रञ्जनको नाटकीय शैली
सहयोगी लिङ्कहरू
काठमाडौ, माघ १४ - सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालाले पत्नी गीता ढकालले आफूविरुद्ध उजुरी दिएका ठाउँमा नाटकीय ढंगले बयान दिने गरेको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।
महिला आयोगकी सदस्य मोहना अन्सारीले रञ्जन 'बनावटी' कुरा गर्न निकै सिपालु भएको बताइन् । उनका अनुसार रञ्जन आफूलाई निकै सभ्य र भद्र रूपमा प्रस्तुत गर्न खोज्थे । जटिल विषयलाई सरल बनाउन खोजे पनि रञ्जनले ढाँटेको प्रस्टै थाहा हुने अन्सारीको भनाइ छ ।
'म्याम म प्रहरीको एउटा जिम्मेवार अफिसर, मैले यस्तो गर्छु भन्ने लाग्छ र तपाइर्ंलाई ? आखिर मैले के नै पाउनु छ र, एउटी महिलालाई पीडा दिएर । मेरो पनि भविष्यको सबाल छ, भन्दै बयान लिँदा बरबर आँसु झारेर रुन्थ्यो । अन्सारीले भनिन्, 'त्यसबेला हामीलाई पनि लाग्थ्यो, श्रीमतीलाई यति माया गर्ने मान्छे कसरी ऊविरुद्ध जान सक्छ । अधिकृत तहको मान्छे यस्तो नगर्ला भनेर पहिलो बयानमा त म अलि कन्भिस पनि भएँ । तर जब बयान लिंदै गएँ, अरू त कोही होइन म नै सर्वेसर्बा हुँ भनेर प्रस्तुत हुन थालेपछि अलि शंका लाग्न थाल्यो ।'
उजुरी परेपछि रञ्जन बयान दिन आयोगमा तीनपटक गएका थिए । गीता भने सामाजिक प्रतिष्ठाका कारण डराइडराई आउने गरेको आयोग पदाधिकारीको अनुभव छ । 'मलाई कतै उजुरी गर्ने मन त थिएन, तर के गर्ने गुन्डा लगाएर माछुर्ं भनेर जहाँ पायो त्यहीं थर्काउँछ । नत्र आफ्नै श्रीमान्विरुद्ध उजुरी दिने रहर थिएन,' गीताको भनाइ उद्धृत गर्दै अन्सारीले भनिन् ।
तेस्रोपटक बयान दिन जाँदा रञ्जनले गीतासँग मेलमिलापका लागि वातावरण बनाउन तीन महिना समय मागेका थिए । यसरी मेलमिलापका लागि समय
माग गरेपछि आयोगले दुवैको सहमतिमा लिखितपत्र तयार गरेको थियो । तीन महिनाभित्र मेलमिलाप गर्ने सहमति गत माघमा भएको थियो । त्यसै दिन रञ्जन र गीतालाई आयोगका पदाधिकारीले दुवै जनालाई सँगै राखेर बयान लिएका थिए ।
'बयानका क्रममा गीताले रञ्जनलाई तिमी भनेर सम्बोधन गर्दा उनी आक्रोशित भएका थिए,' सदस्य अन्सारीले भनिन्, 'रञ्जन जहिले पनि हजुर, गइस्योस्, खाइस्योस् भन्ने शब्दको गीताबाट आशा गर्थे, पछि गीताले 'ल हजुर' भनेपछि हामी सबै हाँसेका थियौं ।'
रञ्जनका पूर्वप्रेमिकाले पठाएका र उनले पठाउने गरेका प्रेमपत्र पनि आयोगमा छन् । मेलमिलापका लागि सहमति भएको दिन पहिले जतिवटा प्रेमिका भए पनि आइन्दा त्यस्तो नगर्नु भन्दा रञ्जनले सहमति जनाएका थिए । 'यसअघि हजुरका १६/१६ वटी भए पनि अब नहोस्, हजुरले यी सब छोड्नु पर्यो,' बयान लिने क्रममा गीताले रञ्जनलाई सम्बोधन गर्दै भनेको सदस्य अन्सारीले बताइन् ।
बयानपछि सेन्ट्रो कारमा एक्लै बाहिरिने रञ्जनले त्यो दिन भने गीतालाई पनि अगाडिको सिटमा राखेर बाहिरिएका थिए । दुवैबीच मेलमिलाप गर्ने सहमति भइसकेपछि आयोगका पदाधिकारी सँगै दुवैले चिया पिएका थिए । प्रधानमन्त्री कार्यालय अन्तर्गतको महिला हिंसा इकाइकी सल्लाहकार एवं सभासद सपना प्रधान मल्लले रञ्जन निकै छट्टु र बाठो भएको बताइन् । 'उनी (रञ्जन) कुनै फिल्मको भिलेनभन्दा कम छैनन्, जुनसुकै कुरालाई बडो नाटकीय ढंगले प्रस्तुत गर्न सक्ने कला छ, बयान दिने क्रममा आफू त प्रहरी अफिसर भएको र प्रमाणमा विश्वास गर्ने बताउँथे । कुनै बेला गीताबाहेक आफू बाँच्नै नसक्ने भन्दै रुन्थे भने कुनै बेला गीताले ठाउँ-ठाउँमा आफ्नो बेइज्जती गर्दै हिंडेको भन्दै आक्रोशित हुन्थे,' उनले भनिन् ।
प्रकाशित मिति: २०६८ माघ १४ ०९:३१









तपाईंको प्रतिकृया