शिक्षा सचिव नारायणगोपाल मलेगो, शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थी, प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती, शिक्षाविद्हरु विद्यानाथ कोइराला, केदारभक्त माथेमालगायतले भाषा र मातृभाषा विकासबारे विचार राखेका थिए ।

प्रकाशित मिति: २०७० असार २५ ०९:०३

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा
[ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]