न्यायको पहुँचमै वर्गविभेद
सहयोगी लिङ्कहरू
काठमाडौ, माघ १४ - गीता ढकालको उजुरीमाथि सामान्य ध्यान दिएको भए सायद उनी आफ्नै पति सशस्त्रका डीआईजी रञ्जन कोइरालाबाट मारिने थिइनन् । गीताले एक वर्षअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, सशस्त्र मुख्यालय, राष्ट्रिय महिला आयोग, जिल्ला प्रशासन कार्यालयलगायत भ्याएसम्मका सबै निकायमा कोइरालाबाट आफ्नो जिउज्यानको खतरा रहेको भन्दै उजुरी दिएकी थिइन् ।
२०६७ पुसमा तत्कालीन गृहमन्त्री भीम रावल, सशस्त्र प्रमुख सनत बस्नेतलगायतसँग त उनले आफैंले भेटेर न्यायको गुहार लगाएकी थिइन् । तर गीताको उजुरीभन्दा सशस्त्र प्रहरीको उच्चपदस्थ अधिकारी हुनुका नाताले सरोकारवालाले कोइरालाकै कुरा बढी पत्याए । परिणाम, एक वर्षदेखि जीवन सुरक्षाको गुहार माग्दै हिँडेकी गीता आफ्नै पतिबाट मारिइन् । छविका हिसाबले कोइराला सुरक्षा निकायमा कहिल्यै राम्रो मानिएनन् तर केही दिन यतामात्रै उच्च सुरक्षा अधिकारीहरू अनौपचारिक कुराकानी भन्दै उनका अराजकताका घटनाबारे बोल्न थालेका छन् । प्रहरीबाट सशस्त्र गएका हुन् कोइराला । सशस्त्र एक पूर्वप्रमुखप्रति उनी सकारात्मक थिएनन् । त्यसैले प्रहरीमा छँदाका निकटका हाकिमसँग उनी भन्ने गर्थे, 'म यो चिफलाई पेस्तोलका सबै गोली हान्दिन्छु सर ।'
'त्यसो भन्दै पेस्तोल निकाल्दा हामीलाई पनि डर लाग्थ्यो,' कोइरालाको भनाइका साक्षी ती अधिकारीले भने, 'एक दिन यो फस्छ भन्ने लागेको थियो तर यति नराम्ररी फस्ला भन्ने लागेको थिएन ।' सामान्य उत्तेजनामा आउनासाथ पेस्तोल झिकिहाल्ने कोइरालाको बानी थियो । एकपटक एक पूर्वमन्त्रीलाई खानपिनका लागि बोलाएछन् कोइरालाले । उनलाई पुर्याउन जाँदै गर्दा बाटोमा ट्राफिकले के रोकेका थिए, रञ्जनले पेस्तोल झिकेर कञ्चटमा ताक्दै भनेछन्, 'मलाई चेक गर्ने, म को हुँ चिन्याछस् ।'
सादा पोसाक र निजी गाडीमा हिँडेका कोइरालालाई ती ट्राफिकले त्यो पनि रातिको बेला चिन्ने कुरा थिएन । परिचय दिएको भए सायद उनले कोइरालालाई सलाम नै ठोक्थे । तर आफ्ना हाकिमको हठातको आक्रोश भोगेका उनले वरिष्ठबाट के सिक्ने ? स्रोतका अनुसार सीमित शक्तिकेन्द्रसँग सम्बन्ध बनाउने र रिझाउने कोइराला धेरैलाई गन्दैनथे ।
प्रहरीमै छँदा अच्युत खरेललाई हटाएर मोतीलाल बोहरालाई आईजीपी बनाएको सुन्नासाथ कोइरालाले वाकीटकी सेट नै फ्याँकेर कार्यालय छाडेको उनको प्रहरीवृत्तमा चर्चाको विषय बनेको छ । बस्नेत सशस्त्रको कार्यवाहक आईजीपी भएका बेला टेनिस कोर्टमा भेट हुँदा जुनियर कोइरालाले सलामसमेत नगर्ने सहकर्मीहरू बताउँछन् ।
प्रहरीमै छँदा हनुमानढोकामा कार्यरत रहेका बेला उनी दिनहुँ साँझ डान्स रेस्टुरेन्ट जाने र त्यसको मालिकलाई 'फलानो केटी मलाई पठाइदे' भन्ने सहकर्मीको भनाइ छ । एकदिन रेस्टुरेन्ट आएकी मालिककी साली नै मागेपछि झगडा भएको र त्यसैबेला थप सुरक्षाकर्मी मगाएर अन्धाधुन्द छापा मारेका थिए उनले । गीताको उजुरीमै पनि गत वर्ष पुस ७ गते सशस्त्रका सिपाहीलाई घर घेर्न लगाएर पेस्तोल ताकेका थिए, कोइरालाले । अर्का सिपाहीले नरोकेको भए सायद त्यसैदिन गोली हान्ने थिए ।
यी सबबारे जानकार हुँदाहुँदै पनि हाकिमबाट उचित दण्ड नपाउँदा मनोबल बढ्दै गयो । 'मेरो पालामा चाहिँ मैले ऊविरुद्ध थुप्रै पटक कारबाही गरेको थिएँ,' पूर्वमहानिरीक्षक बस्नेत भन्छन्, 'बेलाबेला फोन गरेर नसिहत पनि दिइरहेको थिएँ । श्रीमती -गीता) माथिको दुव्र्यवहारबारे पनि सुधार नगरे कारबाहीको चेतावनी दिएको थिएँ । सशस्त्रमा ऊजस्तै उद्दण्ड अरू पनि छन्, कमान्ड खुकुलो हुँदा गल्तीको मौका पाउँछन् ।'
पूर्वमहानिरीक्षक बस्नेतले भनेजस्तै कोइरालाजस्ता उद्दण्ड सशस्त्रमा मात्र होइन, अन्य सुरक्षा निकायमा पनि छन् । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग -राअवि) मा अहिले पनि सुरक्षाकर्मीबाट भएका बहुविवाह र घरेलु हिंसाका सयौं उजुरी छन् । तर सम्बन्धित सुरक्षा निकायले त्यसलाई आन्तरिक मामिलाका रूपमा लिँदै मानाचामल भर्ने सहमतिमा मिलापत्र गराइदिन्छ । र, सुरक्षा निकायमा काम गर्नुको रवाफका कारण त्यही निर्णय पनि पालना गर्दैन, उल्टै पीडित पक्षलाई धम्क्याइरहन्छ ।
सैनिक प्रवक्ता सहायक रथी रमीन्द्र छेत्री छिटपुट रूपमा आउने त्यस्ता घटनामा सम्बन्धित सबै पक्षलाई बोलाएर छलफल गरेर निष्कर्षमा पुग्ने गरिएको छ । 'प्रचलित कानुनको दायरामै रहेर उचित निर्णय लिइन्छ,' उनले भने । प्रहरी, सशस्त्र र राअविका पर्ने उजुरीको हकमा पनि यस्तै प्रक्रिया अपनाइन्छ । औपचारिक तथ्यांक नदिए पनि यी चार सुरक्षा निकायमा गरी यस्ता उजुरीको संख्या एक
हजारभन्दा बढी छ । एक उच्च सुरक्षा अधिकृतका अनुसार विवाहइतर सम्बन्ध राख्ने सुरक्षाकर्मीको संख्या ठूलो भएकाले पनि एकअर्काप्रति सहानुभूति राख्ने गरिएको हो । त्यसैले पीडित उजुरी गर्न जाने पहिलो ठाउँ सुरक्षा निकायबाट दिने न्यायको हकमा वर्गविभेद छ, सुरक्षाकर्मीको हकमा सहानुभूति र तदारुकता देखाइन्छ भने अन्यको हकमा उपेक्षा हुन्छ । गीता हत्या प्रकरण त्यसैको एक उपज हो ।
जनताको जिउधनको सुरक्षा गर्ने निकायभित्रका बहुविवाह, घरेलु हिंसाजस्ता विषयलाई आन्तरिक मामिलाका रूपमा लिइनु नै पारिवारिक अपराधको प्रवृत्ति मौलाउनुको प्रमुख कारण हो । तर यस्ता घटनालाई सम्बन्धित निकायले नै सम्बोधन गर्दा पूर्वाग्रहको खतरा बढी हुन्छ, देखिइरहेको छ । त्यसैले सुरक्षा निकायसँग सम्बन्धित यस्ता घटना सम्बोधन गर्ने बेग्लै र सशक्त निकाय आवश्यक छ, जसलाई सीधै प्रधानमन्त्री कार्यालयमातहत राखिनु उपयुक्त हुन्छ, भलै यसको छानबिन र समाधान गोप्य रूपमै गरियोस् ।
प्रकाशित मिति: २०६८ माघ १४ ०९:३३









तपाईंको प्रतिकृया