ब्रिटिश म्यूजियममा वुद्ध भारतमा जन्मिएको भ्रामक सन्देश

(14 Votes)
नविन पोखरेल

३९

British Musiam

लन्डन, कार्तिक १६ - वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश संग्रहालयमा शान्तिका अग्रदूत गौतम वुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश छ ।

‘द डिपार्टमेन्ट अफ एसिया’ कक्ष अन्तर्गत ‘द लाइफ अफ द वुद्ध’ शीर्षकमा टांगिएको दस्तावेजमा वुद्धिज्मलाई भारतको धर्म अन्तर्गत राख्दै ‘वुद्धको जीवनी शुरुवात गर्दा उहाँ छैंटौं शताव्दीको मध्यतिर उत्तर पूर्वी भारतमा एक शाही परिवारमा जन्मिनुभएको हो’ उल्लेख छ । वुद्धको जन्म महारानी मायाबाट लुम्विनीको मृगस्थलमा अद्भूत तरिकाबाट भएको त्यहाँ उल्लेख छ ।

‘उहाँ दरवार रहँदा विवाहित हुनुहुन्थ्यो र उहाँबाट एक छोरा भएको थियो । उहाँले आफ्नै आँखाबाट विरामी, भोका र मृत्यु देखेपछि मानव जीवनमा यी घट्नाहरु किन घटिरहेको छ भन्ने जिज्ञासा लिएर भौतिक जीवन त्यागी वोधगयाको वृक्षमुनी बसि ध्यान गर्नुभएको थियो’– संग्रहालयको अभिलेखमा छ ।

त्यहाँ वुद्धले ध्यानबाट वोधीसत्व प्राप्त गरेपछि मानव जीवनमा आइलाग्ने समस्या र चाहनाबीचको अन्तरसम्वन्धबारे सारनाथमा बसि सन्देश दिलाएको उल्लेख छ । वुद्धको मृत्यु ४८० बीसीमा भएको र उनको समाधिपछि वुद्धका उपदेश शिष्यहरुमा बाँडियो भनिएको छ ।

म्यूजियमको ‘द डिपार्टमेन्ट अफ एसिया’ मा मात्र एसिया महादेशका ७० हजार र संग्रहालयभर विश्वका ७० लाख ऐतिहासिक कलात्मक सामाग्री संग्रहित छन् । एसोसिएसन अफ लिडिङ भिजिटर एट्रयाक्सनका अनुसार, सन् २०१० मा ५८ लाख ४२ हजार १ सय ३८ जनाले ब्रिटिश म्युजियम अवलोकन गरेका थिए जुन बेलायतमै सबैभन्दा बढि आगन्तुक तान्ने गन्तव्य थियो ।

ग्रेट रसेल स्ट्रिटमा अवस्थित विश्वकै पहिलो सो राष्ट्रिय सार्वजनिक संग्रहालयका कर्मचारीले भने गलत तथ्यबारे अनभिज्ञता प्रकट गरे । ‘हामी त यहाँ उल्लेख गरिएको जानकारीमात्र पर्यटकलाई वर्णन गरिदिने हो, अन्य कुरा थाहा भएन’–एक कर्मचारीले भने ।

ब्रिटिश म्यूजियमका निर्देशक निल म्याकग्रेगोरले विश्व इतिहास सम्वन्धि जानकारी दिन बीबीसी रेडियो फोरमा प्रस्तुत गरेको एकसय श्रृंखलाको ‘अ हिस्ट्रि अफ द वर्ल्र्ड इन हन्ड्रेड अव्जेक्ट्स’ मा समेत वुद्धबारे त्यही भ्रम प्रसारण भएको थियो ।

इ.स. १७५३ मा स्थापित पुरानो संग्रहालयबाट विश्वभर गलत सन्देश प्रवाह भइरहनु दुःखद ठान्छन् बेलायतका नेपाली । वुद्धिष्ट कम्युनिटी सेन्टर यूकेका उपाध्यक्ष नारायणप्रसाद गुरुङले सो तथ्यबारे आफूले थाहा नपाएको जनाउंदै आगामी १२ तारिख नोभेम्वरमा हुने संस्थाको ट्रष्टी बैठकमा यस प्रसंग उठाएर सम्बन्धित निकायमा पुर्याउन पहल गर्ने जनाए ।

कानुनवेत्ता सोलिसिटर राजु थापाले संग्रहालयमा रहेको सो तथ्य ‘हास्याष्पद’ बताउंदै संग्रहालयलाई गल्ती सच्याउन पत्राचार गर्ने जनाए । ‘नेपाल र नेपालीको पहिचान मेटिने काम कहीं कतै हुन्छ भने कानुनी प्रक्रियाबाटै त्यसविरुद्ध जान म तयार छु’–थापाले चेतावनीको भाषामा भने ।

छिमेकी भारतले सन् २०१२ भित्र नेपालको कपिलवस्तुसंग सीमा जोडिएको उत्तरप्रदेशस्थित अलिगढवामा देवदह र लुम्विनीसहित नक्कली कपिलवस्तु बनाउन अन्तिम रुप दिइरहेको जनाउंदै त्यस विरुद्ध आवाज उठाउन गठित कपिलवस्तु दिवस अभियानका विश्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले म्यूजियमको गल्ती सच्याउन नेपाल सरकारकै पहल आवश्यक हुने बताए । सर्च इन्जिन गुगलले पनि यसअघि ‘गौतम वुद्ध भारतमा जन्मिएको’ भन्ने तथ्य सच्याइसकेको स्मरण गर्दै श्रेष्ठले थपे–‘नेपाल सरकारले कुटनीतिक तवरमा यसको समाधान खोज्नुपर्छ ।’

विभिन्न भ्रम फैलाइए पनि संयुक्त राष्ट्रसंघ एजुकेशनल, सेन्टिफिक एण्ड कल्चरल अर्गनाइजेशन (युनेस्को) ले समेत सन् १९९७ मा भगवान गौतम वुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व सम्पदा सुचीमा सुचीकृत गरिसकेको छ ।

 

प्रकाशित मिति: २०६८ कार्तिक १६ ०९:३८

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।