Saarc 2014

पूर्वलडाकुलाई राष्ट्रसंघको सहयोग



काठमाडौ, माघ २९ - शिविरहरूबाट बहिर्गमन भइसकेका माओवादी पूर्वलडाकुहरूको सानो समूहका कारण हालसालै भएका व्यवधानलाई दृष्टिगत गर्दा सन् २०१० को थालनीतिर उक्त पहिलो समूहलाई बहिर्गमन गर्न माओवादी नेतृत्व सहमत भएपछि केके भएका थिए भन्ने कुरा स्पष्ट पार्नु उपयोगी हुन सक्छ ।

२०६३ मंसिरमा हतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि सरकार, सातदलीय गठबन्धन र माओवादी पार्टीबीच माओवादी सेनाका लडाकुका रूपमा शिविरमा को बस्न सक्ने र को नसक्ने भन्ने निर्धारणका आधारबारे सहमति भएको थियो । २०६३ जेठ १२ गते युद्धविराम सम्झौतामा हस्ताक्षर हुँदा १८ वर्षभन्दा कम उमेर भएका र त्यही कारणले गर्दा अन्तर्राष्ट्रिय कानुनविपरीत माओवादी सेनामा भर्ती गरिएको पाइएका वा युद्धविराम सम्झौतामा हस्ताक्षर भएपछि माओवादी सेनामा भर्ती भएको पाइएका व्यक्तिहरूलाई कुनै पनि भावी समायोजन वा पुनस्र्थापना कार्यक्रमका लागि अयोग्य मानिएको थियो । त्यसैले ती व्यक्तिलाई 'प्रमाणित नाबालिग तथा पछि भर्ती भएकाहरू' (भीएमएलआर) भनिएको हो ।

त्यसबेला कुन व्यक्ति कुन वर्गमा पर्छ भन्ने प्रमाणित गर्ने जिम्मेवारी नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन -अनमिन) लाई दिइएको थियो । त्यो एउटा जटिल कार्य थियो किनभने अन्ततः नाबालिग तथा पछि भर्ती भएको प्रमाणित भएकामध्ये थोरैले मात्र यो जानकारी सहजतासाथ उपलब्ध गराएका थिए । अनमिनको अध्यक्षतामा नेपाली सेना तथा माओवादी सेनाको सहभागितामा गठित संयुक्त अनुगमन तथा समन्वय समितिले प्रमाणीकरण सूचीलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

केही वर्षको असफल प्रयासपछि अन्ततः सन् २००९ डिसेम्बर मध्यतिर बहिर्गमन योजनामा हस्ताक्षर भयो । सरकारको अनुरोधमा राष्ट्रसंघले सन् २०१० को प्रारम्भतिर माओवादी सैन्य शिविरबाट ४,००८ जना 'प्रमाणित नाबालिग तथा पछि भर्तीर् भएकाहरू' को बहिर्गमन प्रक्रियाको समन्वय गरेको थियो र दुई सातामै शिविरहरूमा राष्ट्रसंघीय कर्मचारीहरूको टोली खटाई २०६६ पुस २३ गते पहिलो बहिर्गमन समारोह गरिएको थियो । सूचीमा रहेका ४,००८ जनामध्ये २,४०० जना मात्र शिविरहरूमा भौतिक रूपमा उपस्थित थिए र उनीहरूसँग राष्ट्रसंघद्वारा प्रत्यक्ष रूपमा अन्तरवार्ता गरिएको थियो । झन्डै १,६१४ जना उपस्थित थिएनन् र उनीहरू हप्तौं, महिनौं वा वर्षौंअघि नै शिविरबाट बाहिरिएका हुन सक्थे । यो 'अनुपस्थित' दोस्रो समूहलाई माओवादी पार्टीले २०६६ चैत १० गते एक हस्ताक्षर समारोहमार्फत् प्राविधिक रूपमा बहिर्गमन गरेको थियो ।

यी 'प्रमाणित नाबालिग तथा पछि भर्ती भएकाहरू' को सैन्य जीवनबाट नागरिक जीवनतर्फको रूपान्तरणका लागि सहयोग उपलब्ध गराउन पनि सरकारले संयुक्त राष्ट्रसंघीय 'कन्ट्री टिम' लाई अनुरोध गर्‍यो । तत्कालीन सरकारले 'प्रमाणित नाबालिग तथा पछि भर्ती भएकाहरू' को यो समूहका लागि प्रदान गरिने प्याकेजको मूल्य त्यतिबेला द्वन्द्वपीडितहरूका परिवारका लागि उपलब्ध गराइएको सहयोगको सीमाकै समतुल्य करिब रु. एक लाखभन्दा बढी हुन नहुने अडान लिएको थियो । राष्ट्रसंघको पैरवीपछि सरकार थप सुविधा, विशेष गरी प्रशिक्षणमा रहेकाहरूलाई दैनिक तीनपटकको खाना थप्न तुरुन्तै सहमत भएको

थियो । विश्वका अन्य भागमा सञ्चालित यस्तै कार्यक्रमको अनुभवका आधारमा एउटा सफल रूपान्तरणलाई सहजीकरण गर्न यो प्याकेज न्यूनतम आवश्यकता हो भन्ने अनुभूति राष्ट्रसंघले गरेको थियो ।

यसरी 'प्रमाणित नाबालिग तथा पछि भर्तीर् भएकाहरू' लाई यी रूपान्तरण सेवाहरू उपलब्ध गराउन सन् २०१० को थालनीतिर राष्ट्रसंघीय अन्तरनियोग पुनस्र्थापना कार्यक्रम -युएनआइआरपी) को स्थापना गरिएको थियो । राष्ट्रसंघीय विकास कार्यक्रम -युएनडिपी), बालकोष

-युनिसेफ), जनसंख्या कोष -युएनएफपिए) र अन्तर्राष्ट्रिय श्रमसंगठन (आइएलओ) को विशेषज्ञतालाई यस जटिल कार्यक्रमको व्यवस्थापन गर्न एकीकृत गरियो । समानान्तर रूपमा बहिर्गमन योजनाको पालना अनुगमनका लागि युनिसेफ र मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय -ओएचसीएचआर) का टोलीलाई खटाइएको थियो । राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा तयार गरिएको बालसैनिक भर्ती गर्ने र प्रयोग गर्ने समूहहरूको सूचीबाट हट्नका लागि माओवादी पार्टीले उक्त बहिर्गमन योजना पालना गर्नुपर्ने थियो, अहिलेसम्म उक्त पार्टीलाई उक्त सूचीबाट हटाइएको छैन ।

राष्ट्रसंघले पाँचवटा क्षेत्रीय कार्यालय स्थापना गरेर त्यहाँबाट बहिर्गमित 'प्रमाणित नाबालिग तथा पछि भर्ती भएकाहरू' लाई चार किसिमका पुनस्र्थापना कार्यक्रममध्ये एउटा छान्ने विकल्प दिइएको थियो । ती चार कार्यक्रममा (क) ३५ किसिमका व्यावसायिक सीप प्रशिक्षणमध्ये एउटा, (ख) लघुउद्यम प्रशिक्षण र बीउपुँजी, (ग) शिक्षा (अर्थात्, विद्यालय र्फकने), वा (घ) स्वास्थ्य पेसासम्बन्धी प्रशिक्षण रहेका थिए । यी सेवा देशभरि नै विभिन्न संस्थाको सञ्जालमार्फत उपलब्ध गराइएका छन् र प्रशिक्षण अवधिभरि प्रशिक्षार्थीहरूले मासिक नगद भत्ता पनि पाएका छन् ।

सरकारद्वारा निर्धारित आर्थिक सीमाभन्दा पर पुनस्र्थापना सेवामा सबैका लागि परामर्श सेवा, आवश्यक व्यक्तिहरूका लागि स्वास्थ्य तथा मनोसामाजिक सहयोगका साथै वृत्ति विकाससम्बन्धी अनुगमन परामर्श, रोजगारी खोजीका लागि सहयोग तथा जीविकोपार्जनका लागि सीपसम्बन्धी प्रशिक्षण पनि समावेश गरिएको छ । सहभागीमध्ये ३५ प्रतिशत संख्यामा रहेका महिलाका आवश्यकताप्रति विशेष ध्यान दिइएको छ र त्यसमा गर्भवती र सुत्केरी महिलाका लागि थप पोषण सहयोग र मासिक बालस्याहार सहयोग पाउँदै आएका छन् । बालस्याहारकर्ताका लागि सहयोग र सुत्केरी भत्ता पनि उपलब्ध गराइएको छ । कार्यक्रमले प्रशिक्षण गरिसकेका सहभागीका लागि रोजगारी खोज्न र लघुकर्जा उपलब्ध गराउन निजी क्षेत्रसँग पनि निकटताका साथ काम गर्दै आएको छ । 'प्रमाणित नाबालिग तथा पछि भर्ती भएकाहरू' लाई उपलब्ध गराइएका यी सबै थप प्रत्यक्ष सुविधा तथा सेवाका कारण प्रशिक्षण प्याकेजको मूल्य उनीहरूलाई प्रदान गरिएको प्रत्यक्ष सहयोग बराबरै हुन गएको छ । हाम्रो विचारमा यो रकम सही कार्यका लागि खर्च गरिएको छ- यस्तो जटिल व्यक्तिगत तथा व्यावसायिक संक्रमणका क्रममा कसैलाई सहयोग गर्दा प्रशिक्षण कार्यक्रम र ढाडमा धापभन्दा बढी नै आवश्यक हुन्छ ।

करिब १८ महिनाको कार्यान्वयनपछि कार्यक्रमको नतिजा आफैं देखिन थालेका छन् । बहिर्गमन समारोहहरूमा उपस्थिति भएकामध्ये ८० प्रतिशतले कुनै न कुनै पुनस्र्थापना कार्यक्रमको विकल्प रोजेका छन् । बहिर्गमन समारोहमा उपस्थित नभएका १,६१४ व्यक्तिमध्ये केहीसँग सम्पर्क गर्न पनि हामी सफल भएका छौं र तीमध्ये ४५० जना यस कार्यक्रममा सहभागी भएका छन् ।

आजसम्ममा प्रशिक्षण गरिसकेका करिब एक हजार जनामध्ये ६० प्रतिशतले काम पाएका वा आफ्नै व्यवसाय चलाएर बसेका छन् । करिब एक हजार जनाको अर्को समूह अझै पनि प्रशिक्षण वा शिक्षा आर्जन गरिरहेको छ ।

सन् २०११ जुलाइदेखि कार्यक्रममा नयाँ भर्ना लिन बन्द गरिएको थियो ।

नेपालको समग्र आर्थिक वातावरणका सन्दर्भमा ६० प्रतिशत रोजगारी दर हासिल गर्नु राम्रो उपलब्धि हो र बाँकी अन्यका लागि पनि रोजगारीको अवसर जुटाउन हामी प्रयासरत छौं । प्रशिक्षण गरिसकेका हाम्रा सहभागीहरू रेस्टुराँ सञ्चालन, मोबाइल फोन मर्मत, सिलाइ केन्द्र, ब्युटीपार्लर, फोटो स्टुडियो सञ्चालनजस्ता विविध काममा संलग्न छन् भने केही दूरसञ्चार प्राविधिक, होटल कुक, वेल्डर, मोटरसाइकल मेकानिकका रूपमा पनि काम गरिरहेका छन् । नागरिक जीवनतर्फको उनीहरूको रूपान्तरण सामान्यतया सहज रूपमा अगाडि बढ्दै छ ।

यद्यपि पहिलो दिनदेखि नै यस कार्यक्रमका लागि अपेक्षा-व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौतीका रूपमा रह्यो । सुरुदेखि नै हामीलाई के थाहा थियो भने कतिपयले यस कार्यक्रमलाई 'सम्झौता' का रूपमा हेर्नेछन् । बहिर्गमन समारोह आयोजना हुनुभन्दा केही साताअघि मात्र केहीलाई उनीहरूका कमान्डरहरूले उनीहरू अनमिनको नेतृत्वमा भएको प्रमाणीकरण प्रक्रियामा 'प्रमाणित नाबालिग तथा पछि भर्ती भएकाहरू' का रूपमा सूचीकृत भएको जानकारी दिएका थिए । केहीले आफ्ना असन्तुष्टि सिधै राष्ट्रसंघप्रति पोखे, त्यसमा थोरै हिंसात्मक पनि हुन पुगे । त्यसो भए पनि अधिकांश भने निकै उत्प्रेरित र सक्षम युवा थिए । कार्यक्रममा सहभागी भएका अधिकांशले प्राप्त यस मौकालाई अवसरमा परिणत गरे । मैले तीमध्ये कयौंलाई व्यक्तिगत रूपमा भेटेको छु र उनीहरू राष्ट्रभरि नै युवाका लागि ठूलो उदाहरणका रूपमा स्थापित हुँदै छन् ।

बाँकी १९ हजारसम्बन्धी अन्तिम वार्ता मूलतः भारी मात्रामा नगदमा केन्दि्रत भयो भने अपेक्षा-व्यवस्थापन पुनः समस्याका रूपमा देखापर्ने पूर्वानुमान पनि हामीले गरेका थियौं । 'प्रमाणित नाबालिग तथा पछि भर्ती भएकाहरू' लाई शान्ति सम्झौताहरूमा अपेक्षा गरिएअनुरूप केही वर्षपूर्व नै बहिर्गमन गरिएको भए यो समस्यालाई टार्न सकिन्थ्यो र स्थिति सामान्य भइसकेको हुने थियो । तर सम्झनाहरू अझै ताजै छन् र शिविरभित्र रहेका र बाहिर रहेकाबीचको सम्बन्ध यथावतै छन् र शिविरभित्र रहेका १९ हजारका लागि सहमति गरिएका प्याकेजहरू 'प्रमाणित नाबालिग तथा पछि भर्ती भएकाहरू' का लागि प्रदान गरिएका प्याकेजभन्दा भिन्नै प्रकारका छन् । यो वार्ताका सर्तहरू सुरुदेखि नै भिन्न हुने थियो तर 'प्रमाणित नाबालिग तथा पछि भर्ती भएकाहरू' ले यो तर्कलाई स्पष्ट कारणहरूका कारण सजिलै स्वीकार गरेका छैनन् ।

एक हजारभन्दा बढी व्यक्ति अझै प्रशिक्षणका क्रममा रहेका र प्रशिक्षण गरिसकेकाहरूका लागि रोजगारी खोजी गर्ने प्रयास जारी रहेको सन्दर्भमा युनआइआरपी कार्यक्रम अझै जारी छ । शिविरहरूलाई सधैंका लागि बन्द गर्ने प्रक्रियालाई लिएर हुन सक्ने तनाव सम्भवतः अवश्यम्भावी छ र त्यसको व्यवस्थापन होसियारीपूर्वक गर्न आवश्यक हुन्छ । हाम्रो कुरा गर्ने हो भने बहिर्गमन भइसकेकाहरूका लागि उपलब्ध गराइएको सहयोग थुप्रै आधारमा सफल रहेको संयुक्त राष्ट्रसंघको अडान छ । यो समूहको सफल रूपान्तरणका लागि हामी काम गरी नै रहनेछौं ।

लेखक नेपालस्थित संयुक्त राष्ट्रसंघीय प्रमुख हुन् ।

ट्विटर : @UN_Nepal

प्रकाशित मिति: २०६८ माघ २९ १०:०३